कान कोट्याउनु हानिकारक


नाका कान घाटी रोग विशेषज्ञ

हाम्रो कान दुई वटा हुन्छ। हरेक कानको बाहिरी कान, मध्य कान र भित्रि कान हुन्छ। हरेकको आफ्नो–आफ्नो काम छ । बाहिरी कान र मध्य कानले सुनाइमा सहयोग गर्छ भने भित्री कानले शरीरको अगंलाई सुचारु गर्न सहयोग गर्छ । यसले चक्कर लाग्नबाट समेत रोक्छ।

कानमा आउने समस्या

सुनाइमा समस्या आउनसाथ कानको समस्या सुरू हुन्छ । यो समस्या बाहिरी, मध्य र भित्री कानमा पनि हुन्छ। कुनै पनि कानमा समस्या आयो भने सुनाइमा समस्या आउँछ।

कान दुःख्ने, चिलाउने, कानेगुजी आउनेजस्ता समस्या कानमा आएमा श्रवण शक्ति कमजोर हुन्छ। भित्री र मध्य कानमा समस्या आउनाले यस्तो हुन्छ।

बाहिरी कानमा आउने समस्या

बाहिरी कानमा सबैभन्दा बढी कानेगुजी आएर समस्या हुन्छ। विशेष गरेर बच्चाहरुमा यो समस्या बढी हुन्छ। उमेर बढ्दै गएपछि चपाउन थालेपछि यो समस्या कम हुँदै जान्छ। अर्को समस्या घाउ हुनु हो। कान कोट्याउने गरेमा यो समस्या आउँछ। बाहिरी कानमा ‘फङगस’ हुन्छ । ‘ह्यूमेनिटी’ धेरै भयो भने ‘फङ्गस’ हुन्छ । यो विशेष गरेर तराईमा हुन्छ। ‘ह्यूमेनीटी’ बढेको बेलामा कानमा फङ्गस हुन्छ।

मध्य कानमा आउने समस्या

मध्य कानमा बढी सङक्रमण हुन्छ। लामो र छोटो समयका लागि यस्तो समस्या देखिन्छ । छोटो समयसम्म हुने सङक्रमणमा एन्टिबायोटिक खाएपछि ठीक हुन्छ । यो समस्या बढी मात्रामा बच्चाहरुलाई हुन्छ।

लामो समयसम्म हुने सङक्रमण दुई किसिमका हुन्छन्।

एउटा कानको जालीमा समस्या आउँछ। कानको जालीमा प्वालसमेत पर्ने हुन्छ ।

अर्को हड्डी कुहिने रोगको रूपमा चिनिन्छ । यी दुवै समस्याको समाधान भनेको अपरेशन नै हो।

मध्यकानको समस्या तीन महिनाभन्दा लामो समयदेखि भइरहेको छ भने विशेषज्ञ डाक्टरलाई देखाउनुपर्छ। अपरेशन गर्ने/ नगर्ने सल्लाह चिकित्सकले परीक्षण दिन्छन्।

अपरेशन गरेर कानको जालीको प्वाल टाल्ने गरिन्छ। हड्डी कुहिएको छ भने यसलाई निकालेर फालिन्छ ।

भित्री कानमा आउने समस्या

भित्री कानको समस्या उमेर बढ्दै गएपछि देखिन्छ। विशेष गरेर ५५ वर्ष माथिको उमेर समूहलाई यस्तो समस्या देखिन्छ ।

यो उमेर समूहका मान्छेलाई विस्तारै श्रवण शक्ति कमजोर हुँदै जान्छ। छाला चाउरी पर्ने र कपाल फुल्ने समस्या जस्तै कान नसुन्ने समस्या पनि हो। श्रवण गर्ने नशाको शक्ति कम हुँदै जान्छ अनि श्रवण शक्ती कम हुँदै जान्छ। यो अधिकांशलाई हुने समस्या हो। यो समस्या बढी भयो भने कानमा मेसिन नै लगाउनु पर्छ। अहिले नयाँ प्रविधि पनि आएको छ।

भित्रि कानमा समस्या आयो भने चक्कर पनि लाग्न सक्छ। यो जुनसुकै उमेर समूहका मानिसलाई पनि हुनसक्छ।

कानको उपचार कसरी गर्ने ?

सबैभन्दा पहिला समस्या कहाँ छ पत्ता लगाउनुपर्छ । कानमा घाउ भएर हो भने त्यसलाई सफा गरेपछि ठीक हुन्छ । तर भित्रि र मध्य कानमा छ भने त्यही अनुसारको उपचार गर्नुपर्छ। सङक्रमणको कारणले कानमा पिप आउने हुन्छ तर यो कानको कुन भागमा हो त्यसको जानकारी हुनु पर्छ।

कान नसुन्ने समस्या कानको प्रकृति अनुसार फरक फरक हुन्छ। भित्री कानको कारणले हो या मध्य कानको कारणले हो त्यो पत्ता लगाउनपर्छ। भित्री कान र मध्यकानको समस्याले कान नसुन्ने समस्या हुन्छ। तर दुई वटा कानमा नै यो समस्या आयो भने बोलीको विकासमासमेत समस्या आउँछ।

के नगर्ने ?

  • कानमा तेल वा अन्य तरल पदार्थ नहाल्ने
  • नुहाउँदा, पौडी खेल्दा कानभित्र पानी पस्न नदिने
  • कान जथाभावी सफा नगराउने
  • कपालमा चाया पर्ने नदिने, नत्र चाया कानभित्र पुगेर समस्या उत्पन्न हुन सक्छ

दुवै कानको श्रवण शक्ति भएन भने बालबालिकाको बोलि नै आउँदैन। यो यथार्थमा बोल्न नजानेर भन्दा पनि कान नसुनेर बोलिको विकास नभएको हो। यस्ता बच्चालाई रोगको कारण पत्ता लगाएर प्रविधिको प्रयोग गरी बच्चालाई बोल्न सक्ने बनाउन सकिन्छ।

मध्य कानमा समस्या आएमा कान दुख्छ। यस्तो दुखाई रूघा खोकी लागेको बेलामा हुन्छ। रूघा खोकी लाग्दा नाकलाई बेस्सरी तान्ने गरिन्छ। नाक कान जोड्ने नलीबाट सङक्रमण हुन्छ। अनि कान दुख्छ। त्यसैले रुघा खोकी लाग्दा नाक तान्नु हुँदैन।

कतिपय अवस्थामा कानमा घाउ आएको हुन्छ। कान दुख्ने समस्या बाहिरी कानमा आएको सङक्रमणले हुन्छ। कान कोट्याएर नै मुख्य समस्या हुन्छ। त्यसैले कान कोट्याउन हुँदैन। विभिन्न खालका सामानले कान कोट्टाउने गरिन्छ यसले झन धेरै समस्या निम्त्याउँछ। कान नकोट्याए दुखाई हुँदैन। त्यसैले कानमा समस्या आएपछि चिकित्सकलाई देखाउनुपर्छ।

कान चिलाउने पनि बाहिरी कानमा समस्या आएको बेलामा हुन्छ। कानेगुजीले गर्दा बाहिरी कान चिलाउँछ। कानेगुजी आफैंले फाल्ने कोशिश गर्नु हुँदैन। यसको लागि चिकित्सकको सल्लाह लिनुपर्छ। छाला सुख्खा भएर कान चिलाएको हुन्छ यसको भ्यास्लीन क्रिम र कोल्ड क्रिम लगायो भने ठीक हुन्छ।

कानेगुजी आफैं निस्किन्छ। जति धेरै चपाउने काम हुन्छ त्यती मात्रामा बाहिर निस्किन्छ। यसलाई कोट्याएर निकाल्नु पर्दैन। यो नराम्रो बानी हो। कानको फोहोर आफैं निकाल्न जरूरी छैन, फोहोर धेरै भयो भने यसलाई चिकित्सकको सहयोगमा निकाल्नु पर्छ।

दाँत माझ्ने, मुख धुने जसरी कानको फोहोर झिक्न जरूरी छैन। एयर बर्डले कोट्टाउँदा कानको जालीमा नै प्वाल पर्न सक्छ।

तोरीको तेल हाल्नु राम्रो हो। यसले कानेगुजीलाई गिलो पार्छ अनि बाहिर निस्किन्छ। एकदमै शुद्ध तोरीको तेल छ भने यो राम्रो हो तर शुद्ध तेल पाउन कठीन छ। त्यसैले प्रयोग नगरेकै राम्रो हो। विभिन्न औषधि कम्पनीले तेल बनाएका हुन्छन् त्यो राखेको राम्रो हो।

कानको जाली पछाडि प्वाल छ भने तेलले असर गर्छ । तर कानमा प्वाल छकि छैन भन्ने कुरा कानको परीक्षणपछि मात्रै थाहा हुन्छ। प्वाल रहेछ भने तोरीको तेल मध्यकानमा जान्छ यसले झनै बढी सङक्रमण निम्त्याउन सक्छ। प्वाल छैन भन्ने ग्यारेन्टी भए मात्रै शुद्ध तेल राखेको राम्रो हो ।

लक्षण

  • कान चिलाउनु र दुख्नु
  • कानभित्र रातो हुनु
  • कानबाट पहिले तरल पदार्थ र पछि पिपजस्तै निस्किनु
  • कान बन्द भएको जस्तो लाग्नु
  • कानभित्र सुन्निनु

कानको सुरक्षा कसरी गर्ने

धेरै हल्लाबाट जोगिनुपर्छ। धेरै हल्लामा परेपछि एक दिन न एक दिन कानमा समस्या आउँछ। विमानस्थलको नजिकै घर भएकाहरुलाई पनि यस्तो समस्या आउन सक्छ। फ्याक्ट्रीमा काम गर्नेलाई यस्तो समस्या आउन सक्छ।

यस्ता मानिसले एयर व्लक लगाएर कानको सुरक्षा गर्न सक्छन्। अर्को कान नकोट्याउने नै हो। बाहिरबाट नै समस्या देखिएको छ भने घरेलु उपचारले ठीक होला तर भित्री नलीमा समस्या आएको छ भने ठीक हुँदैन।

रोग लाग्नबाट बच्ने उपायहरू

  • नुहाउँदा सधैँ कानमा पानी पस्नबाट बचाउनुपर्छ ।
  • कानमा कपास हालेर नुहाउन सकिन्छ ।
  • पौडी खेल्दा कानमा पानी पस्नबाट जोगिनुपर्छ ।
  • कान पाक्ने रोग भएको मान्छेले पौडी खेल्नु हुँदैन ।
  • सिन्काले कान कोट्याउने गर्नु हुँदैन ।
  • कानमा तेल हाल्नु हुँदैन ।
  • रुघा लाग्नुबाट जोगिनुपर्छ ।
  • रुघा लाग्यो भने कानभित्र पानी जम्ने र संक्रमण हुने खतरा हुन्छ । त्यसैले रुघा लाग्यो भने नाक, कान, घाँटीको डाक्टरलाई देखाएर उपचार गरिहाल्नुपर्छ ।
  • कानको रोग जन्मजात पनि हुन सक्छ । त्यसैले गर्भवती अवस्थामा महिलाको स्वास्थ्य जाँच गराउनुपर्छ । महिलाले मद्यपान, धुम्रपान गर्नु हुँदैन । गर्भवती अवस्थामा बच्चाको कानलाई असर पु¥याउने औषधि खानु हुँदैन ।
  • बच्चाको कानको सुनाइ क्षमताको जाँच गराउनुपर्छ ।
  • ठूलो बच्चालाई प्युर टोन अडिटोरी गराउनुपर्छ ।
  • सानैमा कानको सुन्ने नसा सुकेको कारणबाट कान नसुनेमा श्रवण यन्त्र लगाउन सकिन्छ ।
  • जन्मजात नै कान नसुन्ने बच्चालाई अप्रेसन गरी सुन्न सक्ने पनि गराउन सकिन्छ । तर, यो उपचार महँगो हुन्छ ।

प्रश्तुती सन्जिब बगाले

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.