पूर्वाञ्चलमा जारी सातौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटको सेमिफाइनल समिकरण पुरा भएको छ। विराटनगरस्थित वैजनाथपुर रंगशालामा भएको पहिलो खेलमा एपिएफले बलियो प्रतिद्वन्द्धी आर्मीलाई २८ रनले हराएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। उसका लागि प्रदीप ऐरीले सर्वाधिक ४७ रन बनाए। यस्तै करण केसी ४६, आरिफ शेख ३९ तथा कप्तान पारस खड्काले नटआउट २० रन बनाए। आर्मीका लागि सागर पुन, सोमपाल कामी र चन्द्र साउदले १-१ विकेट लिए। एपिएफका ऐरी रन आउट भए।
१६६ रनको लक्ष्यसहित मैदानमा आएको आर्मी १७.५ ओभरमा अलआउट हुँदै १३७ रनमा समेटियो। उसका लागि सागर पुन र नरेश बुढाऐरले समान ४६ रन बनाए। बिनोद भण्डारीले १६ रन थपे पनि त्यो जितको लागि पर्याप्त रहेन। आर्मीलाई रोक्न एपिएफका यज्ञमान कुमालले २ तथा करण केसी, भुवन कार्की र पारस खड्काले १-१ विकेट लिए।
यस्तै आजै भएको पहिलो खेलमा मध्यमाञ्चलले नेपाल पुलिसलाई ९ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको मध्यामञ्चलले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै १२० रन बनाएको थियो। उसका लागि प्रकाश विष्टले २५ तथा हरिशंकर साहले २२ रन बनाएका थिए। पुलिसका ललित भण्डारीले ३ तथा कुशल भुर्तेल र मञ्जित श्रेष्ठले २-२ विकेट लिए।
१२१ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको पुलिस १९.४ ओभरमा अल आउट हुँदै ११० रनमा समेटियो। पुलिसका लागि सुनिल धमलाले सर्वाधिक ४४ रन बनाए। मध्यमाञ्चलका हरिशंकरले २ विकेट लिए।
आजको खेलसँगै पुरुष क्रिकेटमा समूह चरणका खेलहरू पुरा भएका छन्। समूह ए बाट एपिएफ र आर्मी तथा बी बाट पुलिस र मध्यमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन्।
अब सेमिफाइनलमा भोलि एपिएफले मध्यमाञ्चल र आर्मीले पुलिसको सामना गर्नेछ।