भारतीय रेफ्री तुलसीराम र तेजवर सिंहलाई हयाण्डबल कोर्टमै हातपात गर्ने पश्चिमाञ्चलका तीन खेलाडीसहित प्रशिक्षकलाई निलम्बन गरिएको छ।
नेपाल ह्याण्डबल संघको अनुशासन समितिका संयोजक भीम केसीको टोलीले प्रशिक्षक जीवन बस्नेतलाई दुई वर्ष र खेलाडी त्रय विमल अधिकारी, प्रविन भुजेल र सुरज देवकोटालाई १–१ वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ।
‘यो दुःखद घटना हो। घटनामा संलग्न सबैलाई दण्ड सुनाएका छौं,’ ह्याण्डबल संघका बरिष्ठ उपाध्यक्ष रामकृष्ण केसीले सेतोपाटीसँग भने।
सुनसरीको टंकी सिनुवारीमा बुधबार नेपाल आर्मीबिरुद्ध भएको खेलमा रेफ्रीले गलत निर्णय गरेको भन्दै पश्चिमाञ्चलका खेलाडी विमल अधिकारी, प्रविन भुजेल र सुरज देवकोटाले कोर्ट भित्र छिरेर रेफ्रीमाथि हातपात गरेका थिए। खेलाडीहरुलाई प्रशिक्षक जीवन बस्नेतले कुटपिटका लागि उकासेको आरोप लागेको थियो।
संघले निश्पक्ष निर्णयका लागि भारतको चण्डीगढबाट रेफ्रीलाई बोलाएको थियो। यो घटनापछि दुवै भारतीय रेफ्री स्तब्ध बनेका थिए। ‘हामीले उहाँहरुलाई आश्वस्त तुल्याउन के चाहनुहुन्छ भनेर अनुरोध गर्यौं। त्यसपछि उहाँहरुले प्रशिक्षकको उक्साहटमा खेलाडीले यस्तो दूरव्यवहार गरेको र उनीहरुलाई यति वर्षको कार्यवाही हुनुपर्छ भनेपछि हामीले निर्णय गरेका हौं,’उपाध्यक्ष रामकृष्णले भने।