सीता रानामगर विगत लामो समयदेखि नेपाली महिला क्रिकेट टोलीबाट खेलिरहेकी छिन्। उनलाई आफ्नो आदर्श मान्ने थुप्रै महिला खेलाडी छन्, नेपालमा। तर, नेपालकी यी प्रारम्भिक ब्याट्सवुमनले आफ्नो इज्जतमा आफैं धक्का लाग्ने काम गरेकी छिन्।
मंगलबार पूर्वाञ्चलविरुद्ध फाइनल खेलमा जीत नजिकै पुगेर खेल बहिस्कार गरेको एपिएफबाट खेलिरहेकी सीताले विपक्षी खेलाडीमाथी मैदानमै माझी औला देखाइन्। उनको नौलो रुप देखेर मैदानमा उपस्थित सबै दर्शक छक्क परे।
उनको व्यवहारले उनी मात्र होइन, उनी आबद्ध सशस्त्र प्रहरीको एपिएफ क्लब पनि आलोचनामा घेरिएको छ। उनीसँगै मैदानमा अभद्र रुपमा प्रस्तुत हुनेमा कप्तान बीनु बुढामगर, सरिता रानामगर र सोनु खड्का पनि थिइन्। अझ, रितु कनौजियाले विपक्षी खेलाडीलाई अपमानित गर्दै पैसाको धम्की दिएकी थिइन्। उनले खेल मैदानमा उपस्थित मिडियाकर्मीहरुको सामु पूर्वाञ्चलको खेलाडीलाई अपमानित गर्न पैसाको रवाफ देखाइन्।
एपिएफका खेलाडीहरूको रिस त्यतिमै सीमित रहेन । उनीहरूले पूर्वाञ्चलका खेलाडीलाई पैसाको लोभी भन्ने आरोपसमेत लगाए । ‘तिमीहरूसँग पैसा छैन भने हामी हाम्रो तलबबाटै दिन्छौँ, भन कति चाहिन्छ ?’ राष्ट्रिय टोलीकी सिनियर खेलाडी रानामगरले माझी औँला देखाउँदै भनिन् । उनले मैदानमा सबैलाई होच्चाउदै भनेको कुरा भिडियो फुटेजमा बन्द भएको छ।
पूर्वाञ्चलका खेलाडीले एपिएफका खेलाडीहरूको व्यवहारप्रति कुनै प्रतिक्रिया भने दिएनन् ।
एपिएफका यी खेलाडीहरुको अनुशासनहीन व्यवहार देखेपछि पदक बाड्न आएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्ट बीचैबाट निस्किएका थिए।
राष्ट्रिय खेलकुद परिषद्को अनुगमन कमिटीले यो घटनाको निष्पक्ष छानबिन गर्ने बताएको छ। पत्रपत्रिकामा आएको तस्बिर र भिडियो फुटेजको अनुसन्धानपछि के कति कारबाही गर्ने हो तय गर्ने छौ,’ परिषद्को अनुगमन टोलीका एक सदस्यले सेतोपाटीसँग भने।
एपिएफले खेल बहिस्कार गरेपनि पछि दोस्रो भएको पदक लिन गएको थियो।
कसरी भयो विवाद
यसरी भयो विवाद पूर्वाञ्चलले एपिएफलाई ६५ रनको लक्ष्य दिएको थियो। एपिएफलाई अन्तिम १२ बलमा १३ रन चाहिएको थियो । एपिएफसँग दुई विकेट बाँकी थियो । लक्ष्य पछ्याएको इनिङको १८औँ ओभरमा पूर्वाञ्चलकी कप्तान कविता गौतमले बलिङ गरेकी थिइन् । १८.४ बलमा एपिएफकी रितु कनौजियाले आकर्षक सट प्रहार गरिन् । बाउन्ड्री लाइनमा पूर्वाञ्चलकी फिल्डर अप्सरा वेगमले रितुद्वारा प्रहार बल समात्न सकिनन् । बल बाउन्ड्री घेरिएको डोरीनजिक खस्यो । त्यसपछि वेगम बललाई खुट्टाले रोक्दै बाउन्ड्री बाहिर गइन् र डोरी नाघ्दै बल टिप्दै क्रिजतर्फ फ्याँकिन्।
अम्पायर अधिद प्रधानले वेगमलाई बलले बाउन्ड्री लाइनको डोरीमा छोएको वा नछोएको भनी सोधे । वेगमले बल बाउन्ड्री लाइनभन्दा बाहिर नगएको बताइन् । अम्पायर प्रधानले वेगमकै कुरा सही माने।
यतिवेलासम्म एपिएफका खेलाडी शान्त नै थिए। एपिएफले थप दुई बल खेल्यो । गौतमले दुवै बल वाइडका रूपमा फ्याँकिन् । पूर्वाञ्चलकी खेलाडी गौतमले १८औँ ओभरको अन्तिम दुई बल वाइड फ्याँकेपछि एपिएफका खेलाडी विवादमा उत्रिए।
अम्पायर र विपक्षी खेलाडीबीच मिलेमतो भएको दाबी गर्दै एपिएफका खेलाडीले मैदान छाडे। आयोजक र प्राविधिक पक्षले एपिएफका खेलाडीलाई सम्झाउने धेरै कोसिस गरेका थिए । आधा घन्टासम्म पनि एपिएफका खेलाडी मैदानमा आएनन्।
फाइनल खेलका म्याच कमिस्नर सत्यजित सरकारले अन्तिम चेतावनी दिँदै एपिएफलाई पाँच मिनेटभित्र मैदानमा फर्कन र खेल्न आग्रह गरे । तर, एपिएफका ब्याट्सम्यान क्रिजमा फर्केनन् । म्याच कमिस्नर सरकारले पूर्वाञ्चललाई चार रनले विजयी घोषणा गरे ।