नेपाली सेनाका दिनेश श्रेष्ठ र नेपाल प्रहरीकी तारादेवी पुनले मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राजविराजमा आयोजित भारोत्तोलन प्रतियोगिताको ९४ केजी तौल समूहमा श्रेष्ठले स्न्याचतर्फ एक सय १८ र क्लीन एण्ड जर्कतर्फ एक सय ५० गरी कुल दुई सय ६८ केजी भार उचालेर नयाँ कीर्तिमान कायम गर्दै स्वर्ण पदक प्राप्त गरे । यसअघि गत साफ गेममा उनले नै स्न्याचतर्फ एक सय १७ र क्लिन एण्ड जर्कतर्फ एक सय ४७ केजी भार उचालेर राष्ट्रिय कीर्तिमान बनाएका थिए।
उक्त स्पर्धामा नेपाल प्रहरीका श्रीकृष्ण महर्जनले कुल दुई सय १५ केजी भार उचालेर रजत पदक तथा मध्यमाञ्चलका उज्ज्वल कुमार झाले कुल एक सय ७५ केजी भार उचालेर कास्य पदक प्राप्त गरे ।
यसैगरी ७५ केजी भन्दा बढी तौल समूहमा तारादेवी पुनले आफ्नै राष्ट्रिय किर्तिमान तोड्दै कुल एक सय ६८ केजी भार उचालेर प्रथम स्थान सुरक्षित गरिन् । साफ गेममा कास्य पदक जितेर राष्ट्रिय किर्तिमान राखेकी पुनले स्न्याचतर्फ ७२ केजी र क्लिन एण्ड जर्कतर्फ ९६ केजी भार उचालेकी थिइन् ।
सो स्पर्धामा पूर्वाञ्चलकी मनीता चौधरीले एक सय सात केजी भार उचालेर दोस्रो तथा सुदुर पश्चिमाञ्चलकी ज्योति चोधरीले कुल ९५ केजी भार उचालेर तेस्रो भइन् ।
प्रतियोगिताको ६९ केजी तौल समूहमा नेपाल प्रहरीकी राज्यलक्ष्मी थापा प्रथम, नेपाली सेनाकी उषा खडका द्वितिय र प्रहरीकै जानकी बुढा तृतिय भइन् ।
यस्तै ७५ केजी तौल समूहमा पूर्वाञ्चलकी शान्ति चौधरी प्रथम, नेपाली सेनाकी मनकुमारी कुमाल द्वितिय र प्रहरीकी लक्ष्मी बन तृतिय भइन् ।
बुधबारसम्म चल्ने भारोत्तोलन प्रतियोगितामा हालसम्म सबैभन्दा बढी नेपाली सेनाले पाँच स्वर्ण, नेपाल प्रहरीले चार स्वर्ण, पूर्वाञ्चलले दुई स्वर्ण र मध्य पश्चिमाञ्चलले एक स्वर्ण हात पारेका छन् । पाँचै विकास क्षेत्रका र तीन वटा विभागीय टोलीका गरी एक सय २३ जना खेलाडी प्रतिस्पर्धा गरिरहेको प्रतियोगितामा बुधबार पुरुषतर्फको एक सय पाँच र सो भन्दा बढी तौल समूहको प्रतियोगिता हुने नेपाल भारोत्तोलन संघका सचिव तिलक राउतले जानकारी दिए ।