धरान १३ को अमरहाटस्थित कवर्ड हलमा भइरहेको उसु खेल प्रतियोगिताअन्तर्गत महिला छाङछ्वानको प्रतिस्पर्धामा सशस्त्र प्रहरीकी सुस्मिता तामाङले प्रथम हुँदै स्वर्ण पदक प्राप्त गरेकी छिन् ।
सो प्रतिस्पर्धामा मध्यमाञ्चलकी जुनि स्याङ्बो लामाले रजत र सुदूरपश्चिमाञ्चलकी अलिशा खातीले कास्य पदक प्राप्त गरेकी छिन् ।
यसैगरी पुरुषतर्फको छाङछ्वानतर्फको प्रतिस्पर्धामा नेपाली सेनाका विजय थापा सिँजालीले स्वर्ण पदक प्राप्त गरे भने मध्यमाञ्चलका कुमार सिँजाली मगरले रजत तथा सशस्त्र प्रहरीको एपिएफका कृजो आलेमगरले कास्य पदक प्राप्त गरेका छन् ।
त्यसैगरी पुरुष थायची छ्वान अलराउन्डमा नेपाली सेनाका हरिप्रसाद गोले स्वर्ण, पूर्वाञ्चलका पासङ शेर्पा रजत र सशस्त्र प्रहरीका बिवेक श्रेष्ठ कास्य पदक प्राप्त गरेका छन् । त्यस्तै महिला थायची छ्वान अलराउन्डको खेलमा नेपाली सेनाकी सविता राई स्वर्ण, नेपाली सेनाकै करुणा महर्जन रजत र सुदूरपश्चिमाञ्चलकी सम्झा चौधरी कास्य पदक हात पारेकी छिन् ।
उसु खेलकै पुरुषतर्फको तावसु कुन्सु अलराउन्डतर्फ भएको प्रतिस्पर्धामा मध्यमाञ्चलका राजु लामा स्वर्ण, नेपाल प्रहरीका राजिव तामाङ रजत र नेपाली सेनाका विश्व बुढामगर कास्य पदक प्राप्त गरेका छन् । यस खेलअन्तर्गत ४८ केजीदेखि ८५ केजी तौल समूहका १५ वटा खेलका अन्तिम चरणका खेलहरु हुन बाँकी रहेको मुख्य रेफ्री रमेशकुमार तुलाधारले बताए।
यस्तै महिलातर्फको चिएनचु छिएनचु तर्फको प्रतिस्पर्धामा नेपाली सेनाकी ओसिन राई स्वर्ण, एपिएफकी कविता थापामगर रजत र नेपाली सेनाकै मीना गेलान कास्य पदक हात पारेकी छिन् ।
पुरुषहरुको नानछ्वान अलराउन्डरमा मध्यपश्चिमाञ्चलका दीपक हमाल स्वर्ण, एपिएफका युवराज थापामगर रजत र एपिएफकै सोनी श्रेष्ठ कास्य पदक प्राप्त गरेका छन् । महिलातर्फको सो खेलमा नेपाली सेनाकी मीना घलेमगर स्वर्ण, मध्यमाञ्चलकी रसु तामाङ रजत र पूर्वाञ्चलकी अनु राई कास्य पदक प्राप्त गरेका छन् ।