पूर्व ओलम्पियन धाविका कान्छीमाया कोजूले १७ वर्षपछि बृहत राष्ट्रिय खेलकुदमा पुनः स्वर्ण जितेकी छिन्। ३३ वर्षीय सशस्त्र प्रहरीकी मध्यगतिकी यी धाविकाले आइतबार इटहरीस्थित एथलेटिक्स एरिनामा ५ हजार मिटर दौड १८ मिनेट १३ दशमलव ४ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन्।
कान्छीले २०५६ सालमा नेपालगञ्जमा आयोजना भएको चौथो बृहत राष्ट्रिय खेलकुदपछि ५ हजार मिटर दौडमा पनि स्वर्ण जितेकी थिइन्। त्यसयता उनी देशको सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामा अनुपस्थित रहँदै आइरहेकी थिइन्।
‘म आफ्नो प्रदर्शनबाट खुसी छु। यहाँ खेल्न आउनु पूर्व मसल्स हल्का फाँटेको थियो। तर, विस्तारै ठीक हुँदै आइरहेको छ,’ कान्छीमायाले जीतपछि सेतोपाटीसँग भनिन्।
नेपालगञ्जपछि पाँचौ बृहत २०६५ सालमा काठमाडौंमा आयोजना भएको थियो। जसमा कान्छीमाया अनुपस्थित थिइन्। यस्तै, २०६८ मा धनगढीमा आयोजना भएको छैटौंमा उनले चोटका कारण अन्तिम अवस्थामा नाम फिर्ता लिएकी थिइन्।
कान्छीमाया दश हजार मिटरका लागि मंगलबार उत्रिदै छिन्।