कप्तान पारस खड्काको नटआउट १०५ रनको मद्दतले पूर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा एपिएफले सुदूर पञ्चिमाञ्चललाई १४४ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
विराटनगरस्थित वैजनाथपूर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर २०० रन बनाएको थियो। उसका लागि कप्तान पारस खड्काले विस्फोटक व्याटिङ गर्दै सतकीय पारी खेले। मात्र ४३ बल खेलेका पारसले ९ चौका र ८ छक्का हिर्काएका थिए। यस्तै ओपनर सुवास खकुरेलले पनि नटआउट ६४ रनको योगदान दिए।
आशिफ शेख २, सन्दिप सुनार ४, ज्ञानेन्द्र मल्ल ८ तथा प्रदीप ऐरी ४ रनमा आउट भएका थिए। सुदूरपश्चिमका दिनेश आग्रीले ३ विकेट लिएका थिए।
२०१ रनको बिशाल लक्ष्य लिएर अधिकांश राष्ट्रिय खेलाडीले भरिएको एपिएफमाथि उत्रिएको सुदूरको टोली पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ५६ रनमा समेटियो। उसका लागि दीपक मल्लले २१ र सञ्जु धामीले १५ रन बनाउनु बाहेक अरूले खेल्न सकेनन्। सुदूरलाई सस्तैमा समेट्ने क्रममा बसन्त रेग्मीले तीन तथा करण केसी, भुवन कार्की र प्रदीप ऐरीले १-१ विकेट लिए।
यस्तै आजै भएको दोस्रो खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ८ रनले हराएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। उसका लागि दीपेश खत्रीले ५३ र शंकर रानाले ४८ रन बनाएका थिए। मध्यमाञ्चलका लागि रासिद खानले ५ विकेट लिएका थिए।
१२८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मध्यमाञ्चलले २० ओभरमा १२१ रन मात्र बनाउन सक्यो। उसका लागि जितेन्द्र ठकुरीले नटआउट ४४ रन बनाए पनि त्यो जीतका लागि पर्याप्त भएन। पश्चिमाञ्चलका लाल अधिकारी र दीपेश खत्रीले २-२ विकेट लिएका थिए।
आजको नतिजासँगै समूह एबाट एपिएफ ४ अंकसहित शीर्ष स्थानमा छ भने। दोस्रोमा त्रिभुवन आर्मी क्लब छ। यस्तै समूह बीबाट नेपाल पुलिस २ अंकसहित शीर्ष स्थानमा छ। समान अंक भए पनि मध्यामाञ्चल, मध्यपश्चिमाञ्चल दोस्रो र तेस्रो स्थानमा छ। पूर्वाञ्चल पुछारमा छ।