सातौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको शनिवार सम्पन्न खेलमा नेपाल आर्मीको त्रिभुवन क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन्।
पहिलो खेलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई ८७ रनले पराजित गर्यो।
टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय ९ रन बनाएको थियो। जसमा नरेश बुढाएरले ४३ बलमा ५ छक्का र ५ चौका प्रहार गरी अविजित ८१ रन, सागर पुनले ४४, विनोद भन्डारीले ३४ र राजु रिजालले २२ रनको योगदान गरे। सुदूरपश्चिमाञ्चलका सागर भन्डारी, विनोद लामा र सन्तोष भट्टले १–१ विकेट लिए।
जवाफमा २ सय १० रनको विजय लक्ष्य पछ्याएको सुदूरपश्चिमाञ्चलले निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय २२ रनमात्र जोड्न सक्यो। जसमा रोशन नेपालले ५३ बलमा १ छक्का र ५ चौकाको सहयोगले ५० रन र दीपक मण्डलले २२ रन बनाएका थिए। आर्मीका सागर पुन, राहुल विक र राजेश पुलामीले १–१ विकेट लिए।
दोस्रो खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चललाई १७ रनले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ४५ रन बनायो। जसमा कप्तान मन्जित श्रेष्ठले ३२ बलमा ३ छक्का र २ चौका प्रहार गरी अविजित ४९ र दिपेन्द्र ऐरीले अविजित २८ रनको योगदान गरेका थिए। पश्चिमाञ्चलका साह आलमले २ विकेट लिए।
जवाफमा १ सय ४७ रनको विजय लक्ष्य पछ्याएको पश्चिमाञ्चलले निर्धारित ओभरमा ८ विकेट गुमाई १ सय २९ रनमात्र जोड्न सफल भयो। जसमा सुशान्त भारीले अविजित ३२ रन र लालबहादुर अधिकारीले २७ रन बनाएका थिए। पुलिसका ललितसिंह भण्डारीले ३ विकेट र दीपेन्द्र ऐरीले २ विकेट लिए।