राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरमा शुक्रबार सातौं बृहत राष्ट्रिय खेलकुदको उद्घाटन गरेको कार्यक्रम गृहमन्त्री बिमलेन्द्र निधिले बहिष्कार गरेका छन्।
सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको निर्णय कार्यान्वयन गराउन गृहमन्त्रालयलाई गत साता आदेश दिएको थियो। सर्वोच्चको आदेश कार्यान्वयन गराउन गृहले खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई बारम्बार ताकेता गरे पनि निर्णय कार्यान्वयन नभएपछि गृहमन्त्री निधिले कार्यक्रम बहिस्कार गरेका हुन्।
राष्ट्रपतिले उद्घाटन गर्ने भनिएको कार्यक्रममा गृहमन्त्री सहभागी हुने पूर्वसूचना राष्ट्रिय खेलकुद परिषद्ले अगाडि नै सार्वजनिक गरेको थियो। तर, कार्यक्रममा गृहमन्त्री अनुपस्थित रहे।
गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले गृहमन्त्रीले राष्ट्रपति सहभागी कार्यक्रम बहिस्कार नगरेको जानकारी सेतोपाटीलाई दिए। उनले काठमाडौंमा गृहमन्त्रीको आकस्मिक काम परेको हुँदा आउन नसकेको बताए।
उनले भने,‘गृहमन्त्रीले पहिले नै खेलकुदमन्त्रीलाई अवगत गराइसक्नु भएको थियो। गृहमन्त्रीले उद्घाटन नभए समापनमा आउने जानकारी दिनु भएको थियो। आज कार्यक्रम परेको हुनाले जान नसक्नु भएको हो। समापनमा जाने कुरा छ।
सातौं बृहत खेलकुदको उद्घाटन सत्रमा खेलकुदमन्त्री दलजीत श्रीपालीले आफ्नो मन्तब्य राखेपछि गृहमन्त्रीको बोल्ने पालो थियो।