पूर्वाञ्चलमा शुक्रबारदेखि सुरू भएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ को राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रूपमा उद्घाटन गरेकी छन्। विराटनगरस्थित सहिद रंगशालामा भएको विशेष कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले पहिलो पटक पूर्वाञ्चलमा हुन लागेको यो खेलकुदलाई सफलताको शुभकामना दिइन्।
पर्याप्त पूर्वाधारको अभावमा पनि प्रतियोगिताको आयोजना हुनु एउटा चुनौतीपूर्ण कार्यक्रम भएको भन्दै उनले कोशीटप्पुमा पाइने अर्नालाई यो खेलकुदको मस्कट छानिनुले पूर्वाञ्चलमा यसको महत्व थप बढाएको बताइन्।
खेलकुदलाई नियमित र निरन्तरताका लागि उनले सरकारलाई सचेत समेत गराइन्।
यस्तै उनले साग, एसियाली खेलकुद र ओलम्किका लागि नेपाली खेलाडीलाई शुभकामना पनि दिइन्।
खेलकुदलाई राष्ट्रको विकासमा लाग्न विद्यालय स्तरदेखि नै महत्व दिनुपर्ने भन्दै उनले यसका लागि प्रभावकारी लगानीको खाँचो रहेको औल्याइन्।
फुटबल र क्रिकेटका खेलाडीको प्रदर्शनले हामीलाई गौरव तुल्याएको भन्दै उनले अन्य खेलको विकासका लागि पनि लाग्नसरकारलाई उनले आग्रह गरिन्।
खेलकुद मन्त्री दलजीत श्रीपालीले खेल र खेलाडीको विकास गर्नका लागि आजीवन भत्ताजस्ता कुराहरु सरकारले ल्याउन लागेको कार्यक्रममा जानकारी दिए। औपचारिक रुपमा सातौं राष्ट्रिय खेलकुदको आज उद्घाटन भए पनि फागुन २ गतेदेखि नै खेलहरु सुरु भइसकेका छन्।
सातौं राष्ट्रिय खेलकुदमा यस पटक ३० विधामा विभिन्न खेल हुदैँछन । विराटनगर, इटहरी र धरानमा हुने विभिन्न प्रतियोगिता फागुन १५ गते सकिदैँछ।