पूर्वाञ्चलमा शुक्रबारदेखि सुरु हुने सातौं बृहत राष्ट्रिय खेलकुदको दीप प्रज्वलन पूर्वाञ्चलका पहिलो पुस्ताका ओलम्पियन नरेन्द्र पुमाले गर्ने भएका छन्। धरान निवासी पुमाले सन् १९८० को मस्को ओलम्पिकमा बक्सिङतर्फ भाग लिएका थिए।
शुक्रबार तीनबजे उद्घाटन सत्रमा पूर्वाञ्चलबाट प्रतिनिधित्व गरेका ७ ओलम्पियन समावेश हुनेछन्। जसमा दीप प्रज्वलनको अवसर भने पुमालाई प्राप्त हुनेछ। ’हामीले खोजखबर गर्दा वर्तमान अवस्थामा पूर्वको सिनियर ओलम्पियनको रुपमा उहाँलाई पायौं। त्यसैले सम्पूर्ण ओलम्पियनको सम्मानस्वरुप उहाँबाटै दीप प्रज्वलन गराउन लागेका हौं‘, सदस्य–सचिव केशव बिष्टले सेतोपाटीलाई जानकारी दिए।
पुमाले पनि लामो समयपछि आफूलाई खेलकुदले सम्झेकोमा खुसी व्यक्त गरे। ‘म आफूलाई भाग्यमानी ठान्छु। पूर्वाञ्चलमा पहिलो पल्ट हुन लागेको ऐतिहासिक खेलकुदमा मलाई सम्झिएकोमा’ ५३ वर्षीय पुमाले भने।