सातौं राष्ट्रिय बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता पुसको पहिलो सातादेखि पूर्वाञ्चलमा सुरू हुने निश्चित भएको छ। पूर्वाञ्चलमा तीनपल्ट स्थगित भएको यो प्रतियोगिता गराउने विषयमा सोमबार सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषदको १ सय ७ औं बोर्ड बैठकमा निश्चित भएको हो।
परिषद अध्यक्ष युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीको अध्यक्षतामा सोमबार सातदोबाटोमा बसेको बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद पुस ८ देखि १५ सम्म गर्ने निर्णय गरेको हो।
बैठकले क्षेत्रीय छनोट प्रतियोगिताको नयाँ मिति पनि तोकेको छ। क्षेत्रीय छनोट मंसिर २० देखि २८ गतेसम्म हुने भएको छ। यसअघि क्षेत्रीय छनोट कात्तिक २३ देखि मंसिर ३ गतेलाई तय भएको थियो। क्षेत्रीय सकिएलगत्तै राष्ट्रियलाई छनोट भएका खेलाडीको बन्द प्रशिक्षण सुरू हुने छ।