बहुदलवादी भएर मैले अर्थ सचिवबाट राजिनामा दिएको हैन

  • Get News Alerts

मलाई अहिलेका नेताहरु ‘प्रजातान्त्रिक पद्धतिका निरंकुश’ राजाजस्तो लाग्छ । जबकि म राजा वीरेन्द्रलाई ‘निरंकुश प्रणालीका प्रजातान्त्रिक नेता’ ठान्थे ।
विदेशका नामीगिरामी कलेजबाट पढाइ सकेर युवराजधिराज वीरेन्द्र स्वदेश फर्केदेखि नै मैले उनीसँग काम गर्ने मौका पाएँ ।
 
महेन्द्रले राजकाजको मामिलामा ‘ट्रेन्ड’ गर्ने उद्देश्यले वीरेन्द्रलाई जाँचबुझ केन्द्रमा खटाएका थिए । केन्द्रको प्रशासन, विकास र योजना हेर्ने विभागको म पनि एउटा सदस्य थिएँ ।
 
मेरो जागिर नाथे उपसचिवको थियो । तैपनि युवराजधिराजसँग छलफलको मौका मिलिरहन्थ्यो । विकास परिषद्, जिल्ला प्रशासन योजना, लोकसेवा आयोगको पुनर्स‌ंरचना लगायतमा हामीले काम गरेका थियौं । अधिनायकवादी राजसंस्थाको प्रतिनिधित्व गर्ने भए पनि उनी प्रायजसो एउटै चासो व्यक्त गर्थे– जनताको विचार के छ ? जनता जे चाहन्छन्, त्यही गरौं । 
 
राष्ट्रिय योजनाहरु कसरी तर्जुमा गर्ने भन्ने विषयमा पनि जाँचबुझ केन्द्रले काम गथ्र्यो । युवराज एउटै मन्त्र दोहोर्‍याइरहन्थे– जनसहभागिता, जनसहभागिता, जनसहभागिता।
 
युवराज वीरेन्द्रको नजिक रहेर काम गर्ने मौका पाउँदा मैले उनको माया र स्नेह पनि पाएको थिएँ ।
 
...
 
राजसंस्था आफैंमा निरंकुश प्रणाली हो । त्यहाँमाथि २०१७ सालको कदमबाट पूर्ण निरंकुश बनेका राजा महेन्द्रको छोरामा किन यो उदारता ?
 
मानिस कस्तो बन्छ । चेतनाको विकास कसरी हुन्छ । सोचहरु कसरी विकसित हुन्छ– ‘स्कुलिङ’ ।
 
आलंकारिक प्रजातान्त्रिक मुलुकहरु जापान, बेलायत र अमेरिका पढेर आएका वीरेन्द्रको सोच धेरै आधुनिक भएको हामी सुन्थ्यौं । उनकै मातहत काम गर्दा हामीलाई उनी उदारवादी नै हो जस्तो लाग्थ्यो ।
 
२०२८ माघ १७  गते महेन्द्रै बिते । वीरेन्द्रले राज्यारोहण गरे ।
 
‘अब परिवर्तन हुन्छ,’ हाम्रो पहुँच भएका पञ्चायत ‘सिस्टम’ भित्रका उच्च अधिकारी, मन्त्री र नेताहरुले नै अनुमान गरेका थिए, ‘संसारका उत्कृष्ट प्रजातान्त्रिक मुलुकमा शिक्षा लिएर आएका राजाले अब बहुदल दिन्छन् ।’
 
राज्यारोहणपछि वीरेन्द्रले दिएको सम्वोधनमा पञ्चायत भन्ने एक शब्द पनि परेको थिएन । यो पनि राजा उदार थिए भन्ने उदाहरण थियो ।
 
राजाले अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रस्तुत गर्ने कतिपय दस्तावेजको लेखनमा म पनि सरिक हुन्थेँ । राजाको सचिवालयबाट आउने त्यस्ता दस्तावेजको मस्यौदामै यस्ता वाक्य राखिएके हुन्थ्यो, ‘म र मेरो श्रीमती ।’
 
राजाले म र मेरो श्रीमती लेख्नु चानचुने कुरो थिएन । दरबारिया, पञ्च र कर्मचारीतन्त्रमा त्यस्ता वाक्यांश प्रयोगबारे हल्लीखल्ली मच्चिएको थियो । ‘राजा निरंकुश हुन खोजेका छैनन्, जनताको अधिकार जनतालाई नै फिर्ता गर्छन्,’ कतिपय ठूलाबडाहरु ठोकुवा नै गर्थे ।
 
...
 
यस्ता उदार देखिएका राजाको व्यवहारबाट पञ्चायत पक्षधर, दरबारिया र कतिपय उच्च प्रशासक भने सशङ्कित देखिन्थे । पञ्चायतले ११ वर्षमा एउटा शासक वर्ग जन्माइसकेको थियो । राजा उदार होलान् र आफूले रजाइँ गर्न नपाइएला भन्ने डर त्यो वर्गलाई थियो । राजा भन्दा उनीहरुका लागि पंचायत बढी प्यारो थियो ।
 
उनीहरुले राजपरिवारका सदस्य मार्फत् वीरेन्द्रको ब्रेन स्टोर्मिङ् गरे । पंचायतकै पक्षमा ।
 
पंचायत राजा महेन्द्रले जन्माएको निरंकुश दर्शन थियो । पञ्चायतमा समाहित भएर त्यसलाई अघि नबढाउँदा स्वर्गवासी पिताप्रति अपमान गरेको हुनसक्ने व्याख्या त्यस्तो वर्गले गर्‍यो ।
 
राज्यारोहण गर्दा उदारवादी देखिएका राजा १० महिनामा खाँटी पंचायतवादी भइसकेका थिए । २०२९ साल पुष १ गते पंचायत जयन्ती तथा संविधान दिवससम्म आइपुग्दा वीरेन्द्र परिवार, दरबार र पञ्चहरुको घेराबन्दीमा परिसकेका थिए ।     
 
पढाइलेखाइले सैद्वान्तिक ज्ञान भए पनि उनमा विचारको परिपक्वता देखिएन । ‘काँचो उमेरको राजालाई पंचायतले जन्माएका एलिटहरुले कप्र्याक कुप्रुक पारे,’ म वीरेन्द्रलाई निर्दोष नै ठान्थेँ ।
 
...
 
पंचायत बलियो होस् कि कमजोर त्यसले म सामान्य कर्मचारीलाई खासै फरक पार्ने थिएन । राजासँगको दोहोरो चिनाजानीले हो वा के कारणले हो मेरो उन्नति चाँडोचाँडो भइरहेको थियो । म छोटो अवधिमै अर्थ मन्त्रालयको सहसचिव भइसकेको थिएँ । अर्थमन्त्री भेषबहादुर थापा, सचिव नरकान्त अधिकारीको स्कुलिङमा धेरैथोक सिक्न पाइएको थियो ।
 
सहसचिवै हुँदा पनि म आक्कलझुक्कल राजासँग दर्शनभेटको मौका पाउँथे । ब्रिफिङ् वा अरु केहि कामको सिलसिलामा ।
 
२०३४ सालमा गलैँचा काण्ड भयो । प्रधानमन्त्री तुलसी गिरी, मेरै मन्त्री थापा, सचिव अधिकारी, मन्त्री हर्क गुरुङ, कुलशेखर शर्मा जस्ता शिखर व्यक्तित्व सबैलाई काण्ड लाग्यो।
 
प्रधानमन्त्री कीर्तिनिधि बिष्ट हुनुभयो । सरकारले मलाई नै कायममुकायम अर्थसचिव बनायो । उनान्चालिस वर्षकै उमेरमा कायममुकायम सचिव हुन पाउनु । अर्थ जस्तो महत्वपूर्ण मन्त्रालयमा पोस्टिङ् पाउन दरबारले विश्वास गरेको हुनुपथ्र्यो ।  
 
किर्तीबाबुसँग काम गर्न असाध्यै सजिलो । राजाले नै भनेपनि उहाँले हुनेबाहेक नहुने काम गर्ने हैन । फ्याटफ्याट बोलेर जसलाई पनि मू–तोड जवाफ दिइहाल्ने स्वभाव । हामीले इमान्दारीपूर्वक निर्णय गर्दिनुपर्‍यो, बस् । ‘माथि’ जहाँ जहाँ भिड्नुपथ्र्यो त्यो उहाँकै जिम्मा ।
 
म अर्थको क्याडेर जस्तै भएपनि फरेन एड (वैदेशिक सहायता) मा मात्र काम गरेको । कर, भन्सार, बजेटपट्टिको मलाई केहि पनि थाहाँ थिएन । भुवनेश्वर खत्री दह्रो सहसचिवमा कहलिनुभएको थियो । उहाँलाई सेकेण्ड म्यान बनाएर ल्याए । उहाँले जे भन्नुभयो त्यहिँ अनुसार कर÷भन्सारका महानिर्देशक र फिल्डका हाकिम खटाइदिए ।   
 
बजेट वा अरु विभिन्न काममा दरबार गइरहनुपथ्र्यो । प्राय ग्रुपमा गइन्थ्यो । आक्कल झुक्कल एक्लै पनि भेट्न पाइन्थ्यो । राजाको म प्रतिको माया युवराज हुँदा जस्तै पाउँथे । मलाई पुरापुर विश्वास पनि गरेका थिए ।
 
दरबारका आसेपासेहरुलाई अप्रिय हुने निर्णय गरिरहँदा पनि राजाबाट कहिल्यै कुनै प्रकारको हस्तक्षेप हुँदैनथ्यो ।
...
जुल्फिकर अलि भुट्टोको फासीको निहुँमा सुरु भएको विद्यार्थी आन्दोलन चर्किदै गएको थियो । २०३५ चैतमा सुरु भएको आन्दोलन एक वर्षमा ह्वात्तै बढिसकेको थियो ।
 
अर्थ सचिवको आन्दोलनसँग खासै लेनादेना हुँदैनथ्यो । गृह सचिवलाई तनाव हुन्थ्यो होला । एउटा सचेत नागरिकले राख्ने चासोबाहेक आन्दोलनसँग साइनो पनि थिएन ।
 
म पनि देश विदेश पढेलेखेको भनेर कहलिएकै थिए । कामै संसारका मुलुक घुमिहिँड्ने । संसारमा प्रजातन्त्र कति लोकप्रिय हुँदै गएको छ मैले बुझेको थिएँ । ‘विद्यार्थीले सल्काएको आगोले पञ्चायत ढल्छ,’ म मनमनै गम खान्थे, ‘अबको दुनियाँमा निरंकुश व्यवस्था कसरि चल्दो हो र ।’ 
 
भित्ताको पनि कान हुन्छ भनेर हामी कर्मचारी मध्ये कसैले पनि व्यवस्थाविरोधि कुरा गर्ने आँट गर्दैनथ्यौं ।   
 
मेरो अनुमान सही निक्ल्यो । २०३६ जेठ ९ गते ठूलो मास उर्लियो । गोरखापत्र र आरएनएसीमा आगो लगाए । गोरखापत्रसँगै भूगोलपार्कमा नेपाल वैंक थियो । त्यतिबेलाको सबैभन्दा ठूलो वैंक ।
 
‘नेपाल बैंक पनि जलाउलान, सुरक्षामा विशेष ध्यान पुर्‍याउनु,’ दरवारबाट मलाई फोन आयो, ‘भोलि बिहानसम्म राजाबाट जनमत संग्रह घोषणा हुन्छ ।’
 
जेठ १० गते जनमतसंग्रह घोषणा भयो ।
 
‘बहुदलीय व्यवस्था की सुधारिएको पँचायत’ छान्ने अधिकार मतदाताको । त्यो सँच्चिक प्रजातान्त्रिक प्रक्रिया थियो । आन्दोलनकारीले मागे भन्दा बढि दिएर राजा विरेन्द्रले आफू उदारवादी भएको देखाउन सके । मैले जस्तो राजा सोचेको थिए उनीबाट त्यो भन्दा राम्रो कदम चालियो ।
 
‘राजाबाट घोषणा भएको जनमत संग्रह निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्नु,’ प्रशसनयन्त्रलाई पनि दरवारबाट निर्देशन आएको रहेछ ।
 
मुख्य सचिवले सचिवहरुको बैठक डाके । जनमतसंग्रह कसरि निष्पक्ष गर्न सकिन्छ भन्नेमा मन्त्रालय र मातहतका निकायहरु कसरि चनाखो रहने भन्ने विषयमा छलफल भयो ।
 
‘पञ्चै हो यो देश वनाइदेऊ जस्ता गितहरु रेडियोमा अबदेखि बजाउने कि नबनाउने,’ सञ्चार सचिवले जिज्ञासा राखे ।
 
सरकारी संयन्त्रबाट पंचायत वा बहुदलको पक्षधरता देखिनुहुन्न भन्नेमा राजा चिन्तित रहेको जानकारी गराइयो । ‘पञ्चायतको स्तुती गाएको गीत रेडियोबाट बजाउन मिल्दैन, नबजाउने,’ सचिवहरुले निर्णय गरिदिए । संचार सचिवले त्यस्ता गीत पनि बन्द गराए ।
 
विश्वेश्वरप्रसाद कोइरालाले राजाको घोषणा लगत्तै जनमतसंग्रहको स्वागत गरिसक्नुभएको थियो । वरु पञ्चहरु नै राजाको यो कदमबाट खुशी थिएनन् । उनीहरु मध्ये कति हेभिवेट पञ्चहरु जनमसंग्रहको घोषणाले मर्महात नै भएक थिए ।
 
‘जनमतसंग्रह दिनु भनेको पंचायती दर्शनको विघटन नै हो,’ डा. गिरीले सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । यस्ता अभिव्यक्तिले बहुदलवादीहरु झन् उत्साही भएर त्यो प्रजातान्त्रिक अभ्यासमा समर्पित भइरहेका थिए ।
...
 
जनमतसंग्रह घोषणा भएको केहि दिनमै किर्तीवावुले प्रधानमन्त्रीबाट राजिनामा दिनुभयो । किर्तीवावुले काम गर्ने उपयुक्त वातावरण भएको नदेखेरै हट्नुभएको होला ।
‘यो शुभ संकेत हैन,’ मलाई शंका लाग्यो ।
 
नयाँ प्रधानमन्त्री हुनुभयो सूर्यबहादुर थापा । अर्थ मन्त्रालय पनि प्रधानमन्त्रीले आफै राख्नुभएको थियो ।
 
त्यहिँ विचमा म कन्फर्म सचिव भए । अर्थ मन्त्रालयमै पोष्टिङ भयो । सरकारमा भएको परिवर्तन मलाई फाप्यो नै । कर्मचारीलाई अरु साथिभाई भन्दा चाँडो प्रोमोसन र रोजेको मन्त्रालय पाएपछि के चाहियो !
 
सूर्यबहादुर थापा शासन प्रशासनको नसनस बुझेको प्रधानमन्त्री । ऐन, कानून, नियम पनि कन्ठस्त । उहाँले निर्णय गर्न चाहे कानूनकै दफा देखाएर तर्क गर्नुसक्नुहुन्थ्यो । त्यहिँ विषयमा निर्णय गर्न नचाहे पनि कानूनकै आडमा अरुलाई चुप लगाइदिन सक्नुहुन्थ्यो । कानूनको दफाको आडमा फाइल घुमाउन सक्ने काइते कर्मचारी भन्दा पनि माहिर ।
 
मेरो विभागिय मन्त्री पनि हुनुभएकाले म रातबिहान प्रधानमन्त्री निवास गइरहनुपथ्र्यो । कुनै एक दिन विहान ६ वज्नुअघि नै मलाई निवासमा बोलाइयो । प्रधानमन्त्रीले मलाई बेडरुममै डाक्नुभयो ।
 
उहाँ त झुलभित्र फाइल पढिरहनुभएको छ । खाटमा चाङ्का चाङ् फाइल छन् । प्रधानमन्त्री तीनै फाइलहरुसँग रात काटेजस्तो दखिन्थ्यो । यो घटनाले पनि मलाई उहाँ प्रत्येक फाइल पढेर निर्णय गर्नुहुन्थ्यो भन्ने सम्झना हुन्छ ।
 
मलाई उहाँसँग काम गर्न पनि मज्जा आइरहेको थियो । सधैजसो वैदेशिक सहायतामा मात्र काम गरेकाले नियम, कानूनको त्यति हेक्का नराख्ने मेरो कार्यशैली । उहाँ फाइलको अंग पुर्‍याउन सिपालु । निर्णय गर्दा कानूनी त्रुटी होला वा फसिएला भनि डर मान्नु नपर्ने ।
 
आफै फोन गर्ने । ठाडो स्वर नगर्ने । उहाँले अह्राएको विषयमा विपरित तर्क गर्दा पनि रातो मुख नलगाउने ।
 
म उहाँसँग आफूलाई लागेको जेसुकै विषयका कुरा खुलस्त राख्न सक्थे । कर्मचारी भएपनि राजनीतिक कुरा गर्ने छुट पनि मैले पाएको थिए ।
 
‘तुलसी गिरीले पंचायतको साइन बोर्ड मात्र बाँकि छ, बहुदल आइसकेको छ भन्नुभयो,’ मैले थापाज्यूलाई भने, ‘पार्टीहरुसँग सम्झौता गरेर केहि राजनीतिक निकास निकाल्न सकिन्छ कि ।’
 
यो सुझावमा मैले उहाँमा अघिपछि जस्तो सौहार्द्रता देखिन । ‘मलाई हटाएर विश्वेश्वरलाई ल्याएर प्रधानमन्त्री वनाउनुस्,’ उहाँ कड्किनुभयो । गोरो अनुहार पनि रातोपिरो भयो । चस्माभित्र पनि आँखा लाल देखिए ।
 
मैले कुनै प्रतिक्रिया गरिन । राजनीति मेरो प्रत्यक्ष सरोकारको विषय नभएकाले मौन बसे ।     
 
...
 
केहि महिनासम्म मेरो र प्रधानमन्त्रीज्यूको ट्युनिङ खुब मिलेको थियो ।
 
‘दरवारले साम, दान, दण्ड, भेद प्रयोग गरेर पंचायतलाई जिताउन सूर्यबहादुरलाई प्रधानमन्त्री र अर्थमन्त्री वनाएको हो,’ मेरा शुभेच्छुकहरु चिन्ता व्यक्त गर्थे, ‘तिमीलाई काम गर्न अप्ठोरो पार्लान् है ।’
 
नभन्दै मेरो टेबुलमा बजेट रकमान्तरको फाइलको चाङ लाग्न थाल्यो । शिक्षा, स्वास्थ्य, सडक, पानी, विजुली जस्ता आधारभूत सेवाका वजेट काटेर अन्यत्र लाने प्रयास हुन थाल्यो ।
 
अनुचित लागेका जति फाइल मैले स्विकृत गरिँन । सूर्यबहादुर थापा रकमान्तरको पक्षमा म विपक्षमा । अधिकार मेरै थियो । निर्णय गर्ने अधिकारी मै भएपछि उहाँको मनसुवा सजिलै पुरा भएको थिएन ।
 
‘अलि अलि आँखा चिम्लिदिनुस् न सचिवज्यू,’ प्रधानमन्त्री अनुरोध गर्नुहुन्थ्यो, ‘जहाँ गरेको खर्चले धेरै प्रतिफल आउँछ त्यतै लैजाऊ भन्ने मात्र हो ।’
 
रकमान्तरमा मैले अवरोधकको काम गरे । कर्तव्यपालन गर्न सकेकोमा दंग परे । रकमान्तरबाट बजेट दुरुपयोग गर्न खोजिएको मेरो शंका थियो ।
 
‘म सँग पंचायत जिताउन भनेर चन्दा मागिएको छ,’ आरएनएसीका जिएमले डराउँदै मेरो अफिसमा आएर भने, ‘इमान्दारीपूर्वक काम गरेर कसरि लाखौं चन्दा दिन सकिन्छ।’
 
यो सूचनाले मलाई दुखि बनायो । केहि दिनमा नेशनल ट्रेडिङ्का जिएम भेट्न आए । उनको दुखेसो पनि उस्तै थियो, ‘चन्दा दिएनौं भने देख्लास् भनेर थ्रेट आएको छ ।’
 
अव मलाई छर्लङ् भइहाल्यो पंचायतका नाममा सरकारले नै चन्दा आतंक सुरु गरेको रहेछ । त्यस्तो चन्दा कसैले आफ्नो घरघरानाबाट दिँदैनथ्यो । जुन सरकारी निकायमा काम गर्छ त्यहिँबाट चोरेर दिने न हो । प्रधानमन्त्रीले नै चन्दा मागेपछि कसलाई के को डर । दिन नचाहने वृहस्पतीहरु म सँग आए ।
 
धेरैलाई त बाँदरलाई लिस्नु हालिदिए जस्तो भयो । फट्याइ गर्न खोज्ने मन्त्री, सचिव, जिएम, हुँदै तलसम्मैकाले जर्ती काटेर आफ्नो भाग राखि पंचायत जिताउने नाममा प्रधानमन्त्रीलाई चन्दा दिने भए ।   
 
म रकमान्तर रोकेर राज्यको ढुकुटीमा पर्न लागेको दूलो टाले भनेर मख्ख । अन्त भ्वाङ् परिसकेको रहेछ । दुरुपयोगको भेल नै बग्न थालिसकेको थाहाँ हुँदै गयो ।
 
अन्यत्र र अर्थ मन्त्रालयमा पनि कर्मचारी सरुवाको चलखेल हुन थाल्यो । फलानालाई कर, भन्सार ल्याइदिनुप¥यो भने र प्रधानमन्त्री आफैले फोन गर्न थाल्नुभयो । भ्रष्टाचारको गुञ्जायस रहेको अरु मन्त्रालयमा पनि त्यस्तै भएको सुनिन्थ्यो ।
 
मुलुकको कर्मचारीतन्त्रमा एउटा नया ‘थिती’ वसालियो– कर्मचारीसँग पैसा उठाउने । त्यसभन्दा अघि सरुवा, बढुवा वा अरु निहँुमा कर्मचारीसँग माथिका मानिसले पैसा खान्छन् भन्ने कसैले चिताउन पनि सक्दैनथ्यो । हामी राज्यको सिस्टमभित्रै बसेकाहरुले पनि कर्मचारीसँग माथिका मानिसले पैसा खान्छन् भन्ने कल्पना पनि गर्दैनथ्यौं ।
 
यसले मात्र पुगेन जनमतसंग्रहको नाममा जंगल सखाप पार्ने काम सुरु भयो । तराईमा रातारात स–मिलहरु खडा भए । मेचीदेखि महाकालीसम्म चारकोसे झाँडीको सालको जंगल सखाप पारेर भारत पु¥याइराखिएको हामी पनि सुन्थ्यौं । जनमतसंग्रहको नाममा मुलुकले वन जंगल क्षेत्रमा अपुरणिय क्षती व्योहोर्यो ।
...
 
सरकारले कर फछ्र्यौट आयोग वनायो । त्यसको अध्यक्ष हुनुहुन्थ्यो डा. यादवप्रसाद पन्त । व्यापारीक फर्महरुलाई करोडौं आयकर मिनाहा दिने निर्णय हुनथाल्यो ।
 
जनमतसंग्रहमा पंचायतलाई जिताउने नाममा जथाभावी निर्णय भइरहेका थिए । राजस्वमा व्रम्हलुट चलेको थियो ।
 
म पनि आयोगको पदेन सदस्य थिए । म एकातिर अरु सबै एकातिर हुन्थे ।   
 
त्यहिँ विचमा धमाधम बजेटको तयारि गर्ने काम पनि भइरहेको थियो । बजेटको चटारो अर्थ सचिवलाई पनि अत्यधिक हुन्छ । थापाले बजेट पन्तलाई देखाउनु भन्नुभयो ।
 
‘राष्ट्रिय पंचायतमा पेश हुनुभन्दा अघि अर्थ मन्त्री, प्रधानमन्त्री, राजा बाहेक अरु सबैसित बजेट गोप्य राख्नुपर्छ,’ बजेटको मर्यादा मैले स्मरण गराए । बजेटसँगै कर, भन्सारको दररेट पनि तलमाथि हुन्छ । यसको गोप्यता भंग भयो भने करोडौं (त्यतिबेलाको) राजस्व हिनामिना हुन सक्थ्यो ।
 
पन्तलाई म कसरि बजेट देखाउन सक्थे !
 
मैले बजेट थापालाई सुनाए । कतिपय कार्यक्रम र करका दररेट उहाँले तलमाथि गर्न लगाउनुभयो । धेरै मैले आनाकानी गरे ।
कति जोरी खोज्नु !
 
प्रधानमन्त्रीको अनुरोध अनुसार बजेट पनुर्लेखन गरे । पन्तलाई नसुनाउने मेरो अडानकै जीत भयो ।
दरवारमा बजेट व्रिफिङ गर्ने दिन आयो ।
 
म र प्रधानमन्त्री थापा राजदरवार गयौं । राजालाई पढेर सुनाए । प्रधानमन्त्रीको अनुरोधमा राखेका कतिपय बँदा मलाई चित्त बुझेको थिएन । त्यो पनि पढ्नैपर्यो‌ । मलाई कता कता सकस भयो ।    
‘सरकार सेवकलाई यो बँदा चित्त बुझेको छैन,’ मैले विन्ती गरे, ‘प्रधानमन्त्रीज्यूको अनुरोधमा यो व्यवस्था राखेको हुँ ।’
...
 
वजेट आयो । सूर्यबहादुर थापा आफैले अर्थ मन्त्रीको रुपमा भाषण गर्नुभयो । बजेट पास भएपछि अर्थ मन्त्री, सचिव, कर्मचारीको टाउको दुखाइ सकिन्छ । भारी बिसाएजस्तो हलुका हुन्छ ।
बजेटको लठारो सकिँदा पनि मेरो कपाल दुखाइ भने जस्ताको तस्तै थियो । मन्त्री र मेरो तनावको पारो  चढिरहेको थियो ।
 
रकमान्तर, कर्मचारीसँग असुली, राजश्व मारेर व्यापारी मोटाउन दिने÷नदिने भन्ने विषयमा मेरो र प्रधानमन्त्रीको मतान्तर बढ्दै गइरहेको थियो ।
म स्पिड ब्रेकर हुन खोज्थे । प्रधानमन्त्रीको गति तेज थियो । उहाँ भन्नुहुन्थ्यो, ‘पंचायतलाई जिताउनुपरेन ।’
 
मैले जति विमति राख्दा पनि प्रधानमन्त्रीले मसँगको व्यवहार फरक गर्नुभएन । बोलीव्यवहार, आदर, शिष्टाचारमा कुनै फरक परेको छैन ।
 
...
 
दशै तिहारपछि अर्थ मन्त्रालयमा कामको चटारो क्रमश बढ्दै जान्छ । अर्को वर्षको बजेटको गृह सुरु भइहाल्छ । २०३६ मंसिरको एकदिन म विहान १० बजे भन्दा अघि नै अफिस पुगिसकेको थिए, साविक जस्तै ।    
दरवारबाट फोन आयो ।
 
‘तुरुन्त आउनु,’ बुलावट आयो ।
 
‘सरकारबाट हुकुम भएको छ, पिएमको प्रोजेक्टमा बाधा अड्काउ नगर्नु,’ एक सचिवले भने, ‘उहाँको कार्यक्रममा सहयोग पु¥याउनु ।’
 
मैले केहि पनि जवाफ दिँइन । हुन्छ पनि भनिन हुन्न पनि भनिन ।
 
सरक्क फर्किए ।
 
नारायणहिटीबाट वागदरवार आइपुगेको थाँहै पाइन ।
 
अफिस आएर थचक्क कुर्सीमा बसे ।
 
‘प्रधानमन्त्रीले अह्राएको काम मैले सबै मानेकै छु,’ मैले गम खाए, ‘नहुने काम त जसले अह्राएपनि म गर्दिन ।’ म मुलुकलाई घाटा हुने काममा सहीछाप गर्न सक्दिनथे ।  
प्रधानमन्त्रीको के प्रोजेक्ट मैले टेरेको छैन ?
 
दरवारलाई पनि रकमान्तर गरेर बजेट हारलहुरल, कर मिनाहा, कर्मचारी, व्यापारीसँथ असुली गर्नुपरेको रहेछ ।
 
कि म पनि विवेक गुमाएर मतियार वन्नुप¥यो । हैन भने जागिर छाडेर बाटो लाग्नु जाती । मैले दोस्रो बाटो रोज्ने भए । राजिनामा ड्राफ्ट गरे ।
प्रधानमन्त्री, दरवार सबैको कसिंगर भएर कसरि जगिर खान सकिन्छ ?
 
मुलुकका १०१ व्यक्तित्वलाई गलैँचा काण्ड लागेको झलझली सम्झिएँ । दरबार लाग्नु भन्दा नै पहिला नै मैदान खालि गरिदिनु वुद्विमानी, मेरो ठम्याइ थियो ।
दियालो वंगलामा राजपरिवारका सदस्य र नातेदारको मिटिङ बसेको सुनेको थिए । डाङ्राङ, डुङ्रुङ् गरेर भएपनि पंचायतलाई जिताउनुपर्छ भन्ने निर्णय भएको हल्ला पनि आएको थियो ।
 
‘साँच्चै हो रहेछ,’ ती हल्ला साँचो हुन् भन्ने आधार थपिदै थिए ।
 
राजिनामा बुझाउनु भन्दा पहिला कसैसँग त सल्लाह गर्नै प¥यो ।
भुवनेश्वरजीलाई डाके ।
 
‘जागिर खान देलान जस्तो छैनन्,’ सबै कुरा सुनाए । आठ महिनादेखि प्रधानमन्त्रीसँग भइरहेको खटपट उनलाई म बेलाबेलामा सुनाइरहन्थे ।
‘वेला भइसक्यो र हजुर,’ खत्रीजीले सुझाए, ‘दरवार अपार हुन्छ राजाकै मुखबाट नसुनी यस्तो कठोर निर्णय लिने वेला भइसकेको छैन ।’
 
हो त ! राजाको मुख बाट तँ मैले सुनेको छैन नी । दरवारमा धेरैवटा पावर सेन्टर हुन्थ्यो । तीनै मध्ये कुनैले चलखेल गरिरहेको हुन सक्छ । शंकाको सुविधा दिने ठाउँ पनि थियो ।          
विरेन्द्र मातहत काम गरेको दश वर्ष नाघिसकेको थियो । उनले कहिल्यै हस्तक्षेप गरेको मलाई सम्झना थिएन ।
 
एक महिनापछि पेरिसमा नेपाल डभलेपमेन्ट फोरमको वैठक हुँदै थियो । अर्थमन्त्री भेषबहादुर थापासँग धेरैपटक गइसकेको थिए । उनको ठाँट देखेको थिए ।
यसपाला विभागिय मन्त्री प्रधानमन्त्री स्वयं । उहाँलाई चुनावको चटारो छ । मैले संवोधन गर्न पाउँछु । त्यो फोरममा भाषण गर्ने लोभले पनि थियो । त्यसले लेखेको राजिनामा कोटको बगलीमा लुकाउन उत्प्रेरकको काम ग¥यो ।  
...
 
पेरिस गए । फर्केर आए । मनोकामना पुरा भए जस्तो भयो ।
 
प्रधानमन्त्री/अर्थमन्त्रीले पनि आफ्नै शैलीमा काम गरिरहनुभएको थियो । म पनि आफ्नो स्टाइलबाट टसमस भएको थिँइन ।
 
प्रधानमन्त्री देश दौडाहामा हुनुहुन्थ्यो । पंचायतको पक्षमा चुनाव प्रचार गर्न । राज्यको स्रोत साधन खर्चेर देश पंचायतको पक्षमा दौडाहा गर्नुले निष्पक्ष निर्वाचनको संकेत गर्देनथ्यो ।
कहिलेकाँहि हाम्रो भेट हुन्थ्यो । तर सम्वन्ध चिसो हुँदै गएको थियो । उहाँले अह्राएको नहुने काम म टर्दैनथे । पन्छाइदिन्थे ।
 
माघ अन्तिम सातातिर दरवारबाट बोलावट आयो ।
 
‘पिएमको कार्यक्रममा सहयोग गरिदिनुप¥यो,’ दरवारका उच्च अधिकारीले भने, 'सरकारबाट हुकुम भएके छ ।'
 
म छाँगाबाट खसे जस्तो भए । दरवारका सचिवले दुई महिना अघि जे भनेका थिए ।  अहिले त्यहिँ आदेश आयो ।
रकमान्तर, कर्मचारीबाट असुली र कर मिनाहामा सरकारबाट भइरहेको अनियमितताबारे वताए ।
 
‘पिएमले के के गर्छन् दरवारलाई जाहेर गर्नु,’ राजालाई उदृत गर्दै उनले भने, ‘अहिले पिएमलाई सहयोग चाहिएको छ ।’
राजा हैन अरुले नै वदमासी गराइरहेका भन्ने मेरो विश्वास शिशा झै चकनाचुर भयो । राजाले नै पंचायतको पक्षमा धाँधली चाहिरहेको पनि बुझे । प्रधानमन्त्रीले कतिपटक कम्प्लेन गरेपछि मलाई भन्नुपर्ने अवस्था आयो होला भन्ने पनि अनुमान लगाए ।
 
‘अव तेरो खैरियत छैन,’ म अन्तिम निश्कर्षमा पुगे, ‘अव जागिर खाने दिन सकियो ।’
 
माघ मसान्तमा प्रधानमन्त्रीकहाँ लगेर राजिनामा दर्ता गराए । फागुनको २ वा ३ गते प्रधानमन्त्री जिल्ला दौडाहाबाट आउनुभयो ।
‘आउनुस् यहाँ,’ उहाँले नै मलाई वोलाउनुभयो ।
 
‘हजुरले मलाई विदा दिने भए आइहाल्छु,’ मैले जवाफ दिए ।
‘पहिला आउुनस् न,’ उहाँले नरम स्वरमा भन्नुभयो ।
 
म एक घण्टा भित्रै निवास पुगे । त्यहाँका कर्मचारीले तुरुन्त उहाँको वैठक कोठामा लगे ।
उहाँले कफि मगाउनुभयो ।
 
‘के उपद्रो गर्नुभएको यो,’ उहाँ जुरुक्क उठ्नुभयो, ‘के चाहिन्छ । कहाँ जानु हुन्छ जानुस् ।’
अरु मन्त्रालय, एम्वेसडर वा योजना आयोग मागोस् भन्ने उहाँको चाहना रहेछ ।
 
मैले सरल जवाफ दिए, ‘मेरो राजिनामा स्विकृती भए मेरा लागि ठूलो उपलव्धि हुन्थ्यो ।’
‘राजाबाट सम्झाउन हुकुम भएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।
 
म छाड्छु भन्ने उहाँ नछाड । कफि खाएर हामी एक घन्टासम्म अलमलिइरह्यौ । 
म तैपनि पग्लिने कुरा थिएन । प्रधानमन्त्री मेरो राजिनामा स्विकृत गर्न राजी हुनुभयो ।
 
...
 
मेरो राजिनामापछि विभिन्न हल्ला चल्यो । मलाई हिरो बनाएर चलेका ती हल्लाहरु साँचो थिएनन् । म बहुदलवादी भएर जागिर राजिनामा दिएको थिँइन । वहुदलसँग मेरो कुनै प्रकारको लगाव थिएन ।
राजाले ढुकुटीबाट जथाभावी पैसा चलाउन आदेश दिएकाले मैले राजिनामा दिए भन्ने हल्ला पनि साँचो होइन । सूर्यबहादुर थापाले मलाई जागिर छाड्न बाध्य बनानुभयो भन्ने पनि सत्य होइन ।
 
झण्डै दुई दशक जागिर खाँदा मैले जे सिकेको थिए । मेरो मनमा शासनप्रशासनबारे जुन मूल्य मान्यता गढेको थियो । विरेन्द्रलाई म जसरि आदर्श राजा मान्थे । ती सबै विश्वास तासको घर जस्तो गम्रयाङ गुम्रुङ ढलेकाले मैले जागिर छाडेको हुँ ।  
 
अमित ढकाल र किरण भण्डारीले गरेको कुराकानीमा आधारीत ।
तस्विर:प्रकाश लामा / सेतोपाटी

 

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • के हामीलाई हयाण्डसम केटा हेर्न मन लाग्दैन? के हामीलाई हयाण्डसम केटा हेर्न मन लाग्दैन?

    केटा मानिसको डिम्पलको वर्णन किन कसैले गर्न सकेनन्? केटाको गालामा भएको कोठीले म भुतुक्क भएँ भन्ने चर्चा किन कोही नारीवादी साहित्यकारले समते गरेनन्? मलाई थाहा छ यी तमाम मेरा प्रश्नहरुको उत्तर हामी सबैसँग छ। र त्यो उत्तर हो –केटा मानिस हेर्ने पात्र हो र हामी स्त्री जाति हेरिने पात्रका रुपमा समाजमा स्थापित छौं। हेर्ने पात्रले आफूलाई हेर्न चाहेको दृश्य वर्णन गरिदिए पुग्छ तर हेरिने पात्र तदअनुरुप बन्नुपर्छ। हेर्ने पात्रले चाहेको के हो त्यही जस्तो बन्न अभ्यास गर्नुपर्छ, नजानेको भए सिक्नुपर्छ ।

    शितल दाहाल

  • 'म मर्दा एक दिन बिदा हुन्छ हो?' 'म मर्दा एक दिन बिदा हुन्छ हो?'

    साँच्चै, हामी मर्दा कसैलाई केही फरक परेन भने हामी त कोहीसँग रिसाउन वा दु:खी हुन पनि नपाउने रहेछौं। जीवनभरि आशैआशमा बाँच्न बानी परेका हामी मृत्युबाट पनि आस गर्दा रहेछौँ है?

    नवराज पराजुली

  • दन्त्यकथा रिटर्न्स दन्त्यकथा रिटर्न्स

    १५ पाथी मकै किन्न हिँडेको हर्कमान बाटोमा कसैसँग भेटे नबोली हिँड्न सक्दैन। बगरको बाटो एक्लै काट्न दिक्क लागिरहेको बेला एकजना मान्छे आइपुग्छ। तर ऊ मरिकाटे बोल्ने हैन। भाइ, दाइ र हाकिमको सम्बोधनले बोलाउँदा पनि ऊ नबोलेपछि अन्ततः हर्कमान त्यो मान्छेलाई गुरू थाप्न तयार हुन्छ। तर गुरू एकचोटी बोलेको एक रुपियाँ लिने सर्तमा मात्रै बोल्न तयार हुन्छ।

    सौरभ कार्की

साहित्यपाटी

  • बैंस बैंस

    चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ। घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर। ‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु। बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’ चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’ जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

    नवीन विभास

  • वृद्धाश्रमको एउटा कथा वृद्धाश्रमको एउटा कथा

    म मेरो जीवनभरिको सपना
    उपहार दिन चाहन्छु तिमीलाई!
    म आज तिमीलाई सुनाउन चाहन्छु यो कथा!
    तिम्रो देश यतिखेर बृद्धाश्रम बनिरहेको छ!
    तिम्रो देशका हरेक घरहरु
    रोइरहेका बृद्धाश्रम बनिरहेका छन् आज!
    तर म तिमीलाई
    मेरो समयको अर्कै कथा सुनाउन चाहन्छु!

    विप्लव ढकाल

  • लुरी केटी लुरी केटी

    काकीले कथा सुनाउँदा ती हजारौँ सेता परीहरुमा ऊ आफूलाई पनि कतै उभ्याउँथी। परीहरुसँगै आकाशबाट सेता हाँसमा चढेर धरतीमा ओर्लन्थी। सेतो फ्रक लगाएर, जादुको छडी बोकेर खिसिक्क हाँस्थी। सँगसँगै काकी पनि हुन्थिन्। आन्टी पनि उस्तै राम्री थिइन्। सेता लुगा लगाउँदा ठयाक्कै परीजस्तै देखिन्थिन्। बेला–बेला काकीले सेता कोट लगाएर सेतो घोडा चढी परीलाई लिन राजकुमार आएको कथा सुनाउँथिन्। यस्तो सुन्दा लुरीलाई बिछट्टै लाज लाग्थ्यो।

    विनिता बराल

पाठक विचार

  • प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

    म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

    - सरगम भट्टराई

  • ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

     सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

    मनीषा अवस्थी

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट