०३५/३६ को बिद्यार्थी आन्दोलन ताका म त्रिचन्द्र क्याम्पस पढ्थेँ । झापा आन्दोलनको जगमा बनेको नेकपा माले आबद्ध विद्यार्थी फाँटमा थिएँ । हाम्रो संगठन पनि पूरा खुलाजस्तो थिएन । पछि मात्र अखिल पाँचौ भत्र थालिएको हो ।
हाम्रो माउ पार्टी माले उग्रवामपन्थी धारमा थियो । पार्टी महासचिव सिपी मैनाली । उहाँका बारे अनेक मिथ थिए ।
मैनालीकै नेतृत्वमा नख्खु जेल ब्रेक गरेर झापाली कम्युनिस्टहरूले सत्तालाई अर्को चक्मा दिएका थिए ।
त्यसैले पनि हामी मालेसँगको आबद्धता खुला गर्ने पक्षमा थिएनौं ।
‘कमबेसी मात्र हो, कांग्रेस र अन्य वामपन्थी शक्ति दक्षिणपन्थी हुन । हामीलाई यस्तै शिक्षा थियो, ‘माले विशुद्ध क्रान्तिकारी पार्टी हो ।’
पाकककिस्तानमा सैनिक कू भयो । निर्वाचित राष्ट्रपति जुल्फिकर अलि भुट्टोलाई फासी दिइयो ।
दक्षिण एशियाकै मुलुकको त्यो अत्याचारले हाम्रो रौं पनि ठाडा हुन्थे । रगत उम्लेर आउँथ्यो आन्दोलनको माहोल बनिरहेको थियो ।
‘फासीको विरोध गरेर आन्दोलन उठाउन सकिन्छ,’ हामीले धारणा बनायौँ, ‘यसलाई चर्काउँदै लान सकियो भने प्रजातन्त्रको निम्ति जनआन्दोलनसँग पनि जोड्न सकिन्छ ।’
मोहनविक्रम सिंह र निर्मल लामाको नेकपा चौथो महाधिवेशन चौम विद्यार्थी फाँट हामीसँग एक किसिमको सहकार्यमा थियो ।
हुकुमबहादुर सिंह, बालकृष्ण पौडेल, तारा न्यौपानेहरू चौम आबद्ध अनेरास्ववियुको नेतृत्वमा हुनुहुन्थ्यो ।
भुट्टोलाई २०३६ चैत २१ गते फासी दिइयो । हामीले २४ सूत्रीय संयुक्त माग बनायौं । लगत्तै आन्दोलन सुरु गर्यौं । आन्दोलन संचालनका लागि संयुक्त कार्यदल बनायौं । नन्द कन्दङवा, दामोदर उपाध्याय, ठाकुर चन्द्र श्रेष्ठ, भरत श्रेष्ठ, बलराम समाल, कोमल भट्टराई, केदार बराल, शम्भु थापा, लक्ष्मी मानन्धर, चन्द्र लक्सम्वा, गौरी प्रधान, केदार बस्नेत, लोक सुव्वा जस्ता कैयौँ साथीहरु हम्रो तर्फबाट सकृय थिए । बैसाख १० गतेको अस्कल काण्डको प्रतिरोधमा हाम्रै साथिहरु नै सकृय थिए ।
पकिस्तानका जननिर्बाचित प्रधानमन्त्री भुट्टोको फाँसीको खबरले आक्रोशित विद्यार्थीहरु आन्दोलनमा उत्रिनु स्वाभाविक थियो त्यस आन्दोलनको यो अन्तराष्ट्रिय चरित्र का साथै प्रजातान्त्रिक मूल्य प्रतिको नेपाली बिद्यार्थीहरुको प्रतिबद्धता पनि थियो ।
भुट्टो फाँसीको बिरुद्धमा पाकिस्तानी राजदुताबासमा बिरोधपत्र लिन जाँदा हाम्रो अस्कल अगाडी लैनचौरमा पुलिससँग विशाल भिडन्त भयो । यस बिरोध प्रदर्शनको नेतृत्व युनिभर्सिटीका बलबहादुर के.सी, शरण बिक्रम मल्लहरुले नै गरेका थिए हाम्रो ऐक्यबद्धता थियो । अहिलेसम्म पनि त्यसको सम्झना गरिन्छ ।
नेविसंघका बलबहादुर केसी, नेकपा माक्र्सवादी निकट शरणविक्रम मल्ल र ने.क.पा. संयुक्त निकट फेडेरेसनका कैलाश कार्कीहरूले केन्द्रियसंघर्ष समितीको नाममा आन्दोलन चर्काइरहेका थिए ।
हाम्रो पार्टी उनीहरूलाई दक्षिणपन्थी मान्थ्यो । त्यसो त चौमवालाहरू पनि दक्षिणपन्थी नै हुन् तर यिनीहरू अरुभन्दा क्रान्तिकारी भएकाले सहकार्य गर्नु अनुचित हुँदैन ।’ भत्रे मान्यता हामीमा प्रबल थियो ।
माले त्यतिबेला कठोर भूमिगत शैलीमा थियो । झापा आन्दोलनले मालेको प्रभाव थियो । नाम पपुलर थियो तर संगठन पूर्वमा बढि ब्यापक थियो । कोशी तरेर यता भर्खरै फैलिँदै थियो । भुट्टोको निहुँमा उठेको आन्दोलनको आयतन बढ्दै थियो । बिद्यार्थी आन्दोलनले जनआन्दोलनको रुप लिईरहेको थियो ।
अलगअलग भएर पंचायतलाई टुकुटुकु हान्नुभन्दा एकजुट भएर प्रहार गर्न पाए जोडदार धक्का लाग्थ्यो । पार्टीसँग संयुक्त आन्दोलनको म्यान्डेट लिन खोज्यौँ ।
बल्लतल्ल नेतृत्व सँग सम्पर्क गर्यौँ । नेतृत्वले हाम्रो प्रस्ताव अनुमोदन ग¥योे। सबै विद्यार्थी एकजुट भएर जानुपर्ने हाम्रो प्रस्तावमा चौमका साथी पनि सहमत भए ।
हम्रो सहकार्य बिनै आन्दोलनका कार्यक्रम बन्न थालेपछि त्यस्लाई सच्याएर संयूक्त रुपमा अगि बढाउन म आफैँले तत्कालिन केन्द्रीय संघर्ष समिति समक्ष प्रस्ताव पनि राखेको हुँ । बेनुपराज प्रसाईं सँग राती भूमिगत रुपमा झम्सीखेलमा भेटेर ‘आन्दोलनलाई संयुक्त रुपमा अघि बढाएर दह्रो दनक दिऊँ,’ मैले कुरा राखेँ ।
प्रसाईंले मेरो प्रस्तावलाई खासै भाउ दिएनन् ।
पहिलो कारण हामी त्यति धेरै परिचित नभएकाले होला ।
दोस्रो, ३८ किलोको लिखुरे केटोको मुखबाट आएको प्रस्ताव नेविसंघलाई पत्यार नलागेको हुन सक्छ ।
सबभन्दा महत्वपूर्ण नेविसंघको माउ पार्टी कांग्रेसको संयुक्त आन्दोलनकोे लाइन नहुन सक्छ ।
बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर आएको दुई वर्ष भइसकेको थियोे। उहाँ कम्युनिस्टहरूलाई विश्वास गर्न हुन्न भन्नेमै हुनुहुन्थ्यो ।
‘कम्युनिस्टहरूसँग मिलेर गयो भने प्रजातन्त्र स्थापना गर्न ढिलाइ हुन्छ,’ शीतयुद्धले त्यही सिकाएको थियो होला ।
आन्दोलनहरू समानान्तर रुपमा नै चलिरहेको थियो । धरहरा, पाटनको च्यासल जस्ता ठाउँमा चौमका साथिहरु र हामी मिलेर अलग्गै कार्यक्रम समेत गरेका थियौँ अस्कल क्याम्पस बिशेषगरी हाम्रो गढ थियो । बिद्यार्थी आन्दोलनलाई प्रजातन्त्रको निम्ति जनआन्दोलनमा बिकास गर्नुपर्छ भन्ने हाम्रो नाराको आकर्षणले बिद्यार्थी मात्रै होईन जनसहभागिता पनि बढ्दै गइरहेको थियो । आन्दोलन उपत्यका बाहिर पनि राष्ट्रिय रुपमा फैलिँदै थियो । नेविसंघको नेतृत्वमा रहेको तीन विद्यार्थी संगठनको मोर्चाले त्यसको मर्म बुझ्न सकिरहेको थिएन । यसै बिचमा
सरकारले वार्ता समिति बनायो । सर्वोच्चको वरिष्ठ न्यायाधीश संयोजक रहेको समितिलाई शाही आयोग नाम दिइएको थियो । बलबहादुर, शरणविक्रमहरूसँगै वार्ता गर्न थाल्यो । यसपछिका केही दिन डायरीकै शैलीमा
२०३६ जेठ ६ गते
केन्द्रीय संघर्ष समितिले सरकारसँग सम्झौता गर्यो । स्वतन्त्र विद्यार्थी युनियनको पुनस्र्थापना लगायत मागहरू सरकारले पूरा गरिदिएको थियो । उनीहरू विजयोत्सव मनाउँदै क्याम्पसक्यापस चहारिरहेका थिए ।
‘जेठ ६ को सम्झौता धोका हो,’ हामी र चौमवालाहरूले पोजिसन बनायौं, ‘हाम्रो आन्दोलन जारी छ ।’
सात हप्तासम्म विद्यार्थीका दुवै मोर्चाबाट घन्काइएका क्रान्तिकारी नाराहरूले विद्यार्थीको रगत ताँतेको थियो । जेठ ७ गते
बलबहादुरहरूले विद्यार्थी आन्दोलनले विजय पायो भन्ने सभा गर्न थाले । त्यहाँभन्दा ‘संझौता धोका हो’ भन्ने हाम्रा विरोधीसभामा ठूलो भिड देखिन थाल्यो ।
‘सम्झौता गरेर विद्यार्थीको आन्दोलन तुहाउने चेष्टा भयो,’ हामीले क्यापसक्याम्पसमा पर्चा बाड्न थाल्यौ ।
जेठ ८ गते
हामी दुई विद्यार्थी संगठनले सम्झौताविरुद्व त्रिचन्द्रमा आमसभा गर्यौं । आन्दोलनप्रति गद्दारी भयो, न्याय भएन मैले बोलेको थिएँ, ‘परिवर्तनका लागि ज्यानको बाजी थापेर सडकमा ओर्लिएका विद्यार्थीको छातीमा कुल्चेर संझौतामा सहीछाप लगाए ।’
जेठ ९ गते
युनिभर्सिटीमा सभा सकेर बलबहादुर र शरणविक्रम अस्कल ल्याइएछन । अस्कलमा विशाल आमसभाको तयारी रहेछ । अन्यत्रका विद्यार्थी र राजनीतिमा चाख भएका स्थानीयहरू पनि स्वतःस्फूर्त जम्मा भएका थिए ।
उनीहरुलाई कालो मोसो दलेर जुत्ताको माला लगाइदिए । ठेलागाडामा हालेर कुदाए ।
त्यो स्वतःस्फूर्त भीडले उनीहरूलाई ठमेल, इन्द्रचोक, पीपलबोट हुँदै न्यूरोडसम्म पुर्यायो । त्यो भीडले अपरान्हसम्ममा गोरखापत्र संस्थान र आरएनएसी शाही नेपाल वायुसेवा निगममा आगो लगाउन भ्याइसकेको रहेछ ।
नेविसंघहरूले कालोमोसो काण्डको आरोप यदाकदा हामीलाई पनि लगाउने गरेका छन् । जुलुसमा हाम्रा विद्यार्थी पनि सामेल थिए । त्यो स्वतःस्फूर्त कदम थियो, सगठित निर्र्णय थिएन ।
जेठ १० गते
राजाले जनमत संग्रह घोषणा गरे ।
अघिल्लो दिनको चर्को विरोधले राजा जनमत संग्रह घोषणा गर्न बाध्य भएका हुन् । हामीले आन्दोलन जारी राख्ने उद्घोष नगरेको भए राजाले जनमत संग्रह घोषणा गर्थे र ? गर्दैनथे ।
स्वतन्त्र विद्यार्थी युनियन लगायत अरु लटरपटर माग पूरा हुँदैमा हामी सबैले स्वागत गरेर सिन्दुरे जात्रा गरेको भए राजाले जनमत संग्रह दिँदैनथे । महाराजले राजगद्दी हल्लिएको नठानेसम्म किन पञ्चायती व्यवस्थालाई नै धरापमा पारेर जनमतसंग्रह घोषणा गर्थे । जनमतसंग्रह लोकतान्त्रिकरण आन्दोलनका हिसाबले महत्वपूर्ण उपलब्धि थियो ।
हामी परियो जनवादलाई लक्ष्य बनाएर आन्दोलनमा होमिएको समूह । मेरो उमेरमात्र केटाकेटी हैन, राजनीतिक दर्शनहरूबारे पनि त्यति ज्ञान नभएपनि प्रजातन्त्र प्रति पबित्र निष्ठा थियो,भावना थियो, बस् ।
हामीलाई संगठन विस्तार गर्ने हिसाबले त्यो आन्दोलनले ठूलो मलजल ग¥यो । विद्यार्थी फाँटमा हाम्रा समर्थक शुभेच्छुकहरूको संख्यामा उल्लेख्य वृद्धि भयो ।
बिपी कोइराला, मनमोहन अधिकारीहरू (९५ पूर्बशर्त सहित) ले जनमतसंग्रहको स्वागत गरिसक्नुभएको थियो । उहाँहरूका विद्यार्थी विङलाई चुनाव लागिसकेको थियो । जनमतसंग्रको भण्डाफोर पर्याप्त थिएन ।
समय घर्किदै जाँदा हामीले स्पष्ट पोजिसन लिनुपर्ने भएको थियो । छैटौंहरू पनि त्यस्तै अलमलमा थिए । त्यसबेला अहिले जस्तो सञ्चार सुविधा थिएन । पार्टीसँग सम्पर्क गरेर लाइन लिनु पर्यो । नेता भेट्टाउनु नै एउटा महाभारत
भुमिगत ढाँचाको संगठन । धेरैसँग चिनापर्ची पनि नहुने । चिठ्ठीपत्र वा सीमित सम्पर्क सूत्रको भर न हो ।
हामीले पाचौ समेलनमा धारणा प्रष्ट गर्न सक्यौ– पाँच पूर्व सर्त पुरा गरेमात्र जनमतसंग्रहको समर्थन ।
जनमतसंग्रहको परिणाममा राजाले खेल्न सक्छन् । त्यसको निष्पक्षताको ग्यारेन्टी होस् भन्ने खालका माग हाम्रा थिए । पाँच बुँदामा सूत्रबद्ध ।
वहुदलवादी शक्तिहरू जनमतसंग्रहमा जुटिरहेका छन् । उनीहरूको एकता भयो भने पञ्चायत व्यवस्था ढल्छ । राजा पनि कुनै हदसम्म खुम्चिन बाध्य हुन्छन् ।
‘पञ्चायत बाघ हो भने बहुदल ब्वाँसो हो,’ भऩने, नेताहरु‘ पनि थिए ।
हामी क्रान्तिकारी कुरा गरेर शर्तहरू त अघि सारिरहेका छौं, तर यसले कसलाई लाभ पुगिरहेको छ । तैपनि मेरो मनमा कुरा खेलिरहन्थ्यो । म आफैं चित्तबुझ्दो जवाफ पाउँदैनथे ।
कतै राजा र पंचायतलाई नै आडभरोस हुने नीति त लिइएको छैन, भयभीत पनि हुन्थे ।
जनमतसंग्रह निर्वाचनको मिति नजिकिँदै गएपछि हाम्रो े्रहुटहुटी झन् बढ्दै गइरहेको थियो । सम्पर्कमा रहेका नेतृत्वलाई हामिलेआफ्नो अभिमत प्रकट पनि गरिसकेका थियौ ।
पाच पुर्बशर्त पुरा भएका थिएनन्
बहिस्कार गर्ने की बहुदलको निलोमा भोट खसाल्ने ?
चैतमा हाम्रो विद्यार्थी संगठनले निर्णय लियो– पञ्चायतको बिरुधदमा मतदान गर्ने ।
हामी मात्र हैन, धेरै वामपन्थीहरू जनमतसंग्रहबारे प्रष्ट थिएनन् । वामपन्थीहरूलाई आफ्नो तागतको भर वा अन्दाज नभएकाले पनि द्विविधा भएको थियो कि १
जे भए पनि विभिन्न अड्को र बहानाबाजीविच व्याप्त अलमल उचित थिएन ।
कांग्रेस वा अरुहरुले आरोप लगाएजस्तो मालेले पहेँलो पंचायतमा भोट हालेको भने होइन ।
त्यसका लागि मेरै जिल्लाको उदाहारण काफी छ । म आफैँले झापा, बिराटनगर, धरान, धनकुटा र ताप्लेजुङमा आमसभामा बोलेको छु । र पञ्चायतको बिरुद्धमा मतदान गर्न जनतालाई आग्रह गरेको छु । देशभरी हाम्रो संगठनका बिद्यार्थी नेताहरुले यहिँ अपिल गरेका छन् । धरान र धनकुटामा म आफैँले मनमोहनसँगै आमसभामा बोलेको छु । ताप्लेजुङको मात्रै उदाहरण लिनेहो भने त्यहाँ
पंचायतले १७ हजार र वहुदलले १४ हजार मत पाएको थियो । जम्मा ३ हजारको अन्तर ।
मालेले पहेँलोमा भोट हालेको भए ताप्लेजुङमा कहाँबाट बहुदलको त्यत्रो भोट हुनु ?
(तत्कालिन माले निकट विद्यार्थी अध्यक्ष कार्कीसँग अमित ढकाल र किरण भण्डारीले गरेको कुराकानीमा आधारित)
तस्बिरः प्रकाश लामा