प्यारा देशवासीहरू,
प्रजातन्त्रका आदर्शलाई हामीले कहिलै छाड्ने छैनौं भन्ने हाम्रो धारणा सम्पूर्ण देशवासीहरूलाई बेला मौकामा स्पष्ट पार्दै आएको कुरा सर्वविदितै छ । सबै नेपालीहरू अटाउने एउटै घरको मूलढोका दलविहीन प्रजातान्त्रिक पञ्चायत प्रणाली भएकाले नेपालको स्वाधीनतालाई अखण्डरूपमा जोगाई नेपाली मात्रको सर्वांगीण विकासको काममा अघि सरैां भनी हामीले काम गरिआएका छौं ।
एकातिर लोक सम्मति नै पञ्चायत व्यवस्थाको आधार रहिआएको छ भने अर्कोतिर जनआकांक्षा अनुकूल देशको शासन व्यवस्था चलाउनु हाम्रो परम्परा र कर्तव्य रहिआएको छ ।
त्यसैले देशको विद्यमान परिस्थितिको परिपे्रक्ष्यमा हाम्रा देशवासीहरूले के कस्तो परिवर्तनको चाहना गरेका छन् ? सो कुरा प्रष्टरूपमा बुझी उचित कदम चाल्नको लागि हामीले नेपाल अधिराज्यभर बालीग मताधिकारको आधारमा सम्पूर्ण नेपालीको गोप्य जनमत लिने व्यवस्था गरिने कुराको घोषणा गरिबक्सेका छौं ।
यस्तो राष्ट्रिय जनमत लिँदा दुई मूलभुत प्रश्नहरू गरिनेछन् । पहिलो, के हालकै पञ्चायत व्यवस्था कायम राखी त्यसमा सामूहिक सुधार गर्दै जाने अथवा त्यसको बदला बहुदलीय शासन व्यवस्था स्थापना गर्ने ?
यस्तो जनमत लिँदा ढिलो गर्नु उपयुक्त नहुने भएकोले हामीले एकहप्ता भित्र एक राष्ट्रिय चुनाव आयोगको गठन गरिबक्सने छौं । र, उक्त दुई प्रश्नहरूका आधारमा उमेर पुगेका सबै योग्य नेपालीहरूले आफ्नो गोप्य मतदान दिन पाउने छन् । यस्तो जनमत लिँदा सम्पूर्ण रूपमा स्वतन्त्र निष्पक्ष र धाँधली हुन नसक्ने व्यवस्था मिलाउन सबैबाट सहयोग प्राप्त हुनेछ भन्ने हामीले आशा राखिबक्सेका छौं । हाम्रो देश हामी सबैलाई प्यारो छ । जसरी इतिहासको प्रत्येक घडीमा हामी एक अर्काका भरमा अघि बढेका छौं, त्यसैगरी हामी सबैले एक अर्काको सुखदुख बुझी हाम्रो स्वाधीन हिन्दू अधिराज्य नेपाल र हाम्रो आफ्नै विशिष्ट नेपाली सभ्यतालाई युगयुगान्तर सम्म दिगो राख्नु हामी सबैको साझा कर्तव्य हो ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल !
२०३६ जेठ १० गते
अडियो सैाजन्य- रेडियो नेपाल
भिडियो हेर्न तलको लिंकमा जानुहोला