२०३३ सालमा बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट फर्कनुभयो । म त्यतिबेला कीर्तिपुरमा पढ्थे । राजनीतिशास्त्र एमएको विद्यार्थी ।
बिपीले देशव्यापी दौडाहा थाल्ने हुनुभयो । मेलमिलापको नीति र समसामयिक राजनीतिक परिस्थितिबारे उहाँले सम्बोधन गर्ने कार्यक्रम बनेको थियो ।
बिपीको आगमनले २०१७ सालदेखि ओइलाएको कांग्रेसको संगठन पुनर्ताजगी भयो । राजनीतिक चेतना भएका आम मानिसको चासोको केन्द्र पनि बिपी नै बन्नुभयो ।
बिपी पोखरा जाने कार्यक्रम बन्यो । आमसभाको कार्यक्रम थियो । बिपीलाई सुन्न वरिपरिका जिल्लाबाट हज्जारौं मानिस पोखरा ओइरिएका थिए ।
हामी बसबाट पोखरा हिँड्यौ । प्रशासनले तनहुँबाट अघि जान दिएन । सय जनाभन्दा बढीलाई पक्राउ ग¥यो । बिपीकी भाञ्जी मुक्तासहित सय जनालाई एउटै कोठामा कोचेर राखियो ।
प्लेनमा पोखरा जानुभएका बिपीलाई पनि ओर्लन दिइएनछ । अञ्चलाधीश, सिडिओले एयरपोर्टको रनवेमा सयौं मानिसलाई सुताए । त्यही निहुँमा प्लेन ल्याण्ड गर्न दिइएन ।
केही सातापछि अर्को कार्यक्रम विराटनगरमा थियो । पञ्चायतले पोखरा फर्मुला फेरि दोहो¥यायो । रनवेमा भरौटेहरूलाई सुताइयो । बिपी जानुभएको हवाइजहाज बसाल्न दिइएन ।
बिपीको आगमन र सक्रियताले पंचायतविरोधी जनमत बलियो हुँदै गएको थियो । विद्यार्थी, मजदुर, शिक्षक, किसान सबै आक्रोशित ।
...
पाकिस्तानमा सैनिक कू भयो । राष्ट्रपति जुल्फीकर अली भुट्टोलाई फाँसी दिइयो, २०३५ चैत २१ । त्यो सय प्रतिशत अप्रजातान्त्रिक थियो । त्यो सैनिक कदमको विरोधमा उत्रिने अठोट मैले गरे ।
।
मैले शरणविक्रम मल्ल (नेकपा माक्र्सवादी निकट) र कैलाश कार्की (फेडेरसन– सोभियत संघ समर्थित नेकपा मानन्धर निकट) सँग सल्लाह गरे ।
‘पंचायतबिरुद्ध आक्रमण गर्ने मौका यही हो,’ हामीले कीर्तिपुरमा बसेर निक्र्यौल गर्यौं ।
हामी ३५ सूत्रीय माग तय गर्यौं । पर्चा, पम्प्लेट र कोणसभाहरू गर्यैां ।
भुट्टोको फाँसीविरुद्व ज्ञापन दिन त्रिचन्द्र क्याम्पसबाट जुलुस लिएर पाकिस्तानी दूतावास जाने भयौं । सरकारले हाम्रा पछाडि दर्जनौं गुप्तचर खटाएको थियो । उनीहरूले आफ्ना मालिकलाई हाम्रा कार्यक्रमको सूचना बुझाइहाल्थे । सरकार सबै घटनाबारे जानकार थियो ।
जुलुस लाने दिन बिहानैदेखि सरकारले व्यापक संख्यामा पुलिस खटाएको थियो ।
...
पुलिससँग पौंठांजोरी खेल्न म अभ्यस्त भइसकेको थिए । भिडन्तले मलाई रोमाञ्चित बनाउँथ्यो ।
आइए पढ्दा नै जैसीदेवल काण्डमा तीन वर्ष जेल परिसकेको थिएँ, २०२९ सालदेखि २०३२ सम्म । त्यसअघि २०२७ सालमा नै मेरो पुलिससँग घम्साघम्सी परिसकेको थियो । नरबहादुर कार्की, शिव कंगालको योजनाअनुसार म महेन्द्ररत्न काण्डमा सामेल थिए ।
यी काण्डमा मलाई डिबी लामाले केरकार गरेका थिए । पछि आइजिपी नै भए । ‘मैले आफ्नै बाउलाई पक्रेर डवल प्रमोसन पाएको थिए,’ उनी मलाई फकाउँथे, ‘तिमी पंचायतलाई सहयोग गर, जे माग्यो त्यही पाउँछौ ।’
प्रहरीका पटकपटकको धम्की र प्रलोभलनले मलाई छुँदैनथ्यो । तर, एउटा फाइदा भएको थियो– प्रजातान्त्रिक आन्दोलनको सिपाहीका रूपमा म खारिँदै थिए ।
...
मैले नै जुलुसको नेतृत्व गरेँ ।
त्रिचन्द्रको ढोकाबाट उत्तर मोडिएँ । हामी दरबारतिर हानियौं । दरबारको दक्षिणढोकामा सयौं दंगा प्रहरी चेन बनाएर उभिएका थिए ।
मैले पछाडि फर्केर हेरेँ । पुरै दरबारमार्ग जुलुसले भरिएको छ । मैले चिताएभन्दा धेरै सहभागी थिए । सायद प्रशासनले पनि त्यत्रो ठूलो जुलुस अपेक्षा गरेको थिएन ।
हामी केशरमहलतिर मोडियौं । भीड झनै बढ्दै गइरहेको छ ।
केशरमहलबाट उत्तर लाग्यौं । दरबारको पश्चिम गेटमा अघिभन्दा धेरै दंगा खटाइएको छ । दरबारको पर्खालबाहिर सुरक्षाकर्मी घेरा हालेर बसेका थिए । हामीले तय गरेको रुट लैनचौर हुँदै लाजिम्पाट पुग्नु थियो । पाकिस्तानी दूतावासमा ज्ञापन बुझाउनु थियो ।
...
लैनचौरमा पुलिस बाटो छेकेर बसेको थियो । त्यहीं नाराबाजी गरेर बस्ने कि पुलिसको अवरोध तोड्ने ?
जसले हिम्मत गर्यो त्यही नेता बन्ने न हो ।
कम्युनिस्ट विद्यार्र्थीहरू अलि पछाडि थिए कि कता थिए कुन्नि । मैले पुलिसको बार छिचोलेर अघि जाने निधो गरेँ । मसँग शिव भूर्तेल भन्ने साथी सँगै थिए ।
हामी लैनचौरको दोबाटोमा पुग्नेबित्तिकै पुलिसले लाठीचार्ज गर्न सुरु गर्यो । पञ्चायतले आन्दोलनलाई बर्बर दमन गर्ने तयारी गरिसकेको रहेछ, हाम्रो केही लागेन ।
म पक्राउ परेँ । तीन विद्यार्थी संगठनले आन्दोलन स्टेरिङ कमिटी बनाएको थियो । त्यसको संयोजक मै थिएँ । त्यसैले पनि मलाई निशाना बनाउनु अस्वभाविक थिएन ।
मलाई सेन्ट्रल जेलमा थुने ।
साथीहरू मेरो सम्पर्कमा थिए । हामी सम्पर्क सुत्रमार्फत् पनि सूचना आदानप्रदान गथ्र्यौं ।
...
मेरो पक्राउले दन्किरहेको आगोमा राम्रै घिउ थपेको थियो । आवरणमा विद्यार्थी आन्दोलन भने पनि केही दिनमा नै यो पञ्चायतबिरुद्ध लक्षित भयो । सरकारले नियन्त्रण गर्न नसक्ने भयो । हिजोभन्दा आज, आजभन्दा भोलि सडकमा भिड बढिरहेको थियो ।
काठमाडौं उपत्यकामा जरा हालेको आन्दोलन जिल्ला जिल्लामा पनि फैलन थाल्यो ।
सरकारले घुँडा टेक्यो । मलाई छाड्यो । आन्दोलनको एउटा प्रमुख माग मेरो निसर्त रिहाइ पनि थियो ।
सरकारले उच्चस्तरीय आयोग गठन गर्यो, शाही आयोग ।
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश घनेन्द्रबहादुर सिंह संयोजक, सुरेन्द्रबहादर बस्नेतलगायत सदस्य रहेको आयोग ।
आन्दोलनकारीको वार्ता समितिमा स्वभाविक रुपमा म नै संयोजक भएँ । हामी युवक थियौं, तेज थियौं । एउटा आदर्शप्रति पुरै समर्पित पनि । ज्यानको बाजी थापेर मुलुक परिवर्तन गर्न कस्सिएका केटाहरू । उमेर केटौले नै थियो– २५, २६, २७ ।
वार्ता स्थल राष्ट्रिय सभा गृहमा तोकिएको थियो ।
उसै त हाम्रो जोस । त्यहाँमाथि सरकारले त्यती सिनियर बुढाहरूलाई हामीसँग वार्तामा लगाइदियो । हामी विजेताको रुपमा प्रस्तुत हुन्थ्यौं । रौं पनि सम्झौता गर्न तयार थिएनौं । उमेरले पनि होला, कसैलाई मान्छे नै गन्दैनथ्यौं ।
हाम्रा चर्का कुरा सुनेर शाही आयोगका बुढाहरू चकित पर्थे । हामीले वार्ता सँगसँगै आन्दोलन पनि चलाइरहेकै थियौं । स्थगित गरेका थिएनौं ।
आन्दोलनको ज्वारभाटालाई वार्ताको निहुँमा सेलाइदिने दाउ पनि सरकारले गरेको हुन सक्छ । एकपटक तातेको आन्दोलन थचारियो भने उठ्न दशौं वर्ष लाग्छ । आन्दोलन रन्केको बेला हान्यो भने सजिलै माग पूरा गर्न सकिन्छ ।
यस्ता विश्लेषणका आधारमा हाम्रो आन्दोलन र वार्ता समानान्तर थियो ।
‘यो आन्दोलनलाई वार्ताको माध्यमबाट चाँडो सल्टाओ,’ बिपीले आदेश दिनुभयो । त्रय नेतामध्ये गणेशमान र किसुनजीले आन्दोलन अझ सशक्त बनाउन भनिरहनुभएको छ । पार्टी सभापति किसुनजी नै हुनुहुन्छ ।
‘कसको आदेश मान्ने ?’ मैले किसुनजीलाई अनुरोध गरे, ‘आन्दोलनबारे नेताहरू एक हुनुप¥यो ।’
...
त्रय नेता छलफलमा बसेछन् ।
‘केटाहरू धर्मराउने पो हुन् कि ?’ बिपीले शंका व्यक्त गर्नुभएछ, ‘बरु अहिलेलाई आन्दोलन रोकिदिऊँ ।’
‘त्यस्तो आत्तिनुपर्ने छैन,’ गणेशमानले भन्नुभएछ ।
‘आन्दोलन उपयोगी हुन सक्छ,’ बिपी डराउनभएछ, ‘सम्भावित षडयन्त्रबाट जोगिन पनि आन्दोलन स्थगन गर्न जरुरी छ ।’
त्यो छलफलमा गणेशमान, किसुनजी एकातिर, बिपी अर्कोतिर जस्तो भएछ ।
पार्टी सभापति किसुनजी हुनुहुन्थ्यो । उहाँले द्विविधाको अन्त्य गरिदिनुभयो, ‘यी केटाहरूको आँत मैले बुझेको छु, यिनले तलमाथि गर्दैनन् ।’
त्यसपछि बिपी पनि सहमत हुनुभएछ ।
किसुनजीले मलाई भन्नुभयो, ‘बलबहादुर गो अहेड ।’
...
सडक आन्दोलनमा विद्यार्थीको संख्या धेरै हुन्थ्यो । नाराबाजी गर्ने, बुरुकबुरुक उफ्रिने, पुलिससँग भिड्ने हामी थियौं । नेपथ्यमा कांग्रेस थियो । कांग्रेस नेतृत्वमा बिपी, गणेशमान र किसुनजी ।
किसुनजीले किन मेरो त्यत्रो भर गर्नुभयो त ?
जैसीदेवल काण्डमा जेल पर्दा म तीन वर्षसम्म किसुनजीसँग बस्न पाएको थिएँ । म आफूलाई उहाँकै स्कुलमा हुर्केको राजनीतिक विद्यार्थी ठान्छु । उहाँकै प्रोत्साहनले मैले जेलबाट नै बिएसम्म पास गरेँ । मेरो गुरु पनि हो किसुनजी ।
...
पञ्चायतविरुद्वको सबैभन्दा ठूलो शक्ति कांग्रेस एक चित्त भइसकेपछि आन्दोलन झन् चर्कंदै गयो । पंचायत र राजा नै झुक्ने लगभग निश्चित जस्तै भइसकेको थियो ।
अनेरास्वविूय पाँचौ र क्रान्तिकारी मिसिन खोज्यो । उनीहरू तत्कालिन माले र नेकपा चौथो महाधिवेशन (मसाल) निकट थिए ।
‘आन्दोलनको सुरुदेखि कयौं दिनसम्म डिलमा बसेर रमिता हेर्ने ?’ मैले जवाफ दिएँ, ‘जस लिने बेलामा अग्रपंक्तिमा उभिन खोज्ने अवसरवादीहरूलाई ठाउँ छैन ।’
उनीहरूको चित्त दुख्यो । दुईथरि मिलेर छिटफुट कार्यक्रम गरे । हाम्रो खिलाफमा पनि उनीहरू संगठन गरिरहेका थिए ।
कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुनुहुन्थ्यो । सरकारले हाम्रा सबै माग पुरा गरिदिने भयो । स्ववियू निर्वाचन लगायत सबै । ११० प्रतिशत माग पुरा भयो ।
विद्यार्थीको नामबाट भए पनि आन्दोलन पुरापुर राजनीतिक उद्देश्यले भएको थियो । पंचायती सरकारले त्यसको सम्बोधन गर्छ भन्ने हामीले ठानेका थिएनौं ।
वार्ता टोलीले हाम्रो शक्ति र सामथ्र्यको अनुमान लगाइसकेको थियो । हाम्रा माग सम्बोधन नगरे पंचायती व्यवस्था मात्र हैन राजतन्त्र पनि तारो बन्ने निष्कर्ष दरबारले निकालेको रहेछ । त्यसैले सरकारले हत्तपत्त हामीसँग सम्झौता गरिहाल्यो ।
...
नेविसंघको यो उपलब्धिको कपिराइट सुरक्षित गर्ने जिम्मा मेरै थियो ।
क्याम्पसहरूमा पठनपाठन सुचारु गराउनु थियो । म क्याम्पस क्याम्पसमा भाषण गर्दै उपलब्धिको जस लिने दौडाहामा थिए ।
त्यही सिलसिलामा कीर्तिपुरको एउटा सभालाई संबोधन गर्दै थिएँ । मास ठूलो थियो । विद्यार्थी मात्र थिएनन्, कीर्तिपुरवासी पनि ओइरिएका थिए । भिडमा नियालिरहँदा पनि माले, मसाल र मण्डले विद्यार्थीलाई देखिनँ ।
दक्षिणतिरबाट ३/४ वटा ठूला बस हाम्रो कार्यक्रमस्थलतिर हुँइकिएर आयो । लाठी, खुकुरी, छुरा भिरेका केटाहरू ओर्लिए । हुल म भएतिरै दौडँदै आयो । विद्यार्थीहरूलाई अन्धाधुन्द आक्रमण गर्न थाल्यो ।
केही अनिष्ट हुँदैछ ! मैले चाल पाइहाले ।
...
स्रोता तितरबितर भए । उनीहरूले मलाई र शरणविक्रमलाई पक्रिए । कुटपिट गरेनन् । घेरा हालेर बसमा हाले । कैलाश भाग्न भ्याइसकेछन् । फेडेरसन आवद्व कम्युनिष्ट पार्टीमा केशरजंग रायमझीको ग्रुप पनि थियो ।
कतैबाट सुँइको पाएर सुँइकुच्चा ठोके होला ?
कीर्तिपुरबाट हुँइकिएको बस ठमेल पुगेर रोकियो । हामीलाई अस्कल क्याम्पसमा ओराले ।
मलाई पालेघरको छतमा चढाए । मेरो सामुन्ने टाउकै टाउको छ ।
अरिङ्गालको गोलो जस्तै हज्जारौं टाउका ।
शरणविक्रमलाई पनि त्यही ठाउँमा चढाए ।
हाम्रा साथीहरू पनि जम्मा गरिएको रहेछ । सभा भनेर डाँकेको ।
‘आन्दोलनकारी र सरकारबीचको सहमति धोका हो,’ उनीहरूले हामीलाई भाषणको हरफ घोकाए, ‘हामी त्यो सहमति मान्दैनौं ।’
हाम्रा सामुन्ने कालो मोसो, जुत्ताका चाङ् र थोत्रा बोरा राखेका थिए तर्साउन । शरणविक्रम अलिकति हच्किए ।
म अघि सरेर भाषण दिन थालिहालेँ– हामीले जे गरेका छौं, ठीक गरेका छौं । विद्यार्थी हकहित विपरित गरेका छैनौं । हाम्रो जित भएकै हो ।
त्यो अराजक भिड छिचोल्दै राजेन्द्र वाग्ले र मनबहादुर केसी (हाल गंगालाल अस्पतालका प्रमुख) मलाई ढाडस दिन आए ।
हामीलाई अपहरण गरेर लानेहरूको पूर्वतयारी नै रहेछ । ‘धोखेबाज’ भनेर ममाथि जाइलागिहाले । हाम्राविरुद्ध नाराबाजी सुरु भयो ।
हाम्रो अनुहारभरि कालो मोसो दल्दिए । थोत्रा जुत्ताको माला लगाइदिए । बोरा ओडाइदिए । त्यतिञ्जेलमा क्याम्पस बाहिर ठेला ठिक्क पारिसकेका रहेछन् । सिमेन्ट बोक्ने तीनचक्के ठेला ।
हामीलाई ठेलामा हाले । सोह्रखुट्टेतिर लागे । सरस्वती क्याम्पस यतैको चोकबाट ठमेलतिर छिराए । धोखेबाज र सम्झौतावादी भन्दै हाम्राबिरुद्ध नाराबाजी भइरहेकै थियो ।
घरघरबाट रमित हेर्ने । जुलुस पछ्याउनेको हुल थपिँदै गयो । त्यत्रो जुलुस मैले अघिपछि विरलै देखेको छु ।
ठेला इन्द्रचोक हुँदै पिपलबोट पुग्यो । हामी त्यसमा सवार छँदै छौं ।
पिपलबोटमा एकजना साथी मलाई झम्टिएर आए । जुत्ताको माला थुतेर हुर्याइदिए । ती महसुर थिए, सप्तरीका साथी शीवमधुकर पोखरेल । कालोमोसो र बोराको लुगा त छँदै छ ।
कीर्तिपुर, अस्कल, ठमेल, इन्द्रचोक, पिपलबोटसम्म यत्रो ताण्डव हुँदा पनि प्रहरी प्रशासनले कुनै चासो देखाएको छैन । कानमा तेल र आँखामा पट्टी बाँधेर मस्त ।
न्यूरोड गेटनेरको दोबाटोमा भने पुलिस लाम लागेर बसेका थिए । गोरखापत्र र आरएनएसीमा आगो लागिसकेछ । त्यसैले हामीलाई तारो बनाइहेका आन्दोलनकारीलाई रोक्न पुलिस परिचालन भएको रहेछ ।
न्यूरोडको आन्दोलनमा मैले चिनेका एकजना मानिस पनि थिए– हेटौंडाका बद्री खतिवडा ।
१२ बजे कीर्तिपुरको यो अराजक भीडको कब्जामा परेका हामीलाई ५ बजे प्रहरीले नियन्त्रणमा लियो । पुलिसले रेस्क्यु गरेर ल्यायो भनांै न ।
रत्नपार्कमा थियो अञ्चलाधीश कार्यालय । त्यहाँ लगेर २÷३ घन्टामा छाडियो । शरण र म नै मेरो डेरामा गएर सुत्यौं ।
...
भोलिपल्ट हामीले चिताउँदै नचिताएको फल पो पायौं । पंचहरूलाई समेत जिल पारेर राजा वीरेन्द्रले जनमतसंग्रह घोषणा गरिदिए– सुधारिएको पंचायत कि बहुदलीय प्रजातन्त्र । जनमत संग्रह ।
बिपीले तत्कालै स्वागत गर्नुभयो । राजा र उहाँको छलफल भएर घोषणा भएको थियो वा राजाको एकतर्फी चालबाजी थाहा पाउने हैसियतमा म थिइनँ ।
बिपी, गणेशमान, किसुनजी जस्ता घाघडान नेता भएको पार्टीमा माथिसम्मको सूचना थाहा पाउने सामथ्र्य मेरो थिएन ।
बिपीको मेलमिलाप नीतिअनुसार पनि जनमत संग्रह मेल खाने प्रक्रिया जस्तो देखियो । त्यसैले पनि बिपीले सबभन्दा पहिला स्विकार्नुभएको थियो ।
जनमत संग्रहको चुनावले देशभरि राजनीतिक गतिविधि तीव्र हुने । कांग्रेसको संगठन विस्तार हुने तथ्यसँग पनि बिपी जानकार हुनुहुन्थ्यो ।
‘दरबारभित्र कम्युनिस्टहरू छिरेका छन्, सजिलै मेलमिलाप सफल हुन दिँदैनन्,’ बिपी भन्नुहुन्थ्यो, ‘राजा र कम्युनिष्टको गठबन्धन तोड्न पनि जनमतसंग्रह उपयोग गर्नुपर्छ ।’
...
‘काठमाडौंका कांग्रेसी र नेविसंघले तपाईंलाई कालो मोसो लगाए भन्ने आरोप छ, ल भन्नोस् के भा’को ?’ किसुनजीले मलाई सोध्नुभयो ।
‘होइन,’ मैले जवाफ दिएँ ।
कोठामा नेता त्रय र म छौं ।
तारिणीप्रसाद कोइरालाको चाबहिलको घरमा । बिपी त्यहीं बस्नुहुन्थ्यो ।
‘के भएको त ?’ किसुनजीले अर्को प्रश्न गर्नुभयो ।
बिपी र गणेशमान सुनिमात्ररहनुभएको छ ।
माले, मसाले र मण्डलेहरूको कर्तुत हो त्यो, मैले जवाफ दिएँ ।
किन ? किसुनजीले सोध्नुभयो ।
‘माले र मसाले आन्दोलनमा मिसिन खोजेका थिए, हामीले दिएनौं,’ मैले प्रष्ट जवाफ दिएँ, ‘त्यही भएर हामीभन्दा क्रान्तिकारी देखिन यो हर्कत गरेका हुन् ।’
मण्डलेहरूले पनि उनीहरूकै साथ दिएका थिए ।
मलाई किन किसुनजीले डाकेर यो सोध्नुभएको रहेछ भन्ने मैले पछिमात्र थाहा पाएँ ।
बिपीकहाँ कसैले खबर पुर्याएको रहेछ, गणेशमानका मानिसहरूले बलबहादुरलाई कालो मोसो दलेका हुन् । भीमसेनदास प्रधान, बल्लभ श्रेष्ठ, प्रदीपमान सिंह नै ठेला घँचेटिरहेका थिए ।
उनीहरू आन्दोलनको स्टेरिङ कमिटीमा बस्न पाइएन भनेर असन्तुष्ट भएको नेताहरूलाई थाहा थियो ।
यो खबर सुनेपछि बिपी रिसले चुर हुनुभएछ । गणेशमानलाई भन्नुभएछ, ‘बलबहादुरलाई हैन, यो मेरो मुखमा मोसो दलिएको हो ।’
‘अरुले कुटपिट गर्लान् भनेर उनीहरू बलबहादुरलाई बचाउन गएका हुन्,’ गणेशमानले भन्नुभएछ ।
तैपनि उहाँहरूबीच चर्काचर्की साम्य भएनछ ।
किसुनजीले उपाय निकाल्नु भएछ, ‘बलबहादुरलाई नै सोधौं न त ।’
मलाई डाकियो ।
मैले जे भएको त्यही कुरा राखिदिए । कसैले गलत खबर बिपीहरुलाई दिएको रहेछ ।
मेरो उत्तरले बिपीले चित्त बुझाउनुभयो ।
...
२०३६ सालले मलाई हिरो बनाएको थियो । नेतात्रयबाहेक अरुलाई म खासै गन्दैनथे पनि । दोस्रो पुस्ताका नेता भनिने विपीन कोइराला, शिवबहादुर वस्नेत, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, चिरञ्जिवी वाग्लेहरू भन्दा मेरै जगजगी थियो ।
पार्टीले मलाई नेविसंघको कार्यबाहक सभापति वनाइदियो । तीनै जना नेताले मलाई नै प्रोजेक्सन गर्न थाल्नुभयो । वहुदलको पक्षमा भोट माग्न म बिपीसँग दर्जनौं सभाहरूमा पुगे ।
२०३७ वैशाख लागेपछि भने म आफ्नै जिल्ला सोलुखुम्वु गए । जिल्लामा पनि बहुदलको पक्षमा लहर नै आयो । तर परिणाम चित्त बुझ्दो आएन ।
पुलिस, प्रशासन, सेनाको शक्ति मात्र हैन पंचायतले पैसाको खोलो बगायो । त्यतिले पनि नपुगेर सरकारले ब्यालेट बक्स फुटाएर मतपत्र नै परिवर्तन गरेको सूचना हामीले पायौं ।
हुन त जनमत संग्रह घोषणा भएपछि यही घोटाला गर्ने बचनवद्वतासाथ सूर्यबहादुर थापा प्रधानमन्त्री भएका थिए । बहुदलको २० र निर्दलको पक्षमा २४ लाख मत खसेको घोषणा निर्वाचन आयोगले ग¥यो ।
...
बिपीले भने अनुसार मेलमिलापको ट्र्याकबाट मात्र हिँडेको भए हाम्रो आन्दोलन कहाँ पुग्थ्यो ?
मुलुकमा २०४६ र २०६२/६३ को आन्दोलन हुन्थ्यो कि हुन्थेन ?
यत्रो परिवर्तन आउँथ्यो कि आउँदैनथ्यो ?
नेपालमा गणतन्त्रको जग २०३६ सालकै आन्दोलनले खनेको हो ।
(केसीसँग अमित ढकाल र किरण भण्डारीले गरेको कुराकानी ।)