बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसाब नली भएको पत्थरीया(स्टोन) को अप्रेशन गर्दा चिकित्सकले लापरवाही गरेको भन्दै पीडितका परिवारजनले छानबीन गर्न माग गरेको आजको नागरिकमा खबर छ ।
हाल सघन उपचार कक्षमा उपचाररत धरान ११ सृर्जना मार्गकी ३० बर्षीय मनमाया तामाङको परिवारजनले सोमबार प्रतिष्ठानको अस्पताल निर्देशकसमक्ष एक निवदेन दिदै छानबीनको माग गरेको हो । परिवारजनले विरामीको उपचार खर्च मिनाहा गर्न पनि प्रतिष्ठानसमक्ष माग गरेको हो । एक साताअघि अप्रेशन गरिएकी मनमायाको अवस्था चिन्ताजनक छ । उपचारमा लापरवाही गरेको भन्दै विरामीका आफन्तजनहरुले आइतबार सर्जरी विभागमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । उनीहरुले अप्रेशनमा संलग्न सर्जरी विभागका प्रमुख डा. सि.एस. अग्रवाललाई कारबाहीको माग पनि गरेका छन् । साथै, उनीहरुले विरामीको स्वास्थ्य सुधार नभएसम्म डाक्टर अग्रवाललाई उपचारमा संलग्न नगराउन पनि माग गरेका छन् ।
गत साता वैशाख २२ गते अप्रेशनको क्रममा चिकित्सकहरुले पिसाब नली हुदै पिसाब थैलीमा लगाइनुपर्ने पाइप गलत ठाउँमा राखिएपछि विरामीलाई थप अनावश्यक शल्यक्रिया गर्नुपरेको थियो । पिसाब थैलीमा पुर्याइनुपर्ने पाइपले बीचमा छेडिएपछि पिसाब पेटभित्रै चुहिएर विरामीको पेट फुलेपछि थप २ पटक अप्रेशन गर्नुपरेको थियो । एकै दिन २ पटक अप्रेशन गरिएकी मनमायालाई शनिबार बिहान इक्जेक्सन लगाएपछि एक्कासी बेहोस भएकी थिइन् । त्यसलगत्तै उनलाई आइसियु(सघन उपचार कक्ष) पुर्याइएपनि हालसम्म होस खुल्न सकेको छैन । ‘पाइप पिसाब नलीबाट थैलीसम्म पुर्याउनुपर्नेमा थैली माथि पुगेछ, त्यसलाई ठिक गर्न एकै दिन ठुलो र सानो अप्रेशन नै गर्नुपर्यो’–श्रमिान् शुक्रले भने–‘मान्छेको ज्यान जोखिम हुने गरि यस्तो लापरवाही किन गरियो ?’
पीडित पक्षले आइतबार सर्जरी विभागमा ताला लगाएर चाबी प्रहरीमा बुझाएका छन् भने विरामीको ज्यान केही भएमा डाक्टर अग्रवाल जिम्मेवार हुने भन्दै प्रहरीमा निवेदन दिएका छन् ।