काठमाडौं उपत्यकामै पाठ्यपुस्तकको व्यापक अभाव पाइएको छ। जनक शिक्षा सामग्री केन्द्रले रातदिन पाठ्यपुस्तक छपाइ गरेको दाबी गरे तापनि राजधानीवरपरका अधिकांस सरकारी विद्यालयमा पाठ्यपुस्ततको अभाव देखिएको आजको नेपालसमाचारपत्रमा खबर छ । पाठ्यपुस्तक नपाएपछि विद्यार्थीले रित्तो हात पढ्न बाध्य हुनुपरेको छ। राजधानी आसपासका अधिकांश विद्यालयमा पाठ्यपुस्तक अभाव रहेको सरकारी विद्यालयका प्रधानाध्यापकहरूले जनाएका छन्।
सरकारले विद्यालयमा आउने विद्यार्थीलाई पाठयपुस्तक उपलब्ध गराउन निर्देशन दिए पनि जनक शिक्षाले पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको शिवपुरी उमाविका प्रअ दिवाकर दुदर्शीले बताए । उनले १० कक्षाको ऐच्छिक विषयको पुस्तक उपलब्ध हुन नसकेको बताउँदै अन्य कक्षाको पनि अधिकांस पुस्तकको हाहाकार भएको बताए । सरकारकै लाचारीपनका कारणले गर्दा समस्या आएको आरोप लगाउँदै उनले सधैं पुस्तकको अभावले गर्दा विद्यालयलाई समेत समस्या परेको बताए ।
पशुपति मित्र माविका प्रअ विष्णु अधिकारीले सरकारले उपत्यकामै पाठ्यपुस्तक सुलभ गराउन नसकेको बताउँदै भने– ‘यस्तो अवस्थामा कसरी अन्य स्थानमा पुस्तक पुग्न सक्छरु’ सो विद्यालयमा हालसम्म कक्षा ९ र १० को ऐच्छिक विषयको पाठ्यपुस्तक पुगेको छैन भने १० कक्षाको अनिवार्य नेपाली पुस्तक अभाव रहेको छ। जनक शिक्षा सामग्री केन्द्रले उत्पादन गर्ने पुस्तकको अभाव भएपछि राजधानीका अधिकांस विद्यालय निजी प्रकाशनगृहको पाठ्यपुस्तक किन्न बाध्य भएका छन्। काठमाडौंका जिल्ला शिक्षा अधिकारी वैकुण्ठ अर्यालले अधिकांस कक्षाको पाठ्यपुस्तक अभाव भएको बताउँदै विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाएपछि भर्ना अभियानमा समेत समस्या देखिएको बताए ।