नेपाल प्रहरीको इतिहासमा सबैभन्दा विवाद र चर्चामा आएका पूर्व आइजिपी एवं पूर्व मन्त्री डिबी (दिलबहादुर) लामाको ८४ वर्षको उमेरमा निधन भएको छ ।
हिजो (मंगलवार) राति १०.१५ बजे नुवाकोट गेर्खुको पुर्ख्यौली घरमा देहत्याग गरेका लामाको पार्थिव शरिर काठमाडौं बसुन्धरास्थित निवास ल्याइएको छ।
ब्रिटिस आर्मी, राणा शासनविरुद्वको सशस्त्र युद्व छेडेको मुक्ति सेना हुँदै नेपाल प्रहरीमा आएका लामा २०३९ सालमा आइजिपी भएका थिए ।
आइजिपी हुँदाहँदै २०४३ सालमा सुन तस्करी लगायत भ्रष्टाचार मुद्दा खेपेका लामाले पछि अदालतबाट सफाइ पाएका थिए।
भूपू प्रहरी संघका अध्यक्ष लामा पचासको दशकदेखि कांग्रेस राजनीतिमा थिए । २०५६ सालमा कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचित लामा २०५८ सालमा शेरबहादुर देउवा सरकारमा सामान्यप्रशासन सहायक मन्त्री भएका थिए।
लामाको जेठा छोरा विदेशमा रहेकाले भोलि (बिहिवार) मात्र अन्त्येष्टि गरिने नातेदारले बताएका छन् । बसुन्धरास्थित लामा निवासमा बुधवार लामा परम्परा अनुसार पूजापाठ भइरहेको छ ।