विश्वको सर्वोच्च शिखर सगरमाथामा मानब पाइला टेकेको ६० बर्ष पुरा भएको अवसरमा आज सगरमाथाको खुम्जुङमा हिरक महोत्सव सम्पन्न भएको छ।
खुम्जुङको हिलारी पार्कमा आइतबार भएको एक कार्यक्रमका सहभागिहरुले पर्यटनको दिगो विकास र सगरमाथाको वाताबरणीय सरसफाईमा जोड दिएका छन्।
आज भन्दा ठिक ६० बर्ष अगाडि सन् १९५३ को मे २९ मा नेपाली नागरिक तेन्जिङनोर्गे शेर्पा र न्युजिल्याण्डका नागरिक सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेको सम्झनामा हिरक महोत्सव मनाइएको हो।
कार्यक्रममा पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिब शुसिल घिमिरेले पर्यटन उद्योगलाई दिगोपन दिन सरकार प्रतिबद्ध रहेको बताए। उनले सगरमाथा र लुम्विनि नेपालको गहना भएको भन्दै यी दुवैको संरक्षणमा सरकारले ठोस निति बनाएर नै अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरे।
कार्यक्रममा सबै भन्दा धेरै पटक (२१ पटकसम्म) सगरमाथा आरोहण गर्ने आरोही आप्पा शेर्पाले विगतको तुलनामा हिमाली क्षेत्रको बातावरणमा प्रतिकुल असर बढ्दै गएको भन्दै पर्याबरणीय सन्तुलनका लागि सबै एकजुट भएर लागि पर्नु पर्ने धारणा राखेका थिए।
त्यस्तै कार्यक्रममा पर्यटन मन्त्रालयका पुर्व सचिब तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिब डा.गणेशराज जोशी, नेपाल पर्वतारोहण संघका महासचिव दिवसविक्रम शाह, ट्रेकिङ एजेन्सि एसोसियसन अफ नेपाल टानका अध्यक्ष महेन्द्रसिंह थापाले पर्यटन क्षेत्रको ब्यवसायिक समस्याका बारेमा सरकारलाई ध्यानाकर्षण गराएको थिए। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले पनि हिमालमा आरोहीहरुको संख्या बढ्दै गएको भन्दै त्यसबाट पर्ने नकारात्मक असर प्रति सबै सजग हुनुपर्ने विचार ब्यक्त गरेका थिए ।
सो अवसरमा हिलारी पार्कका बृक्षारोपण गरिएको थियो। नेपालका लागि न्युजील्याण्डका राजदुत लगायत विभिन्न कुटनितिज्ञहरुको उपस्थिति थियो। सन् १९५३ को मे २९ मा न्युजिल्याण्डका नागरिक सर एडमण्ड हिलारी र नेपाली नागरिक तेन्जिङनोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेकेा सम्झनामा मे २६ देखि मे २९ सम्म सरकारले हिरक जयन्ति मनाउने निर्णय गरे अनुसार कार्यक्रम आयोजना गरिएको हो।