पृथ्वीराजमार्गअन्तर्गत चितवनको दारेचोक–३ घोप्टेभिरमा गए राति पेट्रोल ट्यांकर पल्टिएर आगलागी हुँदा जलेर मृत्यु भएका भनिएकामध्येे एकको शुक्रबार बेलुका प्रहरीले जीवितै उद्धार गरेको छ।
पेट्रोल ट्यांकरमा जलेर मृत्यु भयो भनिएका मकवानपुर जिल्ला निबुवाटार–६ का सुरेश लामालाई प्रहरीले स्थानीयवासीको सहयोगमा शुक्रबार बेलुका जलेको पेट्रोल ट्यांकरभन्दा ५० मिटर टाढा गम्भीर घाइते अवस्थामा उद्धार गरेको हो। प्रहरीका अनुसार अम्लेखगन्जबाट काठमाडौँका लागि २० हजार लिटर पेट्रोल बोकेर गुडिरहेको ना४ख ३२६४ नंको ट्यांकर सडकबाट करिब दुई सय ५० मिटर तल त्रिशूली किनारमा पल्टिएको थियो। ट्यांकर पल्टिएपछि जलेको अवस्थामा चालक तथा ट्यांकरधनी हेटौंडा– ५ बसामाडीका गोपालसिंह लामाको अर्ध जलेको अवस्थामा प्रहरीले लास फेला पारेको थियो।
सो ट्यांकरमा दुई सहयोगी निवुवाटार–६ मकवापुरका लामा र प्रकाश विष्ट रहेको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताए।
घटनास्थलमा ट्यांकरको जल्न बाँकी केही भाग नरहेकाले दुवै शव जलेर नष्ट भएको गुरुङले जानकारी दिए पनि गाडीबाट उछिट्टिएर रहेको अवस्थामा एक जनालाई घाइते अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ। रासस