जिन्दगी र किताबमा एउटा कुरा समान छ — दुवै पढ्न सकिन्छ।
नयाँ पुस्ता यी दुवैमा उत्तिकै रुचि राख्छ।
कमसल जिन्दगी उनीहरूलाई स्वीकार्य छैन। न स्थिर जिन्दगी बिताउन तयार छन्।
अनि जब किताबको कुरा उठ्छ, एउटा यस्तो पुस्ता तयार भइसकेको देखिन्छ, जसलाई पाँच/दस वर्ष अघिसम्म ‘पढैया’ भनेर उल्याउने गरिन्थ्यो।
...
सेन्ट जेभियर्समा ११ कक्षा पढिरहेका अपूर्वा श्रेष्ठ र ओजस्वी भट्टराईलाई अचेल कसैले ‘पढैया’ भन्लान् कि भन्ने डर छैन।भन्दा पनि भन्दैनन्।त्यो थेगो नै लगभग हराइसक्यो, कम्तीमा ‘प्लस–टु’ पढ्ने उनीहरूको पुस्तामाझ । बरु उनीहरूको जमातमा नपढ्नेहरू नै कम हुँदै गएका छन्।
त्यही भएर राजधानीको भृकृटीमण्डमा शुक्रबार सुरु ‘नेपाल शैक्षिक तथा पुस्तक प्रदर्शनी’ मा यी दुवै अंग्रेजी उपन्यास खोज्दै हिँडिरहेका छन्। उनीहरू पछिल्लो पाँच वर्षदेखि यो पुस्तक मेला नियमित भर्दै आएका छन्। यहाँ उनीहरूको मुख्य रोजाइ हुन्छ, पाठ्यक्रम बाहिरका र नाम चलेका अंग्रेजी उपन्यासहरू किन्ने।
‘कोर्सका किताब त त्यसै पढिहालिन्छ,’ अपूर्वा भन्छिन्, ‘आउटबुक (पाठ्यक्रम बाहिरका) हरू बढ्ता पढ्न मन लाग्छ।’
उनीहरूले एजुकेसनल बुक हाउसको र्याकबाट जेके रोलिङद्वारा लिखित ह्यारी पोर्टर शृंखलाको संग्रह उठाएर बिक्रेतासँग सोधे, ‘यसको कति हो?’
‘बजारमा ५५ सय पर्छ, यहाँ ४७ सय,’ बिक्रेताले जवाफ दिए।
‘आम्मामामा, ४७ सय,’ दुवैले भने, ‘यो त ड्याडीलाई भन्नुपर्छ।’
त्यसपछि केन फोलेटद्धारा लिखित ‘वल्र्ड विदाउट एन्ड’ किताब छाने ।
‘नेपाली पढ्ने बानी छैन ?’ हामीले सोध्यौं।
‘नेपाली किताब त मम्मी–ड्याडीले किनेर ल्याउनुहुन्छ,’ ओजस्वीले भनिन्, ‘हामी त अंग्रेजी नै किन्छौं।’
क्याम्पियन कलेजमा कक्षा १२ पढ्ने साहिरा पाण्डे र स्नातक गरिरहेकी सुप्रिया पाठकको भनाइ पनि उनीहरूसँग मेला खान्छ। प्रायः काठमाडौंमा हुने किताब मेलामा नबिराई जाने यी दुई पनि पाठ्यक्रम बाहिरकै किताबमा रुचि राख्छन्, चाहे आख्यान होस् वा गैरआख्यान।
‘बढी उपन्यास पढ्यो भनेर घरमा गाली गर्दैनन्?’
‘किन गाली गर्नु नि, झन् खुसी हुनुहुन्छ।’
उनीहरूको जवाफ सुन्दा यस्तो लाग्थ्यो सायद यो प्रश्नै ‘आउटडेटेट’ भइसक्यो ।
किनकि, विद्यार्थीमाझ ‘पढैया’ भन्ने चलन कम भएजस्तै अभिभावकमा पनि पाठ्यक्रम मात्रै पढ्नुपर्छ भन्ने चलन हराउँदै गएको छ ।
...
भृकुटीमण्डपको पुस्तक प्रदर्शनीमा हामीले कुराकानी गरेका यी चार विद्यार्थीले के देखाउँछ भने नेपालमा असल पाठकको जमात तयार भइसकेको छ। कुनै बेला पाठ्यक्रमका किताब मात्र बढी बिक्ने ट्रेन्ड लगभग हराइसक्यो। नेपाली होस् वा अंग्रेजी, राम्रो साहित्य खोजी–खोजी पढ्नेहरू बढेका बढ्यै छन्।
असल पाठक त तयार भइसके, तर के ती पाठकले असल सेवा पाइरहेका छन्?
भनिन्छ, जुन देशमा किताब र सिनेमा महोत्सव धेरै हुन्छन्, त्यसलाई सांस्कृतिक रूपमा धनी मान्नुपर्छ। नेपालमा यी दुवै खालका महोत्सव बढ्दो गतिमा छ। त्यसले निश्चित रूपमा नेपाल पनि सांस्कृतिक रूपले धनी बन्दै गएको भान हुन्छ। कम्तीमा १७ वर्षदेखि अनवरत आयोजना हुँदै आएको शैक्षिक तथा पुस्तक प्रदर्शनीले यही संकेत गर्छ।
महोत्सव जति बूढो हुँदैछ, त्यही किसिमले गुणस्तर सुधार गरेर पाठकहरूको बढ्दो जमातलाई स्तरीय सेवा दिन सकेजस्तो भने लाग्दैन।
यो पुस्तक मेलालाई अधिकांश बिक्रेताले आफूकहाँ बिक्न नसकेर थन्किएका किताबको ‘स्टक क्लियर’ गर्ने अवसर बनाएका छन्। अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएका नयाँ किताबको संख्या निकै कम छ। छुट दिएर मात्र पाठकहरू आकर्षित हुन्छन् भन्ने पुरानो मानसिकताबाट मेला मुक्त हुन सकेको छैन।
‘हामी यहाँ नयाँ किताब खोज्न आउँछौं, तर मेलामा मैले सोचेजस्तो नयाँ किताब देखिनँ,’ अपूर्वाले भनिन्।
पाठकहरूको यो गुनासोप्रति एजुकेसनल बुक हाउसका प्रोप्राइटर अञ्जन श्रेष्ठ आफैं पनि सहमत छन्।
‘हामी परम्पराबाट माथि उठ्न नसकेको साँचो हो,’ उनले भने, ‘आयोजकहरूले नयाँ पुस्तालाई आकर्षित गर्न नयाँ ढंगमा सोच्न सकेको छैन भने हामीले पनि यही मेलालाई टार्गेट गरेर नयाँनयाँ किताब ल्याउन सकेका छैनौं।’
यो मेलामा शैक्षिक र किताब प्रदर्शनी जोडिनुले पनि केही समस्या देखिएको उनको भनाइ छ। शैक्षिक प्रदर्शनीमा विभिन्न शैक्षिक परामर्शदाता तथा इन्स्टिच्युटले भाग लिन्छन्। भृकुटीमण्डपमा केहीअघि यस्तै प्रदर्शनी भएको थियो।
‘एउटै खालको मेला घरिघरि आयोजना हुँदा दर्शकहरू घट्छन्,’ श्रेष्ठले भने, ‘बरु यसलाई पूर्ण रूपमा पुस्तक प्रदर्शनीका रूपमा विकास गर्न पाए राम्रो हुन्थ्यो।’
‘लेखक र पाठकबीच प्रत्यक्ष भेटघाट र अन्तर्क्रिया हुने थलोका रूपमा मात्रै विकास गरे यसले अलग्गै पहिचान बनाउने उनको धारणा छ। एजुकेसनलले यही मेला क्रममा केही लेखकलाई हस्ताक्षरको निम्ति ल्याउँदैछ। अरू बिक्रेताले पनि विभिन्न लेखकलाई पाहुना बनाएका छन् ।
...
जिन्दगी र किताबमा अर्को कुरा पनि समान छ — राम्रो जिन्दगीको किताब बन्छ, किताबले राम्रो जिन्दगी बाँच्न सिकाउँछ।
र, नयाँ पुस्ता यी दुवैमा उत्तिकै रुचि राख्छ।
उनीहरू राम्रो जिन्दगी बाँच्न चाहन्छन्। राम्रो किताब पढ्न खोज्छन्।
नयाँ पुस्ताको यो खोजलाई सन्तुष्ट पार्ने चुनौतीमा अझै खरो उत्रिसकेका देखिन्न् मेला आयोजकहरू । कम्तीमा शुक्रबार सुरु दसदिने प्रदर्शनी हेर्दा त्यस्तै लाग्छ।