जनकपुरमा अवैधानिक रुपमा गर्भपतन गर्ने संस्थाहरुको बिगबिगी बढ्दै गएको छ। यसै क्रममा विहिबार स्थानीय पापमोचनी सर पोखरीको दक्षिण पश्चिम कुनामा आधा दर्जन भन्दा बढी मृत अवस्थामा रहेका नवजात शिशुहरुको शव प्रहरीले बरामद गरेको छ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अगाडि रहेको पोखरी तथा जानकी हेल्थ केयर सेन्टरको छेउमा मृत अवस्थामा रहेका ७ शिशुहरु भेटिएका छन्। छुट्टा छुट्टै प्लाष्टिकको जारमा राखिएका सो शिशुहरु कसले र किन फालकेको हो भन्ने कुरा खुल्न सकेको छैन। घटनास्थलमा पुगेको प्रहरी टोलीले शिशुहरुको शव बरामद गरेर अनुसन्धान प्रकृया अगाडि बढाएको प्रहरी उपरिक्षक बसन्त पन्तले जानकारी गराए।
शिशु फालिएको जानकारी पाएपछि स्थानीयवासीहरुको घुइँचो सो स्थानमा लागेको थियो। यता प्रहरी निरिक्षक दिपेन्द्र पजियारले दिएको जानकारी अनुसार फालिएका शिशुहरु भु्रण हत्या गराईएको हुन सक्ने र आफ्नो कुकृत्य लुकाउनका लागि प्लाष्टिकको जारमा केमिकल हाली फालेको हुन सक्ने बताएका छन्।
गर्भपतन गराउनका लागि मेरिस्टोप सेन्टर, नेपाल परिवार नियोजन संघ तथा जनकपुर अञ्चल अस्पताल बाहेकका निकाय मात्र वैधानिक भएपनि लोकलज्जा समाजको डर तथा अन्य विभिन्न कारणहरु गर्दा अवैधानिक रुपमा गर्भपतन गराउने गरिएको पाइएको छ।
यता मृत अवस्थामा फालिएका शिशुहरुको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। ति शवहरुको परिक्षण गर्दा केहीको लिंग पहिचान गर्न सकिएको र केहीको लिंग समेत पहिचान गर्न गाह्रो भएको चिकित्सकहरुले बताएका छन्। घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।