एचआईभी र एड्स न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरु संचालन भएता पनि झापामा भने एचआइभी र एड्सको जोखिम बढ्दै गएको छ। पछिल्लो तथ्याङ्क अनुसार झापामा अघिल्ला वर्षको तुलनामा यो वर्ष एचआइभी र एड्सको संक्रमण अवस्था बढेको पाईएको हो।
एचआइभी र एड्सको बढ्दो उच्च दर राष्ट्रिय तथ्याङ्कमा घट्दो रहेको पाइएपनि जिल्लामा भने यसको अवस्था बढ्दै गएको सरोकारवालाहरू बताउँछन्। जिल्ला एड्स समन्वय समिति (ड्याक) की को–अर्डिनेटर लोवर्टो श्रेष्ठका अनुसार एचआइभी र एड्सको संक्रमणको अवस्था अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष बढेको छ।
'तुलनात्मक रुपमा यो अवस्था भयाभह हो' उनले भनिन्–'विभिन्न संघसंस्थाहरू मार्फत् एचआइभी र एड्सको जोखिम न्यूनिकरण गर्न कार्यक्रम सञ्चालन भइरहेपनि उपलब्धि प्रगति मूलक मान्न सकिदैन।'
ड्याकको तथ्यांकमा अहिले जिल्लामा ३ सय ९४ जना एड्स संक्रमित रहेका छन्। ती मध्ये महिला १ सय ६४, पुरुष २ सय ३० र बालबालिकाहरू ३ जना रहेका छन्। ती संक्रमितहरूमध्ये २१ जनाको मृत्यु भइसकेको ड्याक को–अर्डिनेटर श्रेष्ठले बताइन्।
ड्याकमा आवद्ध विभिन्न संघसंस्थाहरूले गरेका परामर्श तथा रगत परीक्षण मार्फत गत चैतसम्म ७ हजार ८ सय ८१ जना मा एचआइभीको जीवाणु समेत फेला परेको थियो। यो दरलाई तुलना गर्ने हो भने मासिक ५ जनामा एचआइभीको भाइरस थपिदै गएको छ। एड्स संक्रमितहरू अधिकांश यौन व्यवसायी, यौन व्यवसायीका ग्राहक, गृहणी, आप्रावासी, लागू औषध प्रयोगकर्ताहरू तथा विभिन्न रगत जाँतका क्रममा त्यस्तो संक्रमण देखिएको बताइएको छ। श्रेष्ठले एड्स संक्रमितहरूमध्ये विभिन्न रगत जाँच, बालबच्चा र रगतजन्य परीक्षणहरूबाट २ सय १९ जना छन्। त्यस्तै यौन व्यवसायी ग्राहक ५९, गृहिणी २४, यौन व्यवसायी ३६ जना र २० जना लागूऔषधका प्रयोगकर्ताहरू रहेका छन्।
त्यस्तै ड्याकको तीन वर्षे तथ्यांकमा समेत एचआइभी र एड्सको जोखिम अवस्था बढ्दो छ। तीन वर्ष अवधिमध्ये आर्थिक वर्ष २०६७/०६८ मा एचआइभी हुनेको संख्या २९ सय १५ छन् भने त्यो वर्ष ५५ जनामा एड्सको संक्रमण देखिएको थियो। ०६८/०६९ को आवमा २६ सय १५ जनामा एचआइभी र ४६ जना एड्स संक्रमित पाइएको थियो। तर अहिले चालु वर्षको १० महिनामा ३५ सय जनामा एचआइभीको जीवाणु देखिएको छ भने ४६ जना एड्स संक्रमित भएको तथ्यांकमा उल्लेख छ।
जिल्ला भित्र १३ ओटा बढी संघसंस्थाहरूले लागू औषध, एचआइभी र एड्सको रोकथाम क्षेत्रमा काम गर्दै आएका छन्। अधिकांश गैह्र सरकारी संस्थाहरूले लागूऔषधका प्रयोगकर्ताहरूलाई कार्यविधि बनाएर कार्यक्रमहरु गर्दै आएका छन्। तर अहिले लागूऔषध भन्दा अन्य माध्यमबाट एचआइभीको जोखिम बृद्धि भएको सरोकारवाला निकायको दाबी छ। ड्याककी को–अर्डिनेटर श्रेष्ठले खुल्ला सीमाका कारण आप्रवासी कामदारहरूको असुरक्षित यौन गतिविधिले पछिल्लो समय यसको जोखिम अवस्था बढाएको बताइन्। 'लागूऔषध मात्र होइन, एचआइभी रोकथाम गर्न असुरक्षित यौन गतिविधिहरूमा विशेष सतर्कता कार्यक्रम ल्याउनुपर्ने देखिन्छ।' उनले भनिन्।
झापामा वर्षेनी ३ करोड रुपैयाँको हाराहारीमा विभिन्न दातृ तथा सरकारी निकायबाट स्थानीय गैह्र सरकारी संस्थाहरूले बजेट खर्च गर्दै आएका छन्। सन् २०११ को तथ्यांकमा झापामा करिब ५ हजार लागू औषधका प्रयोगकर्ताहरू छन् भने कतिपयले असुरक्षित यौन ब्यापार गरिआएका स्रोतले जनाएको छ। त्यस्तै विदेशिएका महिला, पुरुष, गृहिणीहरू समेतबाट एचआइभी भित्रिएको पाइएको छ।