ओक्लाहोमा, जेठ ७ (बिबिसी)– अमेरिकाको ओक्लाहोमा सहरमा सोमबार आएको आँधीले २० जना केटाकेटीसहित कम्तीमा ९१ जनाको ज्यान गएको छ।
तीन सय २० किलोमिटर प्रतिघन्टाको गतिमा आएको आँधीले सहरको दक्षिणी क्षेत्र मुरे बढी प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ। करिब १ सय २० जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ। घर र स्कुल भवनहरू क्षतिग्रस्त भएका छन्।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले ओक्लाहोमामा आएको आँधीलाई ठूलो प्राकृतिक विपत्ति भनेका छन्। उनले सबै निकायलाई विपत् व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन्।
करिब ५५ हजार जनसंख्या भएको मुरे क्षेत्रमा सोमबार आएको आँधी झन्डै ४५ मिनेट रहेको थियो ।