फोटोपत्रकार (पिजे)क्लबले यसवर्षको फोटो प्रतियोगिताका लागि फोटो दर्ता आवेदन खुल्ला गरेको छ।
तेस्रो संस्करणको लागि विभिन्न ७ विधामा हुने फोटो प्रतियोगिता विभिन्न क्षेत्रबाट फोटो जम्मा गर्ने व्यावसायिक फोटो पत्रकार र सौखिन फोटोग्राफरको लागि यो सबभन्दा ठूलो खुल्ला प्रतियोगिता भएको सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
नेपालको फोटोग्राफी तथा फोटो पत्रकारितालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म प्रबर्द्धन गर्नुको साथै पर्यटन र वास्तविक नेपाललाई चिनाउने उद्देश्य लिएको क्लबले जनाएको छ ।
'अरु प्रतियोगिताभन्दा यो प्रतियोगिता फरक र महत्वको छ व्यावसायिक फोटो पत्रकार, पत्रकार र सौखिन फोटोग्राफरका हजारौं फोटो एउटै स्टेजमा जम्मा हुने नेपालको अहिलेसम्मकै सबभन्दा ठूलो फोटो प्र्रतियोगिता हो। यस प्रतियोगितामा रहेका विभिन्न ७ विधाले नेपाल र नेपालीको सबै क्षेत्रलाई प्रतिनिधित्व गर्नेछ,' प्रतियोगिताका संयोजक विकास कार्कीले बताए।
फोटो प्रतियोगिता तथा प्रदर्शनी ०६९ ले सबैभन्दा ठूलो पुरस्कारको घोषणा पनि गरेको छ। क्लबले यस वर्षको लागि पाँच लाख बीस हजार रुपैयाँको पुरस्कार घोषणा गरेको छ ।
आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा कल्चर तथा टुरिजम, नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर, डेली लाईफ, न्यूज फोटो, स्माईल, स्पोर्टस र फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछ।
न्युज फोटो विधाका लागि २०६९ सालभरि खिचिएका तस्बिरहरूले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन्। अन्य विधामा जहिलेसुकै खिचिएका तस्बिरहरू पठाउन सकिनेछ भने अन्य कुनै प्रतियोगिताका मुख्य विजेता र यसैको पूर्व संस्करणका विजेता फोटोहरुले सहभागिता जनाउन नपाउने संयोजक कार्कीले बताए।
प्रत्येक विधामा प्रतियोगीले ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा २ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन्।
फोटो प्रतियोगिताको लागि बरिष्ठ फोटोपत्रकार गोपाल चित्रकारको अध्यक्ष रहेको ६ सदस्यीय निर्णायक मण्डल पनि तोकीएकेा छ जसमा शाउथ एशिया तथा इण्डियाकै बरिष्ठ फोटोपत्रकार रघ राय , बरिष्ठ फोटोग्राफर मणि लामा, पत्रकार शुधिर शर्मा , केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र फोटोपत्रकार क्लबका अध्यक्ष प्रकास माथेमा रहेका छन्।
अहिलेसम्मकै सर्बाधिक राशीको पुरस्कार राखिएको प्रतियोगितामा सातै विधामा प्रथम, द्वितीय र तृतीय विजेता छनोट गरि क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार दिने पिजे क्लबले जनाएको छ।
प्रतियोगी फोटोबीचको प्रतिस्पर्धाबाट एउटालाई उत्कृष्ट छनोट गरी रु १ लाख बराबरको 'आईएमइ ग्वोबल आईएमइ बैंक फोटो अफ द इयर' घोषणा गरिनेछ। प्रतियोगिता तथम प्रदर्शनीमा सहभागी हुन चाहनेले २०७० साल असार १ गते राति १२ बजेभित्र क्लबको वेबसाइट
http://www.pjclub.com.np मा गएर फोटो दर्ता गर्न सकिने आयोजकले जनाएको छ। प्रतियोगिता एवंम प्रदर्शनीमा नेपाली नागरिक मात्र सहभागी हुन सक्नेछन् भने तस्बिरहरू नेपालभित्रै खिचिएको हुनुपर्नेछ।
प्रतियोगिताबाट उत्कृष्ट छानिएका १ सय ५० फोटोलाई काठमाडौं, लगयत नेपालका प्रमुख चार शहर विराटनगर, पोखरा, नेपालगञ्ज र धनगढीमा प्रदर्शन गरिने योजना रहेको पिजे क्लबले जनाएको छ।