पिल्ग्रिम्स नजल्दैको कुरा हो ।
पिल्ग्रिम्स बुक हाउसका सञ्चालक रामानन्द तिवारीलाई स्पेनबाट एउटा इमेल आयो । लेखिएको थियो–
प्रिय तिवारीजी,
धेरै वर्षअघि काठमाडौंमा बसेका बेला म प्रत्येक दिन तपाईंको पसलबाट एउटा किताब चोर्थें । आज ती सबै किताबको मूल्य जोडेर पठाइदिएको छु ।
इमेलसँगै छ हजार रुपैयाँ तिवारीको खातामा रकमान्तर गरिएको सन्देश पनि थियो ।
ती स्पेनीले त तिवारीले थाहा नपाउने गरी पिल्ग्रिम्सबाट केही किताब चोरेका थिए, तर सबै उनीजति बाठा हुँदैनन् । कतिपयले पसलबाट किताब चोरेको तिवारी थाहा पाउँथे । कोही ड्रग्सका लागि पैसा जम्मा गर्न चोर्थे, कोही पढ्नकै लागि ।
कसैकसैलाई त तिवारीले पुलिसकहाँ पनि लगे । धेरैजसोलाई भने उनी प्रेमपूर्वक सोध्थे, ‘किन चोर्यौ तिमीले किताब ?’
कसैले पढ्नै चोरेको रहेछ भने दुःख लाग्दैन थियो । छाडिदिन्थे ।
३० वर्षअघि ठमेलको एउटा सानो कोठामा सय किताब राखेर तिवारीले सुरु गरेको पिल्ग्रिम्स बुक हाउस अहिले लगभग एउटा ठूलो घरको अधिकांश भागमा बिस्तार भएको थियो । कफी पिउँदै दिनभरि किताबको संसारमा हराउने अवसर पिल्ग्रिम्सले जुटाएको थियो । संसारका उत्कृष्ट किताब ल्याएर भरेका थिए ३० वटा कोठा ।
पिल्ग्रिम्स रचनाका यी ३० वर्षमा तिवारीसँग आफूले माया गरी हुर्काएको यो बुक हाउससँगका हजारौं रुखामीठा सम्झना होलान् ।
बिहीबार राति पिल्ग्रिम्स जलेर खरानी भएपछि तिवारीलाई अब ती सम्झना अझ प्रिय लाग्न थालेका छन् ।
‘स्पेनी किताब चोर’को इमेलजस्तै ।
पिल्ग्रिम्स बुक हाउस जल्यो तर सम्झनामा पिल्ग्रिम्स जलेकै छैन ।
...
५८ वर्षअगाडि उत्तर प्रदेशको उन्नावनजिकै बेथर गाउँमा जन्मेका तिवारी आफूमा जीवन र जगतलाई हेर्ने फराकिलो दृष्टिकोण बुबाबाट सरेको बताउँछन् । थुप्रै हिन्दी साहित्यकारहरु जन्माएको ब्रह्मस्थल पनि भनिने उनको गाउँ ब्राह्मणहरूको भूमि थियो ।
‘म को हुँ ? संसारसँग मेरो के सम्बन्ध छ ?’ यस्ता प्रश्न उनको मनमा आइरहन्थे । जवाफ पनि आफैंबाट पाउँथे, ‘यो संसारमा म एउटा यात्री हुँ, पिल्ग्रिम ।’
खरानी भएको आफ्नो सपनाको घर ‘पिल्ग्रिम्स बुक हाउस’ अघिल्तिर बसेर हँसिलो अनुहारमा तिवारी हामीलाई माझिएको जोगीजसरी बुझाउँदै थिए, ‘ममात्र होइन, संसारका सबै मान्छे पिल्ग्रिम हुन् । यी सबै यात्रीहरुका लागि मैले पुस्तक पसलको नाम नै पिल्ग्रिम्स राखेको हुँ ।’
पिलग्रिम्स पुस्तक पसलमात्र थिएन, अतिरेक प्रेमको एउटा नमूना थियो । कमसेकम तिवारीका लागि । ‘संसारभरिका पुस्तकप्रेमीहरू यहाँ आउँथे, घन्टौं बस्थे, किताब सुम्सुम्याउँथे र नेपालको राम्रो सम्झना बोकेर फर्कन्थे,’ सम्झनाका पेटारा फुकाउँदा तिवारीका आँखा रसाँउँदै थिए ।
कुनै जमाना थियो, तिवारी बनारसका सडकमा पुस्तक बेच्थे । ४० वर्षअगाडि । त्यसअघि बनारसमै कसैको पुस्तकपसलमा काम गर्थे ।
‘त्यो समयमा मैले आफ्नो च्यादर आफैं फैलाउनुपथ्र्यो, अहिले मसँग हजारौं दाजुभाइहरु छन् जसले दुःखको यो क्षणमा मसँग च्यादर बाँडेका छन्, सबैको सहृदयता मसँग छ,’ तिवारी हामीसँग गफ गर्ने बहानामा आफैंलाई सान्त्वना दिन्छन् ।
बिहीबार राति जल्नुअघि पिल्ग्रिम्समा कति किताब थिए ?
‘कतिकति । लाखौं । सायद ती किताब चाङ लगाएर राख्ने हो भने सगरमाथाभन्दा अग्लो हुन्थ्यो होला,’ तिवारी प्रस्ट्याउँदै थिए, ‘ तर मूल्य वा संख्या ठूलो होइन, पिल्ग्रिम्स एउटा कृति थियो, अब मलाई फेरि त्यस्तै कृति जन्माउने चुनौती छ ।’
प्रसिद्ध लेखक पिको अय्यरले आफ्नो उपन्यास ‘भिडियो नाइट्स इन काठमाडौं’ मा पिल्ग्रिम्स बुक हाउसको बयान गरेका छन् । लेखेका छन्– स्मार्टर द्यान अक्सफोर्ड बुक सप ।
‘हुन पनि पिल्ग्रिम्स अलिबाबाको एउटा घर नै थियो, यहाँ पुस्तकप्रेमीहरुले जे पनि भेट्टाउँथे,’ तिवारी हाँस्दै भन्छन् । उनको अनुहारमा चमक उस्तै छ ।
आध्यात्मिक बुबाकै प्रेरणा होला, पिल्ग्रिम्स जलिसक्दा पनि उनी ‘वननेस’को कुरा गर्छन् । ‘संसार एउटै हो, पिलग्रिम्स त संसारको एउटा सानो हिस्सा थियो,’ उनी भन्छन्, ‘संसार अनित्य छ, पिल्ग्रिम्समात्र कसरी सधैं रहिरहन सक्छ ?’
कुराकानीका क्रममा उनी होहोहो गर्दै हाँसिरहेको देख्दा लाग्थ्यो, मानौं बिहीबार राति केही भएकै थिएन । ‘म भाग्यमानी छु भगवानले मलाई यति राम्रो पेशा दिएका छन्,’ तिवारी भगवानलाई धन्यवाद दिन्छन् । फेरि उस्तै पिल्ग्रिम्स खडा गर्ने सपनाले सायद अहिले उनलाई बल दिइरहेको छ ।
...
नेपाल बस्ने दाजुलाई खोज्न उनी पहिलोपल्ट नेपाल आएका थिए, जीवन नै यहाँ बिताइदिए । ‘दाजुलाई खोज्न आएको थिएँ, आफैंलाई भेट्टाएँ,’ आफैंलाई चिन्ने आफ्नो यात्राको महत्वपूर्ण अंश मान्छन् उनी नेपाललाई ।
पोखरा गए । पोखराको सौन्दर्यले उनलाई लठ्ठै पार्यो ।
३५ वर्षअगाडि त्यो सहर अझ शान्त थियो । झमझम बर्सिरहेको थियो । हरियाली त्यस्तै । दिन खुलेको दिन आँखैअगाडि हरदम हिमाल ।
‘पोखराको हावामा रोमान्स थियो, सौन्दर्य थियो, दिव्य अनुभूति थियो आत्मानुभूतिको मौका थियो,’ तिवारीले यो मौका छाड्न चाहेनन् ।
पोखरामै बसे, पुस्तक पसल खोलेर । पुस्तकपसल सानो थियो । उनी त्यसमै रमाउँथे । सोच्थे, ‘प्रेमको गली पनि त साँघुरै हुन्छ ।’
‘प्रेम गली अति सांकरी’ भन्ने कविरको दोहा उनलाई प्रिय थियो । अझै प्रिय छ ।
काठमाडौं आए । पिल्ग्रिम्स बनाए ।
पिल्ग्रिम्सलाई उनी प्रेमिकाभन्दा माया गर्थे । संसारको जुनसुकै कुनामा गए पनि पुस्तकका भारी बोकेर फर्कन्थे ।
जहिल्यै अतिरिक्त ब्यागेज हुन्थ्यो, अतिरिक्त शुल्क तिर्थे ।
नशेवाज थिए उनी, पुस्तकप्रेमको नशा थियो ।
...
तिवारी अहिले पिल्ग्रिम्स बुक हाउस जलेको चिन्तामा छैनन्, अर्को पिल्ग्रिम्स बनाउने हुटहुटीमा छन् । उनलाई विश्वास छ, नयाँ पिल्ग्रिम्स रचनामा सबै प्रियजनहरुले आफूलाई सघाउनेछन् ।
अब बन्ने पिल्ग्रिम्सप्रति उनले ठूलो आशा साँचेका छन् । भन्छन्, ‘म वेदलाई सम्मान गर्छु, तर के थाहा ? भगवान्को कृपाले जन्मिने नयाँ वेद अझै महत्वपूर्ण हुन्छ कि !’
यससम्बन्धी अर्को आर्टिकल यहाँ पढ्नुहोस्
तस्बिर- अमित ढकाल