काठमाडौं, चैत २३ (सेतोपाटी)– भारतको मुम्बईमा अनधिकृत रूपले निर्माण भइरहेको एउटा साततले भवन बिहीबार राति भत्कँदा कम्तीमा २९ जनाको ज्यान गएको छ । घटनामा कम्तीमा ४० जना घाइते भएको मुम्बई प्रहरीले जनाएको छ । थप मानिस पुरिएको हुनसक्ने एक अग्नि नियन्त्रक अधिकारीले एनडिटिभीलाई बताए ।
थाने क्षेत्रमा निर्माणाधीन भवन भत्केपछि प्रहरीले ४० भन्दा बढीलाई तत्कालै उद्धार गरेको भारतीय दैनिक हिन्दुले उल्लेख गरेको छ । प्रहरीका अनुसार घटनामा ९ बालबालिका, ११ पुरुष र ७ महिलाको ज्यान गएको छ । थप दुईको मृत्यु भएको छ । निर्माण सामग्रीमा थप व्यक्तिहरू पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ । राष्ट्रिय उद्धार सहायता बलका सय जवानले रातभरि पुरिएकाहरूको खोजी गरेका थिए । सरकारी अधिकारीहरूका अनुसार हतारहतार बनाइएको उक्त घर निर्माण गर्दा कुनै स्वीकृति लिइएको थिएन ।
‘न कुनै इन्जिनियरलाई सोधिएको रहेछ, निर्माण स्वीकृति पनि लिएको रहेनछ,’ राज्य श्रममन्त्री गणेश नायकले संवाददाताहरूसँग भने ।
प्रकाशित मिति: 2013-04-05 11:02:22