शनिबार दिउँसो झमझम पानीले ठमेल रुझिरहेको थियो, पिल्ग्रिम्स बुक सपमा भने आगो लागेको ४० घन्टा बितिसक्दा पनि धुँवा निस्किरहेको थियो।
उत्तर प्रदेशको उन्नावनजिकै जन्मिएका ५८ वर्षीय रामानन्द तिवारीले ३० वर्ष लगाएर भरेका ३० कोठा किताब जलाइसक्दा पनि आगोको रिस सायद मरिसकेको थिएन।
पिल्ग्रिम्स बुक सप अघिल्तिरको न्यू ओर्लियन्स रेस्टुरेन्टमा बसेर क्याप्पुचिनो पिइरहेका तिवारी भने ईश्वरलाई धन्यवाद दिइरहेका थिए। भन्दै थिए, ‘धन्यवाद भगवान्, तिमीले पिल्ग्रिम्स जलाइदियौ तर कमसेकम हामीलाई त केही भएन, कमसेकम हाम्रो एउटा बस्ने घर त छ, माया गर्ने प्रियजन त छन् ।’ आफूले ३० वर्ष लगाएर बनाएको सपनाको घर जलेर खरानी हुँदा पनि उनी आफ्नो मनलाई आफैं सान्त्वना दिइरहेका थिए । उल्टै हामीलाई सम्झाउँदै थिए, ‘मान्छे पनि त मर्न सक्थे, सारा ठमेल पनि त जल्न सक्थ्यो।’
बिहीबार राति करिब दस बजे पिल्ग्रिम्स बुक सपभन्दा करिब तीन सय मिटर टाढा तिवारी परिवारले भर्खरै खाना खाइसकेको थियो। तिवारी डिनरमा निम्त्याएका अमेरिकी पाहुनासँग गफिँदै थिए। ज्वाइँको फोन आयो, ‘बुबा... यहाँ आउनू... सबै सकियो ।’ ज्वाइँको कामेको स्वरबाटै तिवारीले ठूलै घटना भएको अन्दाज काटिहाले।
उनी तीन मिनेटमै पिल्ग्रिम्स बुक सप पुगे जहाँ आगोको लप्काले आकाश छोइरहेको थियो। उनले दुई घन्टाअघि सद्दे छाडेर गएको पिल्ग्रिम्स बुक सप आगोभित्रै कतै हराएको थियो।
उनी आत्तिएनन्। तत्काल उद्धारमा खटिहाले। दमकल बोलाए। वरिपरि झुम्मिएका सबैलाई पानी ल्याउन भने। आफ्ना सहयोगीहरुलाई भने, ‘सबैजना पसलबाट बाहिर निस्क, कसैलाई केही हुन नपाओस्, सामान जलुन तर एउटै ज्यान खतरामा नपरोस् ।’
दमकल आयो र किताबमा लागेको आगो निभाउने प्रयास थाल्यो।
रातभरि ठमेलको सडकमा बसेर आफूले ३० वर्षअघि रोपेको सपनाको रुख ढल्दै गरेको तिवारीले हेरिरहे। उनले जीवनभरको मेहनत, प्रेम र आत्मीयताले हुर्काएको पिल्ग्रिम्स बुक सप नौ घन्टामा खरानी भइसकेको थियो।
बिहान सात बजे खरानी भइसकेको पिल्ग्रिम्सलाई त्यत्तिकै छाडेर तिवारी फूलपसल गए। जस्मिनका केही ताजा फूल किने र अस्पताल पुगे। उनकी सुत्केरी छोरी र उनलाई स्याहार्न बसेकी पत्नीलाई पिल्ग्रिम्स बुक सप जलेको खबर सुनाउनु थियो।
भर्खरै जन्मेको बच्चा, आमा र पत्नी सबै ठीक थिए।
तिवारीले सबैका लागि ब्रेकफास्ट मगाए। आफूलाई पनि।
खाइसके र बिस्तारै भने, ‘हिजो राति आठ बजे मैले सद्दे छाडेर आएको पिल्ग्रिम्स अब छैन। दुनियाँको सत्य यही हो, सबै चिज अनित्य छ, पिल्ग्रिम्समात्र सधैं कसरी रहिरहन सक्छ ?’
बिस्तारै उनले पत्नी र छोरीहरुलाई सम्झाए।
छोरीले सोधिन्, ‘बाबा हजुरको चित्त दुखेको छैन ?’
तिवारीले आँखाभरि आँसु पारेर भने, ‘छैन छोरी, मलाई केही भएको छैन।’
ठमेलको पिल्ग्रिम्स जल्यो तर रामानन्द तिवारीको पुस्तक प्रेम जलेको छैन। उनले १४ वर्ष उमेरमा बनारसमा अर्काको पसलमा काम थालेयताका ४४ वर्ष पुस्तक सुम्सुम्याएरै बिताए। धपेडीले समय दिन नभ्याएर छोरीहरुको सल्लाहमा नयाँ दिल्ली, बनारस र कुपन्डोलमा रहेका पुस्तक पसल बन्द गरेको केही महिनामात्र हुँदैछ। ती सबै ठाउँका पुस्तक र अन्य सामग्री ल्याएर उनले ठमेलकै पसललाई दुलहीझैं आफ्नै हातले सिँगारेका थिए। त्यो सबै बिहीबार राति खरानी भयो।
तिवारी भने भन्दै थिए, ‘यहीँ नजिकै मेरो अर्को पुस्तक पसल छ, म सडकमै पुगिसकेको त छैन।’
सेतो धोती, गेरु रङको उनीटोपी र चप्पलमा सेतै फुलेका दारीले जोगीजस्ता देखिएका तिवारी हामीसँग दुई घन्टा गफिएपछि मूलसडकमा आए। पानी थामिइसकेको थियो । पिल्ग्रिम्स बुक सप भने अझै जलिरहेको थियो । मानिसहरु रमिता हेरिरहेका थिए ।
जलेर कालो भएको पिल्ग्रिम्स बुकसपको भित्तामा ग्राहकहरुका लागि हातैले लेखेर एउटा सूचना टाँसिएको थियो, ‘असुविधाका लागि खेद प्रकट गर्दछौं, हाम्रो अर्को पसल यहीँ नजिकै छ ।’
उनलाई सान्त्वना दिन आँखाभरि आँसु पारेर आउनेहरुलाई रामानन्द तिवारी उल्टै सम्झाइरहेका थिए, ‘हेर, यो संसार अनित्य छ, एभ्रीथिङ इज इम्पर्मानेन्ट ।’
तस्बिर- अमित ढकाल