काठमाडौं, चैत २२ (सेतोपाटी)– बेगनास तालमा बुधबार तीन जनाको मृत्यु र दुई बेपत्ता हुने गरी भएको डुंगा दुर्घटनाबाट झस्किएको कास्की प्रशासनले फेवा र बेगनास तालमा डुंगा चलाउँदा बढीमा पाँचजना मात्र राख्न पाइने व्यवस्था गरेको छ ।
विदेशीको हकमा चार जनामात्र डुंगामा बस्न पाइने व्यवस्था कास्की प्रशासनले गरेको छ । फेवा र बेगनास तालमा डुंगा चलाउँदा ३ सय किलोभन्दा बढी भार राख्न नपाइने, तालबाराही मन्दिर दर्शनमा जाँदा बढीमा दस यात्रु राख्न पाइने र यात्रुले अनिवार्य लाइफ ज्याकेट लगाउनुपर्ने व्यवस्था पनि कास्की प्रशासनले गरेको छ । कास्की प्रजिअ यादवप्रसाद कोइरालाको अध्यक्षतामा डुंगा व्यवसायीहरूसहित बसेको बैठकले रक्सी खाएका यात्रुलाई डुंगामा नचढाउने निर्णयसमेत गरेको छ । यो व्यवस्था लागू नगरेको पाइएमा डुंगा व्यवसायीलाई सुरुमा १ हजार, दोस्रोपटक उल्लघंन गरेमा २ हजार, तेस्रोपटक उल्लंघन गरेमा ३ हजार र चौथोपटकमा डुंगा नै जफत गर्ने निर्णयसमेत कास्की प्रशासनले गरेको छ ।
बेगनास तालमा बुधबार दिउँसो ४ बजे भएको ८ जना यात्रु चढेको डुंगा पल्टिँदा तीनको मृत्यु हुनुको साथै दुई बेपत्ता भएका थिए । तीनजना भने पौडिएर बाँच्न सफल भएका थिए ।
प्रकाशित मिति: 2013-04-04 20:43:34