शिक्षामा भएको विकासक्रमसँगै यस क्षेत्रको सबैभन्दा पुरानो बुटवल बहुमुखी क्याम्पसले आफूलाई समयानुकुल परिमार्जित मात्र गरेको छैन सबै बिषयको अध्यापन सञ्चालन गरेर अभिभावकको भावना र बिद्यार्थीको चाहनासमेत पूरा गर्न सफल भएको छ।
२०२४ सालमा लुम्बिनी कलेजको रूपमा स्थापना भएको बुटवल बहुमुखी क्याम्पसले लुम्बिनी अञ्चलको मात्र नभई पश्चिमाञ्चल क्षेत्रकै दोस्रो ठूलो क्याम्पसको रुपमा परिचय बनाउन सकेको छ।
निजी स्तरका कलेज तथा सामुदायीक विद्यालयहरुले पनि उच्चमावि खोल्ने होडबाजी चलेसँगै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको यस क्याम्पसले पनि विभिन्न विषयमा कक्षा संचालन गर्न शुरु गरेको हो।
यस वर्षमात्र क्याम्पसले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी स्नातकोत्तर तह एम एमा समाजशास्त्र–मानवशास्त्र विषयको कक्षा सञ्चालनमा ल्याएको छ।
विभिन्न सामाजिक संघ संस्थाका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले क्याम्पसले नयां विषयको रुपमा समाजशास्त्रको पढाइ सुरु गर्न थालेको क्याम्पस प्रमुख प्रकाशबन्धु रेग्मीले बताए।
सरकारी तथा गैर सरकारी संघसंस्थामा काम गर्नको लागि यो विषय अध्ययन् गरेको विद्यार्थीहरु आवश्यक पर्ने उनले बताए।
स्नातक तहमा बिए, बिएस्सी, बिएड, बिबिएस र संस्कृत विषय उतिर्णले समाजशास्त्र मानवशास्त्र विषय पढ्न पाउने छन्।
निजी कलेजमा चर्को शुल्क तिरेर अध्ययन् गर्न नसक्ने विद्यार्थीहरुको लागि कम शुल्कमा अध्ययन गराउने योजनाका साथ समाजशास्त्र विषय पढाई सुरु गर्न लागेको उनले बताए।
त्यसैगरि क्याम्पसमा यसै वर्षदेखि विएस्सीमा विएस्सी सिएसआईटी, बिए तर्फ लाईब्रेरी साईन्स, जिआई एस कक्षाकोसमेत अध्यापन शुरु भएको छ।
क्याम्पस प्रमुख रेग्मीले आगामी वर्षदेखि स्नातक तहमा पत्रकारिता र स्नातकोत्तर तहमा एमएस्सी क्यामेस्ट्री, एमएडमा करिकुलम र पत्रकारिताको पनि पढाइ सञ्चालन गर्ने योजना रहेको बताए।
यसअघि शिक्षा र मानविकी संकायमा स्नातकोत्तर र विज्ञान तथा कानून संकायमा स्नातक तहसम्म अध्यापन गराउँदै आएकोमा गतवर्षदेखि व्यवस्थापन संकायमा पनि स्नातक तहको कक्षा संचालन गरेको छ।
क्याम्पसका सह प्रशासक कृष्ण भट्टराईले यसक्षेत्रका विद्यार्थीहरुको चाहना तथा बजारको माग अनुरुप विश्वविद्यालय तर्फका नयाँ नयाँ कार्यक्रमहरु ल्याएर गरिबका विद्यार्थीहरुलाई पनि सस्तोमा शिक्षा दिने उद्देश्य अनुरुप नयाँ विषयहरु ल्याउने गरेको बताए।
पश्चिमाञ्चलकै दोस्रो ठूलो क्याम्पसको रुपमा रहेको यस क्याम्पसले आगामी वर्ष एमएड, तथा एम ए गरि स्नातकोत्तर तहमा विभिन्न ९ वटा विषयमा अध्यापन गराउदै आइरहेको छ।
क्याम्पसले पछिल्लो समयमा शैक्षिक कृयाकलापमा जसरी आफैलाई स्थापित गराउन सफल भएको छ भौतिक पूर्वाधारको हिसाबले भने त्यत्तिकै जिर्ण र खण्डहर बन्दै गएको छ।
शुरुमा शिक्षा संकायको अध्ययन शुरु गर्दा निर्माण गरेको शिक्षा भवन, एउटा विज्ञान संकायको दुईतले भवन र अर्को एक तले मानविकी भवनले अहिलेसम्म सबै बिषयका बिद्यार्थी धान्दै आएको छ।
शुरुका वर्षहरुमा थोरै विषय अध्ययन हुँदा आउने २/३ हजार विद्यार्थीहरुलाई लक्षित गरि निर्माण गरिएका भवनहरुले हाल करिब ७ हजारको हाराहारीमा विद्यार्थीहरुलाई थेग्दै आएको छ।
क्याम्पसले ५ वर्षे गुरुयोजना अनुरुप भवन निर्माणको लागि करिब २ वर्ष अघि नक्शासमेत तयार गरेपनि आर्थिक अभावका कारण उक्त योजना त्यसै हराएको छ।
विश्व बैंकको विश्व विद्यालय अनुदान आयोग, दोस्रो उच्च शिक्षा परियोजना तथा आन्तरिक श्रोतबाट समेत गरि ५ करोडको लागतमा ४ तल्ले अत्याधुनिक भवनको लागि केन्द्रबाट केहि रकम आईसकेपनि भवन निर्माणको काम भने शुरु हुन सकेको छैन।
भवन निर्माणको लागि योजना महाशाखाले गत वर्ष नै २५ लाख रुपैयामा क्याम्पसलाई उपलब्ध गराईसकेको छ।
तर क्याम्पसमा हुने अनावश्यक राजनीतिक प्रभावका कारण क्याम्पसले लिएको पञ्चवर्षीय योजनानै अलपत्र बन्ने गरेको एक कर्मचारीले बताए। पहिले स्ववियू निर्वाचनको समयमा विभिन्न विद्यार्थी संगठनहरुले गर्ने राजनीतिक गतिविधिका कारण पठनपाठनमा केहि अवरोध पुर्याउने गरेकोमा २०६५ सालपछि स्ववियू निर्वाचन हुन नसक्दा त्यस्ता गतिविधि भने बन्द भएका छन्।
तर क्याम्पस प्रमुख तथा अन्य कर्मचारी नियुक्तीमा हुने राजनीतिक चलखेलका कारण समय समयमा अध्यापन समेत प्रभावित हुने र अभिभावक तथा बिद्यार्थीहरु क्याम्पसमा भर्ना हुन ससंकित हुने अवस्था भने कायमै रहेको छ।
सोझासाझा तथा गरिब परिवारका विद्यार्थीहरुलाई क्याम्पसमा भर्ना हुन फलामका चिउरा चपाउनु सरह हुने गरेको छ।
उक्त क्याम्पसमा अध्यापन गराउने अधिकांश प्रध्यापकहरु निजी कलेजका संचालक वा शिक्षक हुने गरेको र यहांका अधिकांश उद्यमी ब्यापारीसमेत निजी शिक्षण संस्थामा लगानी गर्न उत्साहित हुदै गएका छन्।
जसका कारण सर्वसाधारण र निम्न बर्गिय परिवारको पहुँचमा रहेको भनिएको बुटवल बहुमुखि क्याम्पसको अवस्थाबारे चासो लिएर त्यसको उत्थान र बिकासमा लाग्ने शिक्षा सेवी नहुँदा क्याम्पसको भौतिक संरचना भने जिर्ण हुदै गएको छ।