पाँचथर जिल्लालाई सन २०१३ खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्ने अभियान अन्तिम चरणमा पुगेको छ।
जिल्लाका ४१ गाविसमध्ये ३९ वटा गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा भइसकेका छन भने बाँकी रहेको आङना गाविससमेत मंगलवारको मिति तय गरीसकिएकोले अब सदरमुकाम फिदिम मात्र घोषणाको तयारीमा रहेको छ।
जिल्लामा रहेका ३७ हजार ५ सय २४ घर धुरी मध्ये ३७ हजार १४ घरधुरीजमा राष्ट्रिय सरसफाई गुरुयोजनाको मापदण्ड अनुसारको पक्की चर्पी निर्माण कार्य सम्पन्न भई सकेको ,३ सय ७५ घर धुरीमा निर्माणाधिन अवस्थामा रहेको र बाँकी एक सय ४० घर धुरीमा चर्पी बन्न बाँकी रहेको फिदिममा आइतवार सम्पन्न जिल्ला स्तरीय स्वच्छता सम्वन्वय समितिको समिक्षा वैठकमा वताईएको हो।
सदरमुकाम फिदिमका अति विपन्न एक सय ४० घरधुरीलाइ चर्पी निर्माणमा सहयोग पुर्याउन आवस्यक सामाग्री गाविसको तर्फवाट वितरण गरीसकिएकोले अब एक हप्ता भित्रमा सबै घरमा मापदण्ड अनुसारको चर्पी बनिसक्ने फिदिम गाविसका सचिव प्रकाश अधिकारीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले आफ्नो घरमा चर्पी नवनाएर सार्वजनिक रुपमा फोहोर गर्नेलाई चेतावनी दिएर कारबाही गर्नुपर्ने साथै जिल्लाको अभियानलाई विफल पार्न अटेर गर्नेहरुलाई सरकारी सेवासुविधाहरु समेत कटौति गरेर अभियान सफल पार्नुपर्ने बताए ।
भेलाले स्थानीय विकास अधिकारी तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा विभिन्न राजनीतिक दल, सरकारी तथा संघ संस्था,व्यापारी वुध्दिजिवि ,संचारकर्मीलगायत सरोकारवाला सम्मिलित २ सय एक सदश्यिय मूल समारोह समिति सहित विभिन्न उप समितिहरु समेत गठन गरीएको छ।
आगामी पुस २५ गते भित्रमा सदरमुकाम फिदिमलाई घोषणा गर्न विभिन्न रणनीति तय गरी केन्द्र संगको परामर्शमा चाँडै जिल्ला घोषणा गरीने सम्वन्वय समितिका संयोजक एवं स्थानिय विकास अधिकारी श्रेष्ठले बताए ।
नेपाल सरकारको खानेपानी तथा सरसफाई गुरुयोजनामा सन २०१७ भित्र नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषण गर्ने तयारी अनुसार गत फागुन २० र २१ गते जिल्लामा सम्पन्न वृहत जिल्ला सरसफाई सम्मेलनले तय गरेको कार्यक्रम अनुसार पाँचथरले सन २०१३ भित्र घोषणा गर्ने प्रतिवध्दता जाहेर गरेको हो।
प्रतिवध्दता पूर्वाञ्चलकै पहिलो भएको जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजनका प्रमुख तथा जिल्ला स्तरीय स्वच्छता सम्वन्वय समितिका सचिव अनिल केशरीले बताए ।
अभियानको क्रममा जिल्लाका विभिन्न ८ गैरसरकारी संस्थाहरुसमेत परिचालीत भई सञ्चालीत अभियानमा जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन पाँचथरको एक करोड, जिल्ला विकास समिति, गाउँ विकास समिति गाउँ स्तरीय स्वच्छता सम्वन्वय समिति र विभिन्न दानवीरहरु समेतको सहयोग रहेको सव डिभिजन प्रमुख केशरीले बताए।