सधैं शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीले नागरिकको स्वास्थ्य क्षेत्रमा पनि आफ्नो क्रियाशिलता बढाउन थालेको छ। 'सर्वसासमुदायमा आधारित सुरक्षा नीति लागू गर्न' पूर्वक्षेत्रीय प्रहरी कार्यालयले स्वास्थ्यको सहज पहुँच नभएका विकट इलाकामा निःशुल्क स्वास्थय शिविर सञ्चालन सुरू गरेको हो। पूर्वक्षेत्रभरि अभियानकै रूपमा सञ्चालन थालिने निःशुल्क स्वास्थय शिविर शनिबार झापाको तोपगाछीबाट थालिएको छ।
मेची अञ्चल प्रहरी कार्यालयले संयोजन गरेको निःशुल्क स्वास्थ्य शिविरको पूर्वक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले उद्घाटन गरे। स्थानीय महेन्द्ररत्न उच्च माविमा आयोजित शिविरमा आँखा, नाक, कान, घाँटी, अर्थोपेडिक, स्त्री तथा प्रसूति रोग, छाला, फिजिसियन लगायतको जाँचपति औषधी वितरण गरिएको थियो।
मेची अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक केशरीराज घिमिरेका अनुसार शिविरमा १ हजार ५ सय बढी सर्वसाधारणले स्वास्थ्य सेवा पाएका छन्। 'प्रेसर छ, मुखमा घाउ छ, नजिकै स्वास्थ्य जाँच हुने थाहा पाएर आएको,' शिविर सहभागी तोपगाछी–२३ का ८० वर्षीय कृष्णबहादुर बुढाथोकीले भने, 'शिविर हुने हल्ला पहिलेदेखि थियो, अस्पताल जान धेरै टाढा छ।'
घिमिरेका अनुसार मेची अञ्चल अस्पताल, ओमसाई पाथिभरा, गोल्डेन अस्पताल, ओम मेची र मेची आँखा अस्पतालले प्राविधिक रूपमा सहयोग गरेका थिए। यी अस्पतालबाट वरिष्ठ चिकित्सकसहित ४० जनाको स्वास्थ्य टोली शिविरमा खटिएको थियो।
कार्यक्रममा बोल्दै डीआईजी सिलवालले जनतालाई हरेक किसिमको सेवा दिने उद्देश्यले विपन्न तथा स्वास्थ्यको पहुँच बाहिर रहेका सर्वसाधारणलाई प्रहरीले स्वास्थ्य सुविधा दिन थालेको बताए। 'नागरिकमैत्री सुरक्षा अभियानअन्तर्गत हामीले जनतालाई हरेक सेवा दिनुपर्छ भन्ने नीति अबलम्बन गरेका छौं,' सिलवालले भने, 'नागरिक–प्रहरी सम्बन्धलाई यसले अझै प्रगाढ बनाउने विश्वास लिएका छौं।'
उनका अनुसार पूर्वाञ्चलका १६ वटै जिल्लामा यस्तो शिविर आयोजना गरिने छ। प्रत्येक जिल्ला प्रहरी कार्यालयले चार महिनामा एकपटक विकट क्षेत्रका सर्वसाधारणकहाँ यस्तो शिविर गराउन सिलवालको निर्देशन छ। तोपगाछीको शिविरमा विभिन्न स्वास्थ्य संस्था तथा प्रतिष्ठानबाट औषधी निःशुल्क उपलब्ध भएको थियो।
प्रहरीको निःशुल्क स्वास्थ्य सेवाप्रति स्थानीय नागरिकले खुसी व्यक्त गरेका छन्। 'पेट दुखेर मर्न लागेकी थिएँ, गाउँमै स्वास्थ्य शिविर आयो, औषधी पनि पाइयो,' तोपगाछी–८ की तारा न्यौपानेले भनिन्, 'प्रहरीले राम्रो काम गर्यो।'