रुकुमको पुर्वी हुकाम गाविसस्थित डिम्मुरगैरा प्राथमिक विद्यालयका विद्यार्थीहरु पुस माघको चिसोमा पनि भुँईमा बसेर पढन विबश छन।विद्यालयमा पर्याप्त मात्रामा भवन र फर्निचर लगायतका भौतिक पुर्वाधारको अभावमा यसरी चिसोमा पढनु परेको उनीहरुको गुनासो छ।
समस्या यति मात्र होईन पिउने पानी पनि विद्यार्थी आफैले आधा घण्टा टाढाबाट बोकेर ल्याउनु पर्छ उनीहरुले। नत्र प्यासै बस्नुपर्छ कक्षा तिनका नरविर पुनले दुखेसो पोख्दै भने, 'न हामीलाई पिउने पानी सौचालयको ब्यवस्था छ न घाम पानी र चिसोबाट बच्ने स्कुल नै छ।'डिम्मुरगैरा प्राथमिक विद्यालय त एउटा प्रतिनिधि मात्र हो उसो त रुकुमका पुर्वी र उत्तरी गाविसमा रहेका सरकारी विद्यालयहरुको अवस्था सवैतिर यस्तै रहेको छ।
मगरहरुको बाहुल्यता रहेको हुकामका अधिकाँश सरकारी विद्यालयहरुको हालत उस्तै रहेको छ।
जिल्ला स्तरमा भवन तथा राहत दरबन्दी बाँडफाँड गर्दा दलीय सहमतिको आधारमा गर्ने परीपाटी रहेको छ त्यसैले पनी आवश्यक्ता भन्दा आ आफनो दलगत प्रभाव र दबाबमा परी गरीने निर्णयहरुका कारण यस्तो हुने गरेको एक शिक्षकले बताए। साढे तीनसय विद्यार्थी रहेको उक्त विद्यालयमा कक्षा पाँचसम्म पढाई हुने गरेकोमा अझै दुई कक्षालाई कोठा अपुग रहेको छ।
उता जिल्ला शिक्षा कार्यालय र सरोकारवाला निकायहरुले रुकुम जिल्लाको शैक्षिक अवस्थामा सुधार आएको र अधिकांश विद्यालयहरुमा बालमैत्री शिक्षण लागु गरेको दावी गरे पनि रुकुमका धेरै विद्यालयहरु भने उपयुक्त भौतिक पुर्वाधारको अभावमा प्राथमिक तहमा समेत विद्यार्थीहरुलाई भुँईमै राखेर पढाउन बाध्य छन।
खासगरी जिल्लाका हुकाम,मैकोट,राँसी,सिस्ने,जाँग,गोतामकोट,स्याँलाखदी लगायतका करीव एक दर्जन गाविसमा भवन र फर्निचरको अभावमा विद्यार्थीहरु यसरी पढीरहेका छन।