विराटनगर–४ आयल निगमबाट करिब तीन सय मिटर पश्चिम एउटा निजी स्कुल छ – ए वान क्वालिटी। त्यसको पश्चिमपट्टि आदिवासी परिवारको पक्की घर।
यो पृथ्वी टोल हो।
घरको आँगनमा एउटा बाख्रा थुन्नेजस्तो 'खोर' छ। पक्की घरको अर्कोपट्टि सुरमा काठको बेरा लाएर निर्माण गरिँदै गरेको उस्तै प्रकारको।
आँगनमा बनाइएको त्यो 'खोर'मा केही कपडा छन्। त्रिपाल टाँगिएको छ।
अर्कोपट्टि बन्दै तीनकुने आकारको खोर। झट्ट स्मरण गर्दा यी भौतिक पूर्वाधार बाख्रापाठा वा कुकुरका लागि बनाइएका खोर भन्ने सोचिएला।
कुप्रो शरीर। चाउरी परेको अनुहार। खुट्टामा ठूलो चोट छ। पावरवाला चश्मा। पछ्यौराको घुम्टो। पुसको सितलहर चलिरहेको छ। जाडोले ती बृद्धा दिउँसो पनि काँपिरहेकै जस्ती देखिन्छिन्।
यिनी हुन्, पूर्णिमादेवी राजवंशी। उमेर ७६।
र यी भौतिक संरचना उनैका लागि बनाइएका हुन्, जहाँ उनी पुसको जाडोमा कठ्यांग्रिएर रात काटिरहेकी छिन्। कतिबेला चिसोले लाग्ला भन्ने पीर उतिकै छ।
के भएको? ती संरचनातिर औंल्याएर भनिन्, 'छोराबुहारीले मलाई बस्न बनाएका घर यिनै हुन्।'
खड्गनारायण उनका एकमात्र छोरा हुन्। बुहारी आशा राजवंशी। नाति सर्विन। धरानमा इञ्जिनियरिङ पढ्छन्। सारदा प्लस टु पास। यी शिक्षित नातिनातिनालाई पूर्णिमादेवीको कष्टकर जीवनको मतलब छैन।
'तिमी यहीँ सुत भनेका छन्, भित्र छिर्न दिँदैनन्,' आँखा चल्मलाएर पूर्णिमादेवीले भनिन्, 'यो अलि नराम्रो भो भनेर उता (सुरतिर देखाउँदै) काठको बेरा लाएर बनाइदिँदैछन्।'
तीन वर्ष भो, घरको अन्न मुखमा नपरेको। जसोतसो मागेरै खाइरहेकी छिन्। 'बुहारीले काम गर्नेले मात्र खान पाउने, नगर्नेले खान नपाउने भनेर कुटपिट गर्न थालेपछि बाहिर मागेर खानुपरेको छ,' राजवंशी भन्छिन्, 'कतिदिन भोकभोकै पनि बस्नुपर्छ।'
छोराबुहारी बस्दै आएको घर
केही समयअघि मात्र पक्की घर बनेको रे। त्यसअघि फुसको घर रहेछ। पहिले त्यहीँ बस्थिन्। त्यो घरबाट छोराबुहारी सरेको एक महिना मात्र नाघेको छ। 'उनीहरू उता सरेपछि मलाई यहाँ राखेका,' उनी भन्छिन्, 'राति साह्रै जाडो हुन्छ।'
पूर्णिमादेवीका निमित्त घरको सुरमा बनिरहेको 'खोर' नजिकै ट्वाइलेट छ। 'रातविरात दिसापिसावका लागि सजिलो हुन्छ भनेर नजिकै बनाइएको रे,' पूर्णिमादेवी भन्छिन्।
छोराबुहारीले कुटपिट गर्ने, खाना खान नदिने, हेलोहोचो गर्ने लगायत गतिविधि गरेपछि तीन वर्षयता उनी मागेर खान बाध्य पारिएकी छिन्। 'यी बूढीको दुर्दशा देखेर हामीले घरमा सोधीखोजी गर्यौं,' संयुक्त टोल संगठन विराटनगर–४ की संयोजक दुर्गा चापागाईं भन्छिन्, 'हाम्रो घरको आन्तरिक मामला भन्दै बुहारीचैंले म राख्दै राख्दिन यसलाई, कसको अधिकार छ? भन्दै थर्काइन्।'
घरमै यो कुराको समाधान नहुने छाँट देखिएपछि टोल संगठनले अगुवाई गरेर जिल्ला प्रहरी कार्यालय गुहार्यो। जिल्ला प्रहरी कार्यालयले छोराबुहारीलाई घरैबाट उठाएर लग्यो। थर्कायो। पुलिसको खप्कीपछि आमालाई खोरबासबाट उन्मुक्ति दिने भनेर छुटकारा पाए। घर पुगेपछि पनि व्यवहार उस्तै छ।
गास, बास, कपासको आधारभूत अधिकार हो। यो अधिकार पाउँ भन्दा उनले खोरबास पाउनुपरेको छ। 'योभन्दा ठूलो अन्याय के हुन्छ र?,' चापागाईं भन्छिन्, 'यो चिसोमा उनको कतिबेला सास जाने हो!'
पूर्णिमादेवीका अनुसार अहिले बनेको घरको खड्गको बिहेमा जग्गा दाइजोमा प्राप्त भएको थियो। त्यही कारण 'मेरो बाबुआमाले दिएको जग्गामा तिमीलाई बस्ने अधिकार छैन भन्दै' बुहारीले टोकसो गर्न थालेकी राजवंशी बताउँछिन्। पूर्णिमादेवीमाथिको यो अन्यायबारे खड्गले आफू र श्रीमतीको बचाउ गरे। 'हामीले बस्न दिएकै हौं, खान दिएकै हौं,' उनले भने, 'आमा नै फन्किएर माग्न हिँडेकी हुन्।'
तस्बिरहरू : खिलानाथ ढकाल/सेतोपाटी