औद्योगिक घराना गोल्छा अर्गनाइजेसनको विराटनगर–३ स्थित मुख्य कार्यालयमा बिहीबार आगलागी हुँदा मुलुकका विभिन्न स्थानका दुई दर्जन उद्योग तथा कम्पनीहरूका कागजात खरानी भएका छन्। आगलागीमा ६ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
प्रहरीका अनुसार विहान करिब ९ बजेर १० मिनेटमा अर्गनाइजेसनको लेखा शाखामा विद्युत विच्छेद भई आगलागी भएको हो। लेखा शाखा अर्गनाइजेसनको तेस्रो तलामा छ। आगलागीमा तेस्रो र चौथो तला पुरै क्षति भएको अर्गनाइजेसनले जनाएको छ।
उक्त शाखामा विभिन्न कम्पनीका हिसाबकिताब, आयकर, मूल्यअभिवृद्धि कर, अन्तशुल्क उल्लेखित कागजात थिए। ‘चालु आर्थिक वर्षका सबै फाइल नष्ट भएका छन्,’ गोल्छा अर्गनाइजेसनका म्यानेजर मोहनलाल कोठारीले भने, ‘वर्षौंवर्षदेखिका कागजात खरानी भए।’
उनका अनुसार आगो सुरू भएको दुई मिनेटमै विराटनगर उपमहानगरपालिकामा खबर गरी दमकल मगाइएको थियो। तर दमकल एक घन्टा ढिलो गरी पुगेको थियो। ‘समयमै दमकल आएको भए यत्रो क्षति हुने थिएन,’ उनले भने, ‘दमकल आइपुग्दा आगो दुईटै तलासम्म फैलिसकेको थियो।’ इटहरी, धरान, विराटनगर र दमकका ५ वटा दमकलको सहायतामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले विहान ११ बजेतिर आगो नियन्त्रण लिएको थियो।
स्व. महेन्द्र गोल्छा, लोकमान गोल्छा, दिवाकर गोल्छा, दिनेश गोल्छा, राजकुमार गोल्छा लगायतले संयुक्त रूपमा वर्षौंदेखि कारोबार व्यापारिक कारोबार यही भवनबाट गर्थे। भवनको दोस्रो तलामा रहेको कार्यालय शाखामा भने क्षति भएन।
भूदेव ट्रेडिङ, हेम ट्रेडिङ, ई ट्रेडिङ, भूदेव खाद्य उद्योग, धिरज चामल उद्योग, भूदेव फुड एन्ड स्यान्क्स, डल्फिन डेभलपर्स, भूदेव चिया उद्योग, भूदेव आँटा मिल्स, कृतिका एजुकेसन एन्ड हेल्थ फाउन्डेसन, कृतिका इन्टरनेसनल, महेन्द्र गोल्छा प्रतिष्ठान, हंशराज हुलास चन्द एन्ड कम्पनी, श्री हनुमान इन्डष्ट्रिज, श्रेयान्स इन्टरनेसनल, हुलास वायर इन्डष्ट्रिज, प्राइम केबुल इन्डष्ट्रिज, प्राइम ओभरसियर, हुलास मोटर्स, अरिहन्त मल्टि फाइबर्स, रघुपति जुट मिल, इष्ट्र्रन सुगर मिल, हिम इन्टरनेसनल प्रा.लि. र माइनिङ कम्पनीका कागजात जलेर खरानी भएको अर्गनाइजेसन स्रोतले जानकारी दिएको छ।