महिलाहरु घरबाहिर निस्केपछि समाज अचानक हडबडाएको छ

चुनाव
  • Get News Alerts

अन्तरवार्ता
tata

सावित्री गौतम मुलतः महिलाका विषयमाथि लेख्छिन्। पोखराको रेडियो अन्नपूर्ण र रेडियो जननीमा करिब सात वर्ष विशेषतः बाल मनोविज्ञान, यौन दुराचार, महिला तथा उत्पीडनमा परेकाहरुको समस्यामाथि बहस चलाएकी उनी करिब आठ वर्षदेखि नियमित रुपमा उत्पीडनमा परेकाहरु (विशेष गरी महिला) का पक्षमा वकालत गर्दै स्वतन्त्र लेखनमा सक्रिय छिन्। लेखन तथा सार्वजनिक बहसमा निर्धक्क भएर स्पष्ट विचार राख्ने गौतमसँग नारिवाद, समाजमा यसको प्रभाव, नेपालमा महिलाको अवस्थाजस्ता विषयमा केन्द्रित रहेर सेतोपाटीका समुन्द्र राज घिमिरेले लिएको अन्तवार्ता प्रस्तुत गरेका छौं।

नारीवाद के हो? नारीवादी कसलाई भन्ने?

महिलालाई पूर्ण मानवको मान्यता दिइनुपर्छ, महिला भएर जन्मेकै आधारमा उसलाई उसका मानवोचित अधिकारबाट वन्चित राखिनु गलत हो भनेर चरणबद्ध रुपमा विभिन्न अधिकारको वकालत गर्ने विश्वव्यापी अभियान नारीवाद हो। संसारमा अधिकारका लागि भएका हजारौं आन्दोलनमध्येको यो मात्रै त्यस्तो आन्दोलन हो, जो बिना हातहतियार र बिना रक्तपात निरन्तर संसारभरि जारी छ। नारीवादले पुरुष र महिला दुवैलाई समान मानव ठान्छ। जसअनुसार न पुरुष बढी मानव हुन्, न महिला कम मानव। बरु आफूलाई बढी मानव मानिँदा, पितृसत्ताका कारण ‘सुपरह्युमन’ बन्नुपर्दा पुरुषको पनि शोषण भएको छ। त्यसैले महिलाको अवस्था समृद्ध हँुदा उनीहरु पुरुषको मात्रै हिस्सामा परेका सामाजिक—आर्थिक—पारिवारिक जिम्मेवारी बाँडफाँड गर्न सक्ने बन्छन्। जसको परिणामस्वरुप पुरुषले पनि आफ्नो बोझिल जिन्दगीबाट छुटकारा पाउँछ। यसले समाज सन्तुलित र समझदारीपूर्ण बन्छ। यसरी हेर्दा पुरुषको समेत वकालत नारीवादले गर्छ। नारीवादले पुरुषहरुको अस्तित्वलाई निमिट्यान्नै पार्ने भनेर भन्दैन।

नारीवादी कसलाई भन्ने भन्ने प्रश्नको जवाफ त झन् एकदमै सजिलो छ। नारीवादले महिलालाई पूर्ण मानव मात्रै ठान्छ त्योभन्दा बढी वा कम केही ठान्दैन। त्यसैले महिलालाई पूर्ण मानव मान्ने मानवतावादी जति सबैलाई नारीवादी भन्ने।

तपाईं आफ्ना स्तम्भमार्फत् नारीवादको खरो वकालत गर्दै हुनुहुन्छ। कसरी यति बोल्न सक्ने हुनुभयो?

नारीवादसम्बन्धी कुनै कोर्स गरेर म लेखनमा आएको होइन। आफूले देखे–भोगेका कुराको आधारमा अधिकारमुखी लेखन शुरु गरेँ, जसलाई नारीवादी लेखन भनेर वर्गीकरण गरियो। जसलाई मैले खुसीसाथ ग्रहण गरेँ। किनकि वर्षौं लामो संघर्ष गरेका, भोकै बसेका, जेलनेल खाएका, सडकमा कुटिएका, लाखौं लान्छना व्यहोरेर, पारिवारिक—सामाजिक जीवनको आहुति दिएर पनि भविष्यको पुस्ताको जिन्दगी सजिलो होस् भनेर अधिकारका आन्दोलनमा मरिमेटेका हाम्रा अग्रज महिलाहरुलाई नारीवादी भनिएको रहेछ। जसले आफ्नो ज्यानैसमेत जोखिममा पारेर संघर्ष गरिदिएका कारण मेरो जिन्दगी यत्तिको सहुलियतपूर्ण बनेको रहेछ भनेर मैले बुझें। र, म उनीहरुप्रति आभारी छु। उनीहरुको योगदानका अगाडि मैले केही पनि गरेकी छैन। यसका वावजुद उनीहरुकै लहरमा राखेर मलाई नारीवादी उपाधि दिइनु त मेरा लागि असाध्यै गर्वको कुरा हो। यही कारण उनीहरुको संघर्षलाई लज्जित र गलत व्याख्या नगरियोस् भनेर पनि म नारीवादको वकालत गर्छु।

कसरी बोल्न सक्ने हुनुभयो भन्ने सुन्दाचाहिँ म केही रमाइला प्रसंगहरु सम्झिन्छु। सानोमा म असाध्य नबोल्ने स्वभावकी थिएँ। ‘चाहिने कुरा पनि नबोलिदिने’ भन्दै म कैयौंपटक आमाबाट सजायसमेत पाउँथे। आमाले सोध्ने गरेको ‘अबदेखि बोल्छेस् कि बोल्दिनस्?’ भन्ने आवाज अभैm पनि मलाई स्पष्ट याद छ। आज पनि हरेकजसो पारिवारिक जमघटहरुमा मेरो नबोल्ने स्वभावको बारे नबिराइकन हाँसोठट्टा चलेकै हुन्छ। मेरो अनुभवमा आफू बाँचेको समाज—परिवेश र समय अनुसारको परिपक्वताले तपाईंलाई बोल्न सक्ने अझ भनौं, नबोली बस्नै नसक्ने बनाउँदो रहेछ। मेरो सवालमा म आफ्नो वरिपरिको समाज र परिवेशप्रतिको मेरो हेराई र तिनको आधारमा उब्जेका प्रश्नका कारण बोल्ने बनें। म हुर्कंदै गर्दा मसँगै मभित्रका प्रश्न पनि हुर्कंदै गए। सामाजिक न्याय र समानतामा विश्वास गर्ने बानी (र पारिवारिक पृष्ठभूमिसमेत) ले मलाई विस्तारै बोल्न सक्ने बनायो। किनकि नबोली यी सबै कुरा पाउन हाम्रोजस्तो देशमा कत्तिको गाह्रो छ तपार्इंलाई थाहै छ। हाम्रो परिवारमा यस्ता विषयमा सबै बोल्छन्। यो हाम्रो लागि अचम्मको कुरा होइन। मेरा लेखहरु पढेर भाइहरु भन्छन् पनि ‘सधैं घरमै छलफल गरिने कुरा त लेख्छौ के नयाँ लेख्छौ र।’ अलिकति हुर्केपछि म सधैं असमानताका विरोधमा लगातार बोली नै राखेको छु। त्यसमा महिला, पुरुष, बालबालिका, जेष्ठ नागरिक वा आफ्नै साथीमाथि परेको थिचोमिचो, अस्वाभाविक बजारभाउ वा बसभाडाको विरोध गरेकोदेखि लिएर आफ्नो घरपालुवा कुकुरलाई पिटिरहेका छिमेकीसँग ‘नपिट’ भनेर गरेको झगडासमेत सबैथोक जोडिन्छन्। पत्रिकामा लेख्न त धेरै पछि सुरु गरेँ। मेरा निकटका व्यक्तिहरुलाई मेरो स्वभावबारे राम्ररी थाहा छ पनि— कि म कसैलाई उसको रुप—रङ, उचाई, जात, धर्म, शारिरीक—मानसिक क्षमता, वा कुनै मानिसलाई आइमाईजस्तो, कुकुर वा बाँदरजस्तो भन्ने टिप्पणीको सधैं विरोध गर्छु। उचित पारिश्रमिक नदिइकन कसैलाई कजाउनु श्रम शोषण हो भनेर घरमा घरेलु सहयोगी राख्दिन। घरको काम आफैं गर्छु। किनकि, कसैलाई कैदी बनाएर आफ्नो ‘उडान’को गफ दिनु ढोंग हो भन्ने लाग्छ।

अस्ति भर्खर मातातीर्थ औंसीका बेला घर जाँदा मैले काकीकै अगाडि बुवालाई भनें, ‘जब फेसबुकमा उहाँले कपाल नछोपेका सयांै फोटोहरु हेरिसक्नुभएको छ भने प्रत्यक्ष पनि अब कपाल छोप्नुपर्दैन भनेर भनिदिनुुुस् न’ (हाम्रोमा जेठाजुको अगाडि बुहारीले कपाल छोप्ने चलन छ)। बुवाले ‘पर्दैन भनेकै छु’ भन्नुभयो। नीरा कँडेल भन्ने मेरी घनिष्ठ साथी छे। स्कुलदेखि बि.ए.सम्म सँगै पढेकी। मेरा हरेक लेखपिच्छे ऊ मलाई म्यासेज गर्छे। भन्छे, ‘बुझिस्, मलाई यो पालि पनि अचम्म लागेन, किनकि तँ सधैं यस्तै थिइस्, सबैभन्दा फरक।’

झन् रमाइलो अर्को प्रसंग पनि छ। हामीले आइ. ए. को जाँच दिएर बसेको बेला थियो। विमला कार्की भन्ने मेरी अर्की निकट साथीले एउटा हिन्दी पत्रिका बोकेर ल्याई। के—के नगर्ने भन्ने ६—७ वटा बुँदा लेखिएको पातो देखाउँदै उसले भनी ‘२ नम्बर बुँदा त ठ्याक्कै तेरो बारेमा लेखिएको रहेछ।’ मैले हेरेँ। जसमा लेखिएको थियो, ‘अन्याय सहन ना करें’ अर्थात् अन्याय नसहनु।

पत्रिकामा लेख्नुचाहिँ मेरो त्यही अन्याय नसहने स्वभावको विस्तारित स्वरुप (इन्लाज्र्ड भर्सन) हो। आफू र आफूजस्ता लाखौं महिलाको अन्यायपूर्ण सामाजिक—राजनैतिक अवस्थितिको विरोध र त्यसको सुधार हुनुुपर्ने माग हो। कम्तीमा मैले त शिक्षाको अवसर पाएको छु, शब्दहरुलाई खेलाउने सीप पनि छ भने मजस्ता हजारौं—लाखौं महिलाको प्रतिनिधित्व गरेर, हाम्रो साझा भोगाइ लेखेर म हाम्रो लागि आवाज उठाउन सक्छु नि। हाम्रा अग्रजहरुले यतिसम्म गरे हामीले भविष्यको पुस्ताका लागि अझै के–के सम्म गर्न सकिन्छ वा गर्नैपर्ने कुरा के–के छन् भन्ने जिम्मेवारीको पनि त कुरा हुन आउँछ। ‘एक्टिभिज्म’ भनेको नौदेखि पाँचको जागिर होइन पनि— कम्तीमा मेरो लागि होइन। मेरा लागि त यो आदत नै हो।

आफ्नो लेखबाट समाजमा कस्तो प्रभाव परिरहेको ठान्नुहुन्छ? आलोचना कत्तिको खेप्नुपरेको छ र ती कस्ता हुन्छन्?

मेरा लेखहरुले त्यस्तोविधि उथलपुथल नै ल्याएका छन् जस्तो त लाग्दैन। सामान्य नेपाली महिलाको जीवनस्तरमा मेरा लेखहरुले कुनै फरक पार्नुभन्दा पनि तिनमा नीति–निर्माता वा समाजका कथित ठेकेदारहरुको आ“खा परे महिलालाई हेर्ने नजरमा केही सुधार हुन सक्ला कि भन्ने आशा हो। तर एकजना मारवाडी साथीले ‘तीन—चारवर्ष यता म जति सशक्त भएँ तिम्रै लेख पढेर भएँ’ भन्दा म छक्कै परें। दिल्ली युनिभर्सिटीकी ‘गोल्ड मेडलिस्ट’ रहिसकेकी र आफैं ४—५ वटा व्यापारिक कम्पनी चलाइरहेकी उनले त्यसो भन्दा असाध्यै मन छोयो। धेरैजसो महिलाहरुले त ‘कस्तो मनकै कुरा लेखेको’ भन्छन्। सही मुद्दा उठाउँछौ भन्ने पुरुषहरु पनि प्रशस्तै छन्। नयाँ वा पुरानो पुस्ताका महिला वा पुरुष दुवैले मेरो लेखले उठाएका मुद्दामा ‘एग्री’ गरेको देख्दाचाहिँ खुसी लाग्छ। ‘तपाईंका लेखहरुकै कारण फेमिनिज्म पढ्न प्रेरित भएँ’ भन्ने कानुनकी विद्यार्थी वा ‘तपाईंको अन्तरवार्ता वा लेख प्रिन्ट गरेर क्लासमा पढाएँ’ भन्दै गरेका लैंगिक अध्ययनका प्राध्यापकहरुका ‘रेस्पोन्स’ देख्दा कम्तीमा मुद्दाले बहसमा प्रवेशचाहिँ पाएका छन् है भनेर हौसला आउँछ। अस्ति भर्खर मेरो लेख पढेर हिसिला यमीले ‘लेखिदिएकोमा धन्यवाद’ भन्दै इमेल पठाएर फोन नम्बर माग्नुभयो। त्यस्तै एकपटक ‘वर्ड वारियर’ ग्रुपकी कवि युक्ता बज्राचार्यले ‘तपाईंका लेखले मलाई पनि लडिरहने ऊर्जा आउँछ’ भनिन्। आफूभन्दा अघिल्लो पुस्ताका र नीति–निर्माण तहमा दखल दिन सक्ने राजनीतिकर्मीको कानमा आफ्नो कुरा पर्दा ‘ल मुद्दाहरु समेटिने सम्भावना छ’ जस्तो लाग्ने रहेछ। वा आफूभन्दा अनुज पुस्ताकाले ‘लड्ने हौसला आउँछ’ भन्दा ‘ल आफूले नसक्दाको दिन पनि मोर्चा सम्हाल्ने उनीहरु छन्’ भन्ने आश लाग्दो रहेछ।

लेख पढेर अलोचना गर्नेभन्दा सहमत हुने नै धेरै छन्। तर, आलोचना पनि नसुनिने होइन। आलोचना भन्ने कि कुतर्क, सबै उस्तै ‘कमन’ खालका हुन्छन्। ‘समाजमा तपाईंले लेखेको जति विभेद त छैन भो’ भन्छन्। ‘तपाईं नकारात्मक कुरा लेख्ने, फलानाको लेख पढ्दा कस्तो आनन्द आउँछ’ पनि भन्छन्। एक जना पुरुष साथीले त ‘हामीजस्ता पुरुष नि छौं श्रीमतीको स्यानिटरी प्याडसमेत तह लगाइदिने, तपाईंले हामी जस्तालाई देख्नुहुन्न?’ समेत भनेका छन्। कहिलेकाहीं घन्टौंसम्म उनीहरुलाई सम्झाएर बस्नु पनि परेको छ। कतै कार्यक्रममा गयो ‘तपार्इंले लेखेकोमा मेरो यो आपत्ति छ’ भनेर सोध्ने, ‘तपाईं नारीवादको साँघुरो घेरामा अल्झिनुभयो, योबाट अगाडि बढ्नुुस’ भन्ने, ‘तपाईंले जतिसुकै लेखे पनि महिलालाई हेप्ने महिला नै हुन क्यारे, बरु उनीहरुलाई सुधार्ने लेख लेख्नुस् न’ भन्ने व्यक्तिसमेत छन्। लेखाईको लवज ‘उग्र’ वा अशिष्ट भयो भन्ने पनि सुनिन्छ। घरमा आउने पाहुना वा बाहिर हुने जमघट जतासुकै सबै आफूतिर बन्दुक तेस्र्याएर बसेका छन् र आफू सधैं जवाफी ‘फायरिङ’को लागि तयार भएर बस्नु परेको जस्तोे पनि लाग्छ। नारीवादको असलियत के हो भन्ने पढ्दै—नपढेर, बुझ्दै—नबुझी गरेका अन्टसन्ट कुतर्कहरुको जवाफ दिनुपर्दा कहिलेकाहीँ असाध्यै थकाई र झर्को लाग्छ। तर, आफूले लेखेको पुरुषविरुद्ध नभइ पुरुषलाई केन्द्रमा राखिएको सामाजिक संरचनाको विरोधमा हो भन्ने आफूलाई थाहा छ। मन कोक्याउने घटना दिनहुँ घटिरहने समाजमा बसेर ‘मन बहलाउने’ कुरा लेख्न पनि सकिँदैन। समसामयीक विषयको स्तम्भ लेखन मन बहलाउने लेखन होइन पनि। त्यसैले त्यो उनीहरुकै समस्या हो, मेरो होइन।

नारीवादी लेखनबाट तपाईंको आफ्नै जीवनमा चाहि के असर/प्रभाव परेको छ?

स्वीकार्नै पर्ने कुराचाहिँ एउटा अधिकारवादी लेखकको रुपमा मेरो लोकप्रियता बढेको छ। मैले मान्छेहरु चिन्दैछु, मान्छेहरुले मलाई चिन्दैछन्। मेरो ‘ग्रोथ’ भइराखेको समय छ। हिजो पत्रिकामा मात्र लेख्थेँ, आज सार्वजनिक बहस र टिभी शोहरुमा बोलाइन्छु। आफूले जे भन्न खोजिरहेको हो, त्यो गम्भीरतापूर्वक सुन्ने मान्छेहरुको संख्या बढ्नु खुसीको कुरा हो पनि। किनकि धेरै मान्छेहरुले सुनुन् र सहमत होउन् भन्ने नै उद्देश्य हो। मेरा स्तम्भहरु पढेको आधारमा कतिपयलाई लाग्दो रहेछ, म समाजशास्त्र वा लैंगिक अध्ययनको प्राध्यापन गर्छु वा कुनै अधिकारसँग सम्बन्धित गैरसरकारी संस्थामा काम गर्छु। पोखरामा त धेरै अघिदेखि नै त्यस्तै खालका बहस वा प्रेजेन्टेसनमा बोलाई नै राख्छन्। तर मैले समाजशास्त्र वा लैंगिक अध्ययन पढिसकेर लेख्न सुरु गरेको होइन। आफूले देखे–भोगेको सामाजिक राजनीतिको आधारमै लेख्न सुरु गरेको हुँ। म त अंग्रेजी साहित्यको विद्यार्थी हुँ। त्यसैले ती विषयहरुको टेक्निकल व्याख्या नै गर्नचाहिँ मलाई गाह्रो पर्छ। यी सबैका कारण मलाई आफ्नो काममा अझ बढी अध्ययन अनुसन्धानको जरुरत महसुस भएको छ। महिला र लैंगिकताको क्षेत्रमा काम गरेका अग्रज प्राध्यापक, अनुसन्धाता वा अधिकारकर्मीहरु पनि मलाई अझ बढी अनुसन्धानमुखी लेखन र लैंगिकताकै विषयको औपचारिक र उच्च डिग्रीका लागि बारम्बार घच्घच्याइराख्छन्। मबाट गरिएको यतिविधि अपेक्षाका कारण एक डेढ वर्ष यता मलाई अब पहिलाजस्तो महिना डेढ महीनामा एउटा लेख लेख्यो र आरामले बस्यो गर्न सम्भव छैन भन्ने लागेको छ। पत्रिकामा स्तम्भ लेखनबाट सुरु गरेको यो ‘इन्टेलेक्चुअल फाइट’लाई एउटा गन्तव्यमा पु¥याउन अझ ठूलो लेभलको र ‘कंक्रिट टेक्स्ट’मा काम गर्न ढिला नै भैसक्यो भन्नेसमेत लागेको छ। यसलाई प्रभावभन्दा बढी जिम्मेवारीको दवाब भन्न मिल्ला। तर, यो सकारात्मक र आफूलाई क्रियाशील राख्न सघाउने खालको दवाब हो।

हाम्रो समाजमा महिलाहरुको स्थान निकै दयनीय छ कि सुधारोन्मुख छ?

दुवै छ। कुनै ठाउँमा सुधारोन्मुख छ त कुनै ठाउँमा दयनीय। सार्वजनिक वृत्तमा महिलाको उपस्थिति बाक्लो देखिन लागेको छ। सामाजिक रुपमा उनीहरुको भेषभूषा वा स्कुल कलेज जान पाएको देख्दा वा उनीहरुले आइसक्रिम वा जागिर खाएको देख्दा सुधारोन्मुख छ जस्तो लाग्छ। एक—दुईजना सुविधासम्पन्न महिला देख्दा कहाँ छ र विभेद भन्ने पनि लाग्छ। तर, महिलालाई सबै मौलिक अधिकारहरु निःसर्त प्राप्त भएको छैन। किन्न सक्ने परिवारले शिक्षा किनेर दिएका छन्। रोजगारीको अवस्था पनि अत्यन्त सीमित छन्। शिक्षा किनेर दिलाउन नसक्ने आमाबाबुका छोरीहरु अझै पनि जाँच फिस तिर्न नसकेकोमा स्कुलबाट निकालिएकै छन्। केही बोल्ड र शिक्षित भनिने परिवारका महिला पनि दिनभरि त सशक्तीकरणका कुरा चर्को स्वरमा गर्छन्, साँझको पाँच नबज्दै उनीहरुको ‘भोलुम डाउन’ भैसक्छ, बोलीमा रहेको स्पिड पैतालामा सर्छ र उनीहरु १०० मिटर रेसमा दौडेको जस्तो गरी घर पुग्छन्। किनकि, सामाजिक सुरक्षाको दारुण स्थिति र बलात्कारको डरलाग्दो तथ्यांक जिउँदै छ। महिलामाथिका हरेक खालका हिंसाको सघनता उस्तै छ। शिक्षा वा रोजगारीजस्ता आधारभूत अधिकारहरु परिवारविशेषको उदारता वा आफ्नो संघर्षको दममा प्राप्त गर्नुपर्ने स्थिति अझै छ। महिलाको वैवाहिक स्वतन्त्रताको अवस्था त दयनीय नै छ। वीरगन्जकी रिंकुको बारे त तपाईंले सुन्नु नै भयो होला। देशको मध्यभागमा रहेको सहरमै एक सत्र वर्षीया किशोरी बालविवाहबाट बच्नका लागि घर छोडेर भाग्नुपर्ने स्थिति छ। जबकि, बालविवाह कानुनमा दण्डनीय छ। भाग्न नसकेका अरु कति रिंकुहरु त बालविवाहबाट प्रताडित भइरहेकै होलान्। बालविवाह दण्डनीय छ भनेर समाजमा यति दह्रो रुपमा स्थापित हुनुपर्ने हो कि, परिवार र समाजले आफैं छोरीहरुको बालविवाह गरिदिने हिम्मत नगर्नु पर्ने हो नि।

गरीबीको महिलाकरण भन्ने शब्दावली हुन्छ, फेमिनिज्ममा। परिवार गरीब छ भने त्यसले स्वतः छोरीहरुको शिक्षा र पोषणमा लगानी गर्न छोड्छ। जसको असर भविष्यमा उनीहरु हुर्किसकेपछि पनि अशिक्षित रहेका कारण रोजगारी नपाउने वा बिना पोषण हुर्केका कारण शारिरीक श्रमसमेत गर्न नसक्ने जस्तो रुपमा उनीहरुको जीवनभरि कायम रहन्छ। सोसल स्टाटिक भनिने अर्को शब्दावली हुन्छ, कुनै चीजको अपरिवर्तनीय अवस्थालाई परिभाषित गर्ने। महिलाको क्षेत्रमा अनुसन्धानरत हाम्रा अग्रजहरु हामीलाई भनिरहन्छन्, जबसम्म समाजका एक जनासम्म पनि महिलाको स्थिति परिवर्तन नभएको देखिन्छ भने त्यसमा खुसी हुने अवस्था रहँदैन। छुटाउनै नहुने कुराचाहिँ सामाजिक रुपमा जतिसुकै सशक्त, सम्पन्न देखिने र जुनसुकै वर्ग समुदायका नेपाली महिला किन नहुन्, राज्यको नजरमा उनीहरु अत्यन्त अपमानित हुन्, अनागरिक र ‘अर्काको घर जाने जात’ घोषित गरिएकाहरु नै हुन्। किनकि, संविधानमा आमाको नामबाट निःसर्त नागरिकताको प्रावधान छैन।

पछिल्लो समय नारीका विषयमा थुप्रै बहस भइरहेको देखिन्छ। यो अवस्था केको उपज हो?

सार्वजनिक वृत्तमा महिलाको बाक्लो उपस्थिति यसको उपज हो। किनकि, अबको प्रतिस्पर्धायुक्त समाजमा महिलालाई घरभित्रै बसिरहन सम्भव छैन। स्वयं उसको परिवार नै यो चाहँदैन। उनीहरुले आफ्नो शैक्षिक योग्यताले वा व्यक्तित्वले मागेको जति स्वतन्त्रता र मोबिलिटी त प्रयोग गर्ने नै भए। अर्को कुरा नीति–निर्माण तहबाट पनि महिलाका पक्षमा सकारात्मक विभेदका थुप्रै व्यवस्था भएका छन्। यद्यपि, हुन बाँकी कुरा नै धेरै छन्। सरकारी—गैरसरकारी र सामुदायिक हरेक ठाउँमा महिलाको अनिवार्य समानुपातिक सहभागिता हुनैपर्ने प्रावधानले पनि यो बहस जरुरी भएको छ। हिजोसम्म ‘गृहलक्ष्मी’ बनेर घरभित्र थन्किएका महिलाहरु अब घरबाहिर निस्केका छन्। र, समाज अचानकसँग हडबडाएको छ कि, उनीहरुसँग कसरी बोल्ने, कसरी व्यवहार गर्ने, के स्थान दिने आदि। त्यसैले बहस त हुने नै भयो।

यो अवस्था आउनुमा नारीवादी लेखकहरुको योगदान कत्तिको छ?

लेखकहरुको योगदान छँदै छैन भन्न त मिल्दैन। तर, नेपाली महिलाको अवस्था सुध्रिनु/बिग्रनुमा यहाँका नारीवादी लेखकहरुकै त्यति ठूलो र देखिनेगरी योगदान पुगेको छ जस्तो त मलाई लाग्दैन। लेखकहरुले त मुद्दाको उठान गर्ने हो। त्यसको असर प्रत्यक्ष भन्दा पनि अप्रत्यक्ष र ढिला गरी हुन्छ। महिलाको अवस्था परिवर्तन हुनका लागि त राजनैतिक व्यवस्था परिवर्तन, प्रत्येक व्यवस्था परिवर्तनपिच्छे नीतिनिर्माण तहमा समेटिएका महिलाका विभिन्न मुद्दाले काम गर्ने हो। र, ती मुद्दा समेटियोस् भन्नका लागि महिला आधिकारकर्मी, अनुसन्धाता, अभियन्ता र सबैभन्दा बढी राजनीतिकर्मीहरुको प्रत्यक्ष योगदान रहन्छ। नेपालको सन्दर्भमा उहाँहरुको निकै धेरै योगदान रहेको पनि छ। महिलाका हरेक मुद्दामा वर्षौंसम्म अध्ययन–अनुसन्धान–पैरवी गरेका, नीति–निर्माताहरुलाई समेत नै प्रशिक्षण वा दवाब दिएका वा राजनीतिमा वर्षौंसम्म सक्रिय अग्रज महिलाहरु थुप्रै छन्, जो अझै पनि यी सबै काममा क्रियाशील देखिन्छन्। उनीहरुको दाँजोमा लेखकहरुको योगदान अझै स्पष्ट देखिने गरी आउन बाँकी नै छ। किनकि लेखकले काम गर्ने भनेको समाजको डिस्कोर्स निर्माणमा हो। महिलाको व्याकरण प्रयोग गरेर समाजका डिस्कोर्सहरु लेखिएको, बोलिएको र छलफल गरिएको महसुस आजसम्म भएको छैन। त्यो दिन ल्याउनका लागि नारीवादी लेखकहरुले प्रशस्त मेहनत गर्न बाँकी नै छ।

के यो बहस पर्याप्त मात्रामा भइरहेको छ?

छैन। एक त बहस नै पर्याप्त मात्रामा भएको छैन। जति बहस भएका छन्, ती पनि हुनुपर्ने दिशामा भएका छैनन्। महिलाका विषयलाई लिएर पत्रपत्रिकाका पेजमा वा सार्वजनिक कार्यक्रममा महिलाका खास मुद्दा के हुन् भनेर बहस नै हुँदैन। धेरैजसो लेखक, सहजकर्ता र अन्तरवार्ताकारहरु महिलाका पनि यति—यति दुर्गुण छन् नि भन्नेजस्ता व्यक्तिगत टिप्पणी लेखेर वा प्रश्न सोधेर सुरुमै बहसलाई बहकाउँछन्। यस्ता व्यक्तिगत कटाक्ष वा टिप्पणीको स्पष्टीकरण दिँदैमा कुनै महिला (वा नारीवादी) को जीवनको सम्पूर्ण ऊर्जा सकिन्छ। जबकि, यी वादविवादबाट अगाडि बढेर गर्नुपर्ने काम कति छन् कति। नारीवादी आन्दोलन खासमा के हो, कसरी सुरु भयो, नेपालमा यसको प्रभाव कहिलेबाट र कसरी प¥यो, नेपालको महिला आन्दोलनले आजसम्म के–के उपलब्धि ग¥यो, के–के बाँकी छन् भन्ने जानकारी खासमा यस्ता बहसहरुबाट थाहा हुनुपर्ने हो। तर, यस्ता जानकारी कसै–कसैले पाएकै छैनन्। किनकि, यस्ता बहसहरुमा यो क्षेत्रमा वर्षौं लामो काम गरेका विज्ञ महिलाहरुको सहभागिता हुँदैन। उनीहरु सहभागी भए भने यस्ता बहसहरु बहकिन्थेनन् कि जस्तो लाग्छ तर उनीहरुलाई कसैले सम्झिँदैन।

नारीवादबारे भ्रम सिर्जना गर्ने नारीवादी लेखकहरु नै हो भन्छन् नि? नारीवादबारे नारी लेखकहरु नै एकमत हुन नसकेका हुन्?

नारीवादबारे भ्रम सृजना नारीवादी लेखकले गरेका छैनन्। उनीहरु त्यो गर्नै सक्दैनन्। नारीवादबारे महिला लेखकहरु एक हुन नसकेको भन्नेचाहिँ बरु मान्न सकिन्छ। किनकि, शरीरले महिला हुँदैमा सबै महिला लेखक नारीवादी हुन् भन्ने ग्यारेन्टी हुँदैन। केही महिलाले नै लेखेका लेखहरुका एक—एक वाक्य उदाहरण दिन्छु म तपाईंलाई। जस्तै—‘गाउँका महिलालाई नारीवाद कुन चराको नाम हो के थाहा’, ‘राति घर आउँदा मलाई गाली गर्ने आमा नै हुन् बाऊ होइनन्’, ‘भ¥याङमुनिको स्कुटर निकाल्न पुरुष चाहिनेहरुले नारीवादको गफ किन गर्नु’ आदि। गाउँका महिलालाई नारीवाद कुनै चराको नाम भन्ने थाहा नहोला, तर नेपालको कानूनले सम्बन्धविच्छेदलाई कानुनी मान्यता दिएको छ र भोलि श्रीमानले कुटपिट वा हिंसा गरे म छुट्टिन पाउँछु भन्ने थाहा छ, जुन अधिकार नारीवादीहरुले स्थापित गरेका हुन्। सरकारी गैरसरकारी सबै ठाउँमा महिलाको समानुपातिक प्रतिनिधित्वको अनिवार्य प्रावधान छ भन्ने उनीहरुलाई थाहा छ, र आज उनीहरु गाउँका दुग्ध सहकारीदेखि वडा वा नगरपालिकाको प्रतिनिधिको रुपमा समेत चुनाव लड्न तयार छन्, जुन प्रावधान नारीवादीहरुकै लगातारको लडाईंको प्रतिफल हो। यस्ता हजारौं उदाहरण हुन सक्छन्। राति घर आउँदा आमाले गाली गर्छिन् किनकि बाल्यकालदेखि आजसम्म आफूले समेत भोगिरहेको यौन हिंसाको भयावहता उनलाई थाहा छ र यसबाट छोरीलाई बचाउने उपाय भनेको उसलाई घरभित्र राख्ने नै हो भन्ने उनलाई लाग्छ। नारीवादीहरुले उठाएको महिलाको सामाजिक सुरक्षाको मुद्दा स्थापित हुनासाथ छोरीप्रतिको आमाको डर स्वतः हराउँछ र उनले गाली गर्न छोड्छिन्। अब भ¥याङमुनिको स्कुटर भन्ने कुरा—नारीवाद शारिरीक शक्ति प्रदर्शनको मुद्दा होइन नि, हामी जैविक रुपमा फरक छौं तर असमान छैनौं, जैविक फरककै आधारमा असमान व्यवहार सह्य छैन भन्ने मुद्दा पो नारीवादीले उठाएको मुद्दा हो। यो सबै जानकारीको अभाव हो, अध्ययनको कमी हो। अलिकति अध्ययन गर्नासाथ उनीहरुलाई आफ्ना तर्कहरु कति हास्यास्पद रहेछन् भन्ने थाहा भैहाल्छ।

कुनै साहित्यिक कृति या फिल्मबारे बोल्नुपर्दा कतिपय ‘पुरुष समालोचक’ हरु ‘यो कुरा नारीवादीहरुलाई नपच्न सक्छ’ जस्ता वाक्यहरु प्रयोग गर्छन्। के नारीको विषयमा बोल्नु ‘नारीवादी’हरुको मात्रै दायित्व हो? अनि, ‘नारीवादी’ नारीहरुको लागि मात्र बनेको विशेषण हो?

समाजमा धेरैजसो महिलाले स्वतःस्फुर्त रुपमा आफूमाथिको अपमानजनक र तल्लो दर्जाको व्यवहार सहन गरेका हुन्छन्। मेरै कतिपय साथीहरु ‘आइमाई भएपछि यति त सहनु प¥यो भो’ भन्छन्। तर, आफूलाई नारीवादी भनाउनेहरुले सहन गर्दैनन्। यो कुरा बुझेका जोसुकै व्यक्तिहरु आफ्नो स्वभावजन्य विशेषताअनुरुप जब कुनै अपमानजनक कुरा बोल्ने तयारीमा हुन्छन्, आफूलाई पहिल्यै सुरक्षित गर्न उनीहरु त्यस्ता वाक्य प्रयोग गर्छन्। नारीवादीहरुले नपचे पनि यो सबै सुनिदिउन्, बेवास्ता गरिदिउन् र सार्वजनिक ठाउँमा आफू लज्जित हुने वा वादविवादको स्थिति नआओस् भन्नका लागि उनीहरु त्यसो गर्ने हुन्। किनकि, ती आक्षेपहरु कुन आधारमा लगायौं भनेर कसैले गम्भीर रुपमै सोधे उनीहरुसँग त्यसको सामना गर्ने शब्द वा तर्कहरु हुँदैनन्। महिलाका बारेमा बोल्नु महिलाको मात्रै दायित्व होइन। यो त समानतामा विश्वास राख्ने सबैको दायित्व हो। मैले माथि नै भनेको जस्तो महिलालाई पूर्ण मानव मान्नेहरु सबैको। नारीवादी उपाधि नारीहरुको लागि मात्रै बनेको पनि होइन। फेमिनिज्मले नै ‘फेमिनिज्म इज नट बायोलोजिकल’ भनेर भन्छ। अर्थात्, जैविक रुपमा तपाईं कुन लिंगको भन्ने कुराले तपार्इं नारीवादी हो कि होइन भन्ने निर्धारण गर्दैन। तपाईंको शरीर स्त्रीको र सोच पितृसत्तात्मक पनि हुन सक्छ र शरीर पुरुषको र सोच समानतावादी यानिकि, नारीवादी पनि हुन सक्छ।

‘नारीहरु विभेदमा छन्, यो हट्नुपर्छ’ भनेर लेख्ने कतिपय आफूलाई नारीवादी विशेषणबाट अलग्गै राख्न चाहन्छन् उनीहरुमा यो डर किन? र, यस्तो अवस्था कसरी सिर्जना भयो जस्तो लाग्छ?

नारीवादको अभियान जहाँबाट सुरु भयो अर्थात्, पश्चिममा। त्यहाँ पनि नारीवादीहरुलाई पुरुषविरोधी भन्न छाडिँदैन। नारीवादी भनेपछि संसारभर नै पुरुषविरोधी भनेर बिल्ला लगाउने र लज्जित गरिने काम हुन्छ। नेपालमा नहुने कुरै भएन। नारीवादी विशेषणबाट आफूलाई अलग राख्न चाहने साथीहरु र हामी, जसलाई यो उपाधिसँग आपत्ती छैन, दुवैले उठाएका एजेन्डा त उही छन्, समानताका। तर पनि उनीहरु किन यो उपाधिले आफूलाई चिनाउन चाहँदैनन् त्यसको कारण त उनीहरु नै भन्न सक्लान्। सायद, यही पुरुषविरोधीको बिल्ला लगाइन्छ र आफू पुरुषविरोधी होइनौं भन्न खोजेका पो हुन् कि? पुरुषविरोधी त हामी पनि होइनौं र यो बिल्ला नियतवश नै लगाइएको हो भन्ने थाहा भएपछि यो विशेषणबाट भाग्न वा अलग हुन जरुरी पनि छैन। सायद यो भ्रम चिर्ने जिम्मेवारी पनि हामीमै छ। एकअर्कासंंँग प्रशस्त जमघट र छलफल गरेर हामी यसबारे स्पष्ट हुन सक्छौं।

नारीवादीलाई ‘परिवार/समाज भाँड्ने महिला’ भनेर पनि चिनाइने गरिन्छ नि?

नारीवादीहरुले समानताको र समान अधिकारको कुरा गर्ने हुन्। त्यसका लागि उनीहरु विभिन्न सार्वजनिक ‘फोरम’हरु प्रयोग गर्छन्। कसैको घरघरै गएर ती परिवारका महिलालाई ‘तिम्रो घर यसरी भाँड्नु’ भनेर ‘होम ट्युसन’ दिन्छन् जस्तो त लाग्दैन। म आफैं पनि दिन्न। यदि, तपाईं आफ्ना घरका महिलालाई ‘सबोर्डिनेटेड सेक्स’ (तल्लो वा दोस्रो दर्जाको, सहायक लिंग) मान्नुहुन्छ र त्यही अनुसारको व्यवहार वर्षौंदेखि गरिरहनुभएको छ। उनीहरुले नारीवादबारे पढे—बुझे र ममाथि जे भइरहेको थियो/छ त्यो त गलत पो रहेछ भनेर आवाज उठाए भने त्यसबाट तपाईंको घरमा आएको उथलपुथललाई कुन शब्दले परिभाषित गर्ने भन्ने कुरा हो। तपाईंलाई आज भाँडिएको जस्तो लागेको घर नभाँडिएको चाहिँ कहिले रहेछ त? तपाईंको नजरमा पो सप्रेको, परिवारका महिलाको नजरमा त त्यो उहिल्यै भाँडिएको रहेछ नि। यस्तो घरमा भाँडिनुबाट जोगाउनुपर्ने चाहिँ के रहेछ भन्ने कुरा सोचनीय हो। जुन घर—परिवारका पुरुषले महिलाको समान अस्तित्व स्वीकार गर्छन्, उनीहरुलाई बराबरको पार्टनरको मान्यता दिन्छन्, उनीहरुले कहिले नारीवादीले घर भाँडेको भन्दैनन्, बरु उनीहरु आाफैं नारीवादी हुन्छन्।

कतिपयले नारीवाद भनेको ‘आइएनजिओ/एनजिओको खेती’ हो र यो ‘नेपालको माटो सुहाउँदो छैन’ पनि भन्छन्।

नेपालमा जतिबेला महिला अधिकारको बारेमा मुखर भएर कुरा गर्न सकिने स्थिति थिएन, अर्थात् पन्चायतकाल, त्यतिबेला यो ‘महिला र विकास’ नामबाट घुमाउरो गरी छिरेको पक्का हो। जसलाई आज ‘विकासे नारीवाद’ नामले व्यंग्य गरिन्छ। उतिबेला महिला र विकासको क्षेत्रमा काम गरेका विज्ञ र आजका एनजिओकर्मीहरुको समर्पणमा आकाश–जमीनको फरक छ त्यो पनि सत्य हो। तर, नेपालमा महिलाको अधिकारका लागि लडेका ‘महिला सुरक्षा दवाब समूह’ जस्ता समूह पनि थिए जो कुनै एनजिओ थिएनन्। स्वतन्त्र र स्वतःस्फुर्त रुपमा अधिकारका बारे बोल्ने—लेख्ने वा सडकमा प्रदर्शन गर्ने हामीजस्ता महिला वा पुरुषहरुसमेत पहिला पनि थिए, अहिले पनि छन्। नारीवाद समानताको मुद्दा हो र यो आजको समयमा एनजिओ/आइएनजिओको कब्जामा मात्रै सीमित छजस्तो मलाई लाग्दैन। महिलाको क्षेत्रमा मात्र किन, अरु थुप्रै क्षेत्रमा काम गर्ने हजारौं एनजिओ/आइएनजिओ छन्। सबैको बेइमानीबारे बेलाबेला प्रश्न उठेकै हुन्छन्। यदि, यिनीहरु गलत हुन् भने त सबैको बारे खोजखबर गरिनुप¥यो र कारवाहीको दायरामा ल्याइनुप¥यो वा खारेज नै गरिनुप¥यो। र, सबभन्दा महत्वपूर्ण कुरा सरकारी सरोकारवाला संस्थाहरु जिम्मेवार भएर काम गर्न थाले भने एनजिओ/आइएनजिओ आफैं विस्थापित भएर जान्छन्। त्यसैले, नारीवादलाई गैरसरकारी संस्थासँग जोडेर उही ‘डलर खेती’ को ‘आउटडेटेड’ राग अलापिराख्नुको कुनै तुक छैन।

संसारका सबै मानव मानव नै हुन् र सबैखाले विभेद विभेद नै हुन्। त्यसैले यो ‘माटो सुहाउँदो नारीवाद’ भन्ने तर्क वाहियात हो भनेर मैले लेखी नै सकेको छु। बरु, अब नारीवाद वा महिलाका मुद्दालाई ‘मूल प्रवाहीकरण’ र ‘समानता’ भन्ने ‘जार्गन’मा मात्र अल्झाएर बस्नु पर्याप्त नभएको चाहिँ पक्का हो। यी शब्दहरुको विनिर्माण गरेर यिनलाई व्यवहारमा उतार्न ढिला नै भैसकेको छ। समानता के–के कुरामा हुन बाँकी छ, वा कुन–कुन मुद्दाहरुको मूल प्रवाहीकरण गरिनु जरुरी छ भनेर छलफल गरिनु र त्यहीअनुसार काम गरिनु आवश्यक छ। जस्तो कि, देशले दश वर्ष लामो द्वन्द्व भोग्यो। त्यसबाट कति आर्थिक र भावनात्मक क्षति भयो? ‘छोराकी आमा’ र ‘लोग्नेकी स्वास्नी’ जस्ता दुई शब्दमा मात्र आफ्नो अस्तित्वको सम्पूर्ण ब्रह्माण्ड कायम रहेका नेपाली समाजका महिलाहरुले लोग्ने र छोरा गुमाएको अवस्थालाई, त्यो मानसिक—भावनात्मक क्षतिलाई कसरी व्यहोरे, कसरी ह्याण्डल गरे? सिउँदो पुछिएका वा कोख रित्तिएकाजस्ता विशेषणभन्दा माथि हामी कति उठ्यौं? उनीहरुका लागि ‘पोस्ट कन्फ्ल्क्टि काउन्सेलिङ’ जरुरी थियो कि थिएन? त्यसमा हामीले कति लेख्यौँ—बोल्यौँ वा व्यवहारमा एनजिओ/आइएनजिओहरुले कति काम गरे? यी हामी सबैमाथि उठाउनै पर्ने प्रश्न हुन्।

तपाईंलाई सबैभन्दा मन पर्ने नारीवादी लेखकहरु को–को हुन्? किन मन पर्छन्?

एसएलसी र आइ. ए. को जाँच दिएको फुर्सदको समयमा तसलीमा नसरीन र पारिजातलाई खुब पढियो। आज आएर नसरीनको लेखाइसँग त्यति आकर्षित त छैन तर समाजमा विभेद र हिंसा कुन तहमा छ भन्ने तथ्यलाई उधिन्न उनले गरेको मेहनत र योगदान उल्लेखनीय छ। बंगलादेशजस्तो कट्टर इस्लाम धर्मावलम्बी भएको देशबाट नारीवादी लेखकको रुपमा स्थापित हुनु र बारम्बार निर्वासित भइकन पनि असमानताका विरुद्ध उनले गरेको संघर्ष प्रंशशनीय र प्रेरक दुवै छ। उनले चाहेको भए डाक्टरीजस्तो ‘ग्ल्यामरस’ पेशा नछोडिकन दुनियाँको के मतलब भनेर बस्न पनि सक्थिन्। त्यसको आधारमा म उनलाई सम्मान गर्छु।

उनलाई जस्तैगरी थाहै नपाई पढेका लेखकहरु नारीवादी रहेछन् भन्ने पछि थाहा भयो। स्कुल पढ्दै आमालाई वंशावली देखाएर हामी छोरीहरुको नाम खै भनेर सोधेकी थिएँ। त्यस्तै एउटा स्कुलमा पढाउँदा एक पटक प्रिन्सिपलले खाजा खाने बेला ‘ल सर (पुरुष)हरु यता म्याडम (महिला)हरु यता’ भनेको सुनेर आपत्ती जनाउन पुगेकी थिएँ। विश्वविद्यालयको कोर्समा भर्जिनिया वुल्फ र सिमोन द बुवलाई पढियो। सिमोनले लेखेको पुरुषहरुको कब्जामा पब्लिक स्पेस र महिलाको भागमा प्राइभेट स्पेसबारे पढेपछि ‘सर यता, म्याडम यता’को मतलब थाहा भयो। पछि वुल्फको ‘वुमन एण्ड फिक्सन’मा ‘इंग्ल्याण्डको इतिहास पुरुषहरुको मात्र वंश परम्पराको इतिहास हो’ भनेर लेखेको देखेपछि वंशावलीमा हामी किन रहेनछौं भन्ने थाहा भयो। पारिजातका उपन्यासहरु निकै सानो उमेरमा पढेको हो। उनका संकलित निबन्धहरु यतिबेला पढ्दैछु र तीभित्रको नारीवादी ‘फ्लेवर’ महसुस गर्दैछु। तीस वर्षअघि उनले लेखेको र अहिले मैले लेखिरहेका विषय ठ्याक्कै उही नै देखेर चकित पनि छु। अमेरिकी नारीवादी लेखक/पत्रकार सुसन वेण्डेलको समाज ‘बडी ब्युटिफुल’को मान्यताबाट ग्रस्त छ भन्ने धारणा पढें। अष्ट्रेलियाकी डेल स्पेण्डरको समाजमा भाषा, शब्द, उपाधि र यहाँसम्म कि, गालीसमेत पुरुषहरुद्वारा र पुरुषहरुकै अनुकुलताअनुसार बनाइएका छन् भन्ने लेखाइ पढें।

विस्तृतमा जान्नका लागि यतिखेर अष्ट्रेलियाबाट स्कुलकी साथी आरती घलेसँग उनकै किताब ‘म्यान मेड ल्यांग्वेज’ मगाएर पढिराखेको छु। उनीहरुलाई पढ्दा लाग्छ, हामीलाई लेख्न—बोल्नका लागि बाँकी केही छाडेकै रहेनछन्। समकालीनमा नाइजेरियाली चिमा मान्डा अदिचीलाई पढिराखेको छु। यी सबैले र आफूले उठाएका मुद्दाको समानताका आधारमा जतिसुकै कटाक्ष र लज्जित गरिएता पनि आफू गलत रहेनछु भन्ने हौसला आउँछ। त्यही कारण मलार्इ यिनीहरु मन पर्छन्।

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • चक्रपथ सफा गर्नेको सङ्ख्या बढ्यो

    प्रत्येक साता अभियानकै रुपमा सञ्चालन गरिएको उक्त सरसफाइमा फोहर सङ्कलन गर्नेकोे सङ्ख्या स्वतःस्फूर्त रुपमा ह्वात्तै बढेको छ।  नारायणगोपाल चोकबाट फोहर सङ्कलन गर्दे ग्रिनसिटी अस्पताल पुगेर आजको अभियान समापन भएको थियो।

  • श्रीलङ्कामा बाढी पहिरोबाट १४६ को मृत्यु, पाँच लाख विस्थापित

    श्रीलङ्कामा बाढी पहिरोबाट १४६ को मृत्यु, पाँच लाख विस्थापित


    उक्त बाढी र पहिरोमा परी १२२ जनाको मृत्यु हनुको साथै ९७ जना हराइरहेका श्रीलङ्काको सरकारी प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी)ले पनि पुष्टि गरेको छ। साथै यस प्रकोपमा परी घाइते भएका ४९ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ।

  • नारायणगढ–मुग्लिन सडकखण्डमा क्यान्टिलिभरको काम सुरु

    सडकभन्दा बाहिर टप निकालेर सडक चौडा हुने संरचनालाई क्यान्टिलिभर भनिन्छ। मुग्लिन बजारबाट १ दशमलब ५ किमीदेखि दुई किमी नारायणगढतर्फ क्षेत्रमा छ ठाउँमा क्यान्टिलिभर पद्धतिबाट सडक चौडा गरिने भएको छ। सबै क्षेत्रमा गरी एक सय ९० मि लामो सडकमा क्यान्टिलिभर गरिँदैछ। सो क्षेत्रमा हाल सडक ५ दशमलब ५ मि मात्रै चौडा छ। सो सडकलाई ९ मि चौडा गरिँदैछ। अग्लो पहरो र साँघुरो सडक भएकाले काममा कठिन भएपछि क्यान्टिलिभर पद्धति प्रयोग गरिएको हो।

  • गोमा एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना

    गोमा एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना

    गोमा एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। काठमाडौंबाट लुक्लाका लागि उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रूखमा ठोक्किएर करिब २ बजे दुर्घटनामा परेको हो।

  • यसरी लुट्‍यो मेगा अस्पतालले बिरामीको सर्वश्‍व‍‍..

    अर्काको खेती नगरी हाम्रो परिवारलाई खान पुग्दैन। घरखर्चमा थपथाप होला भनेर भैँसीराँगा पालेका छौं। हाम्रो घर दाङ पिप्रामा पर्छ।जग्गाजमिन छैन। पैसा जुटाउन नसक्दा भाइ र मैले पढ्न छोड्यौँ र बच्चैदेखी मजदुरी गर्‍यौं। बुवा (शिवप्रसाद चौधरी) भैँसी राँगा चराउनुहुन्थ्यो। गत वैशाख दुई गते राँगाले हानेपछि उहाँको ढाड र खुट्टामा चोट लाग्यो। गाउँलेहरुसँग सल्लाहपछि मैले तुरुन्त बुवा (शिव चौधरी) लाई उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा ल्याए। गहिरो चोट लागेकाले काठमाडौं लान डाक्टरले सल्लाह दिए। एम्बुलेन्सबाट बुवालाई काठमाडौं ल्याए।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी