काठमाडौं, चैत २१– राजधानी र पोखराको मौसममा बुधबार एकाएक आएको परिवर्तनलाई मौसमविद्ले ‘सुख्खा यामको सामान्य मौसमी परिवर्तन’ भनेका छन् ।
‘हिउँद सकिएपछिको सुख्खा मौसमका रूपमा लिइने अप्रिल र मे मा हावाहुरी चल्नु सामान्य हो,’ मौसम पुर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले सेतोपाटीसँग भने । प्रिमनसुन सुरु भइनसकेको यो याममा हावाहुरी चल्ने, चट्याङ पर्ने, आकास गर्जिने र असिना पर्ने उनले बताए ।
श्रेष्ठका अनुसार यतिबेला बढ्दो गर्मीले स्थानीय स्तरमा वाष्पीकरण भई यस्ता मौसमी परिवर्तन आउँछन् । यो लामो समय भने रहँदैन । यसले समेट्ने क्षेत्र पनि ठूलो हुँदैन । सुख्खा मौसममा हुने यस्ता प्रक्रियालाई मौसमविद्ले ‘थन्डर स्ट्रम’ भनेका छन् ।
मुलुकमा मनसुनमा पूर्वी वायुले पानी ल्याउँछन् भने हिँउदमा पश्चिमी वायुले ठन्डी ल्याउँछन् । यतिबेलाको हावाहुरी भने स्थानीयस्तरमै बढेको तापक्रम र वाष्पीकरणका कारण सिर्जना भएको मौसमविद् बताउँछन् ।
तराईको तुलनामा पहाडमा बढी हुने यस्ता मौसमी प्रक्रियाले बढीमा ४० किलोमिटरसम्म आफ्नो प्रभाव देखाउँछन् । यसभन्दा बढी दुरीमा फेरि अर्को स्थानीय मौसमी प्रक्रिया हुने गर्छ । खासगरी दिउँसोको उच्च तापक्रमले मध्याह्नपछि नै हावाहुरी चल्ने लगायतका मौसमी प्रक्रिया बढी हुन्छन् ।
वायु ऊर्जामा कार्यरत मिर्लुङ इलेक्ट्रो मेक कन्सर्नका प्रबन्धक अमृतसिंह थापाका अनसार बेगनास तालमा डुंगा नै पल्टाउने गरी आएको वायुको बेग ३० मिटर प्रतिसेकेन्डभन्दा बढी हुनुपर्छ । सामान्य अवस्थामा मानिस बसेको डुंगा पल्टिन्न । सामान्य मौसममा उपत्यकामा ३ देखि ५ मिटर प्रतिसेकेन्डमा वायु बहन्छ ।