लट्ठी खाए, तर मुख खोलेनन्

चुनाव
  • Get News Alerts

सम्झनामा श्यामप्रसाद
tata

२००३ सालतिर हामी त्रिजुद्ध हाइस्कुल, वीरगन्जमा नौ कक्षाका विद्यार्थी थियौं। श्याम र मेरो विशेष मित्रता थियो। वर्षभरी हामी सहअध्ययन गथ्र्यौं। अरू विषयमा मनग्गे अंक कुम्ल्याए पनि अन्त्यमा हामी दुवै गणितको गहिरो खाडलमा गाडिएका हुन्थ्यौं। हामी दुवै हिसाबमा परम लद्दू थियौं। गणितका शिक्षक थिए, केशवराज पिँडालीका वृद्ध पिता।

हामी उहाँलाई बूढा माडसाब भन्थ्यौं। उहाँ अफिमको अम्मली हुनुहुन्छ भन्ने कुरा भुपेन्द्रलाल (पुराना कांग्रेसी नेता देवेन्द्रलाल नेपालीका दाजु एवं हाम्रो कक्षाका दादा) ले हामीमा प्रचार गरेको थियो। शिक्षकहरूको निजी जीवनको चियो चर्चो गरेर रंगीचंगी चंगा उडाउनमा ऊ बिछट्ट थियो। हरेक शिक्षकलाई गाउँले पाराबाट बिद्रूप गरेर यौटा न यौटा नाउँ हिल्ला लाइदिएको हुन्थ्यो।

थाहा छैन कुन तत्वले डोर्याएर हो, म बिस्तार बिस्तार श्यामप्रसादसित लहसिँदै गएँ। श्याम कक्षाका शान्त विद्यार्थी थिए। उनी धेरै नबोल्ने, क्रोध नगर्ने र उमेर सुहाउँदो खेलाँची समेत गर्न मनपराउँदैनथे।

चुहुँदो वर्षात भएको एक दिन भूपेन्द्रलालले कक्षामा घोषणा गर्यो– ‘साथी हो, आज सिर्सिया नदीमा भीषण बाढी आएको छ। रक्सौलको पक्की पुलसमेत बगाउन थालिसक्यो। यस्तो बेला क्लासमा बस्नु हाम्रा लागि धिक्कार हो। जाउँ बाढी हेर्न। सबै जाने, कोई घर भाग्न पाउँदैन।’

भूपेन्द्र हामीभन्दा बढी उमेरको, बलियो जिउडालको र सबैउपर बलमिच्याइँ गर्ने खालको छात्र भएकाले उसको आह्वानको तिरस्कार गर्नसक्ने ह्याउ कुनै केटामा थिएन। तैपनि श्यामले विनम्र भएर तर्क गरे, ‘सिंगै कक्षा एक्कासि उठेर कसरी जाने? यसको परिणाम नराम्रो हुनेछ।’

‘साले, तैँले अडंगेबाजी गर्नेछस् भन्ने कुरा मैले अघि नै सोचिसकेको थिएँ। तिमीहरूलाई विदा दिलाउने काम हामी गर्छौं, हेर्दै जाओ।’

कक्षामा एक जना अर्का जण्ड आत्मा पनि थिए– रविराज चालिसे। भूपेन्द्रलालका हवलदार, परम मित्र र मतियार। भूपेन्द्र करायो– ‘उठ बेटा रविराज, शुभ कार्यमा लेट नगर।’

रविराज चालिसे उठ्यो र कक्षामा कुनापट्टि फर्केर सुसु गरिदियो। भूपेन्द्रलाल एउटा आँखा कानो पारेर हामीतिर कुटिल हास्य हुर्याउँदै कक्षा बाहिर निस्क्यो। उसले केही बेरपछि नै कक्षा शिक्षक र प्रधानाध्यापकलाई बोलाएर ल्यायो।

‘यस्तो दूषित वातावरणमा हामी पढ्न सक्दैनौं,’ भूपेन्द्रले शिक्षकहरूलाई भन्यो। अनेक गलफत्ती भए, तर दुई जनाको प्रयासले गर्दा सिंगै कक्षाले विदा पायो र हामी सबै बाढीको आनन्द लिन हिँड्यौं।

भोलिपल्ट श्यामलाई बोलाएर प्रधानाध्यापक अमरीष भट्टाचार्यले सोधे– ‘श्याम, तिमी साँचो कुरा भन। हिजो कसको काम हो त्यो?’

श्याम– ‘सर मलाई थाहा छ त्यो कसको काम हो तर मैले नभन्ने वचन दिइसकेको छु।’

श्यामलाई बेतले धेरै पटक हिर्काए तर उनी अडिग भएर उही कुरो भनिरहे। दादाहरुको डरले हो वा पोलहा नहुने अठोटले हो, उनले केही उच्चारण गरेनन्।

म आफ्नो सम्पूर्ण शैशव नजिकको भारतीय गाउँले सहर रक्सौलमा ब्यतीत गरेर वीरगन्ज झरेको थिएँ। अंग्रेजविरोधी भारतीय जनआन्दोलन, देशप्रेमको लहर, जातिपातिको निरर्थकताबारे मेरो आलो मथिंगलले जेजति ग्रहण गर्नसक्थ्यो, आफ्नो किसिमले त्यसको छाप ममा परिसकेको थियो। त्यही परिप्रेक्ष्यले अभिप्रेरित गरेर होला, मेरो र श्यामको सानिध्य बढ्दै गयो।

हाइस्कुलसामुन्ने विर्तामाईको मन्दिरनजिकै श्यामले जीविकाका लागि एक पुस्तक पसल खोलेका थिए– ‘सेवा सदन।’ दिनरातको हाम्रो अखडा त्यही पुस्तक पसलमा थियो।

भारतको बिहारतिरबाट एक जना पुस्तक विक्रेता महिना, दुई महिनामा श्यामको पसलमा आएर पुस्तक दिएर जान्थे र अगावै बिक्री भइसकेका पुस्तकहरूको मूल्य उठाएर लैजान्थे। ठूलो टिनको बाकसको माथिल्लो भाग भागवद्गीता, रामायण र कल्याण पत्रिका आदिले भरिएको हुन्थ्यो भने तल्लो खण्डमा रातो जिल्ला भएको विप्लव प्रकाशनका यशपालका साथै राहुल सांस्कृत्यायन आदिका क्रान्तिकारी पुस्तक टनाटन तह लगाएर राखिएका हुन्थे।

मलाई पनि बिस्तारै त्यस्ता पुस्तकहरूमा रस बस्न थाल्यो। सेवा सदनको ढोका थुनेर हामी दुवै लालटिनको मन्द प्रकाशमा राति दस–एघार बजेसम्म पढिरहन्थ्यौं। त्यहीताक मलाई श्यामजीबाट प्राकृत चिकित्साबारे पनि ज्ञान भयो। आरोग्य भवन, गोरखपुरबाट बिठ्ठलदास मोदीको सम्पादनमा निस्किने ‘आरोग्य’ पत्रिका पनि म नियमित रूपबाट पढ्न थालेँ। लुइकुनेको जल चिकित्साबारे पनि पहिलोपल्ट त्यहीँ मैले अध्ययन गर्न पाएँ।

विस्तार विस्तार हामी क्रान्तिकारी पुस्तकहरू पढेर खासखुस गर्दै आ–आफ्ना विचार आदानप्रदान गर्ने भैसकेका थियौं। वीरगन्जजस्तो राणाकालको एक पछौटे सहरमा श्यामलाई पनि मेरो साहचर्य निकै सुखद हुन गएको थियो।

श्यामको घर माइस्थान पछाडि गहवामा थियो, पराले छानो भएको दुई कोठाको फूसको घर। भरभित्र पस्दा उनको विपन्न अवस्थाको स्वतः भान हुन्थ्यो। श्याम आफ्नो पारिवारिक दुःखसुखका कथा कहिले कसैकासामु ओछ्याउँदैन थिए। मैले कहिलेकाहीँ कोट्याउने चेष्टा गर्दा कुरा छलेर बेग्लै विषयतर्फ मोडिदिन्थे। तैपनि घरमा जाँदा–आउँदा चालपाइसकेको थिएँ कि उनका पिता छैनन्। परिवारमा वृद्धा मातामात्र छिन्। परिवारको आर्थिक दायित्व केटाकेटी अवस्थादेखि नै श्यामले आफ्नो कलिलो काँधमा बोकेका थिए। घरको सावगास सेवा सदनले जेनतेन धानेको थियो। यही कारण हो कि स्कुलको समयबाहेक उनको सम्पूर्ण समय पसलमा ब्यतीत हुन्थ्यो। घरमा गाँस टिप्न मात्र जाने गर्थे।

मेरो घर कुमाल टोलमा जेलसित टाँसिएको थियो। घरमा मातापिता, काकाकाकीका साथै हामी पाँच दाजुभाइ र दुई साना बहिनीहरू थियौं। म बिहान एकसेर बाख्रीको दूध खाएर जेलको अखडामा पहलमान डाँकाहरूसित एकाबिहानै कुश्तीको अभ्यास गर्थेँ। डाँका मुद्दामा परेका मेवालाल मेरा कुश्तीका प्रशिक्षक थिए। जेलका हाकिम, कप्तान रिपुमर्दनको विशेष कृपा थियो मेवालाल माथि। बाह्र–पन्ध्र वर्षका लागि थुनामा परेका कैदी मेवालाल सुटुक्क दुई–तीन दिन घरमा बसेर आउँथ्यो। भारततिर घरभएता पनि उसले कहिल्यै विश्वासघात गरेन।

हामी अखडाको माटो शिरमा लगाएर दुईपटक नाङ्गा तिघ्रा ठटाउँदै कुश्तीका लागि ओर्लिन्थ्यौं। जेलर कप्तान विशाल भुँडी भिरेर उनको दीर्घ कायालाई ओगट्नसक्ने एक विशेष प्रकारको मेचमा बसी मेवालालले मलाई दाउ सिकाएको हेरिरहन्थे। श्यामप्रसादले पनि आफ्नो जेलको डायरीमा एक दुईपटक मेवालालबारे उल्लेख गरेका छन्। मजस्तो फिस्टे केटो मेवालालको जोडा कसरी हुन सक्थ्यो? त्यो त शरीर साँध्नका लागि एक खेलाँचीमात्र थियो। कप्तानका लागि यस उषाकालीन मनोविनोदले गर्दा दिनभरि उसको मिजासमा ठट्यौलोपन ब्याप्त रहन्थ्यो, जसबाट जेलका प्रत्येक कैदीका लागि त्यो दिन आल्हादकारी हुन्थ्यो।

यसरी जेलको अखाडामा बिहान शरीर सपार्ने प्रयास गर्थेँ भने बेलुकी श्यामको सहचार्यमा बुद्धि तिखार्ने उद्यम गर्थें। हामी दुवै सेवा सदनको ढोकामा भित्रबाट गजवार लाएर सुरक्षित भई लालटिनको मन्द प्रकाशमा स्वर थिचेर राणा शासनका अर्घेल्याइँबारे चर्चा गथ्र्यौं।

एक दिन मैले श्यामजीसित सोधेँ– ‘नेपालमा प्रजातन्त्र स्थापनाका लागि के गर्नुपर्छ?’

उनले मन्द हाँसोमा उत्तर फर्काए– ‘हेर्दै जानुस्, जिज्ञासाको समाधान तपाईंले छिट्टै पाउनुहुनेछ।’

नभन्दै, केही दिनपछि म र श्याम एक रात सधैंझैं पसलमा बसेका थियौं, जेलको घन्टाले नौ ठोक्यो। मैले आङ तान्दै भनेँ– ‘निकै बेर पो भएछ, जाने होइन?’

श्यामले अर्थपूर्ण तवरले मतिर हेरेर भने– ‘आधी घन्टाजति अझै कुरौं, तपाईंले अस्ति मसित सोध्नुभएको प्रश्नको उत्तर दिन एक जना मित्रलाई डाकेको छु, उहाँ आउँदै हुनुहोला।’

मैले आफ्नो कौतूहल शान्त गर्नका लागि केही बेर कुर्नै पर्यो। घन्टाले एकपटक फेरि ठोक्यो, अर्थात् साढे नौ बजेछ। श्यामजीले बिस्तारै पसलको खापा मानिस मात्र छिर्न हुनेगरी खोलिदिए। दुई चार मिनेट बितेको हुँदोहो– एकजना अग्लो ओभरकोटधारी मानिस हाम्रोसामु आएर ठिंग उभियो। यी थिए नेपाली राष्ट्रिय कांग्रेसका सक्रिय कार्यकर्ता हिमालयश्वरानन्द वैद्य। श्यामजीले परिचय गराए। उनले कालो ओभरकोटको बगलीबाट नेपाली राष्ट्रिय कांग्रेसको रसिद झिकेर मेरो नाम लेखे र अधकट्टी दिएर भने– ‘चार आना दिनुस्, आजदेखि तपाईं हाम्रो पार्टीको सदस्य हुनुभयो। अरू विशेष श्यामजीबाट थाहा पाउँदै जानुहुनेछ, म अहिले रेल समातेर कलकत्ता जाँदैछु, फेरि पछि भेटौंला, जय नेपाल।’

श्यामजीको पसलबाट त्यस रात निस्केका हिमालयश्वरानन्द वैद्यसित फेरि कहिल्यै मेरो भेट भएन। सारा नेता, कार्यकर्ताको भेट हुन्थे तर मलाई राजनीतिमा अनौपचारिक रुपबाट पदार्पण गराउने मानिससित कुनै भेटघाट हुन पाएन।

झन्डै त्रिचालीस वर्षपछि २०४६ सालतिरको कुरा हो। म शैलेन्द्रको छोराको विवाहमा जाउलाखेल गएको थिएँ। साँझपख शैलेन्द्रले पालभित्र बसेका मानिसलाई भने– ‘बालाजुतिर जाने कोई छ भने उहाँसित जानसक्नु हुन्छ।’

एक जना अग्लो मानिसलाई कारको ढोका खोलेर लिफ्ट दिने मुडमा उभिएको देखेँ। म कमलमणिसित गफ गर्नमा ब्यस्त थिएँ। कुन्नि किन हो त्यो कारनिर उभिएको मानिसको अनुहार उनी गैसकेपछि पनि धेरै बेरसम्म मगजमा छाइरह्यो। खसखस खप्न नसकेर मैले शैलेन्द्रसित सोधेँ– ‘अहिले गाडीमा जाने मानिस को हुन्?’

‘यी हुन् हिमालयश्वरानन्द वैद्य।’ नाम भनेर उ कतै ब्यस्त भयो। पुरानो सम्झनाको भेल पुनः उर्लेर आयो र मलाई हुत्याउँदै सेवा सदनभित्र पुर्याइदियो।
...

एक दिन स्कुलमा कुनातिर लगेर श्यामले भने– ‘आज राति पर्चा छर्नुपर्छ, एक मुठा पर्चा कलकत्ताबाट आइपुगेको छ। राति घरमा सबै सुतिसकेपछि कालोखाले गंजी लगाएर मेरो पसलमा आउनुहोला।’

वीरगन्जको इतिहासमा तत्कालीन राणा शासनको तीब्र विरोध गरेर पर्चा छरिएको थियो। भोलिपल्ट पर्चा पढेर सिंगै बजार स्तब्ध भएको थियो। आफ्नो पढ्ने स्कुल भएकाले त्यहाँ प्रत्येक कक्षाको ढोकामा पर्चा टाँसेर पनि ढोकामुनिको कापबाट भित्र छिराइदिएका थियौं। भोलिपल्ट सबै छात्रहरुको हातमा पर्चा थियो। विद्यार्थीहरुले गर्दा प्रत्येक पठित परिवारमा पुग्न सकेको थियो। तीनचार दिनको अन्तरमा दुईपटक हामीले बडो सावधानीसाथ बढी से बढी पठनीयतालाई ध्यानमा राखेर विभिन्न मोड र चोकहरूमा पर्चाबाजी गरिसकेका थियौं। दोस्रो पर्चा हिन्दी भाषामा थियो र भारतीय कवि दिनकरको कविताबाट प्रारम्भ गरिएको थियो–

ए मदहोश, बुरा फल है दीनोका शोणित पिनेका,
एक दिन देना होगा तुझको गिन गिन मोल पसीनेका।

बम विष्फोटले जुन प्रभाव पार्न सकोइन, त्यसभन्दा बढी प्रभाव पर्चाले पारेको थियो। राणा शासनको विरोधमा बोल्ने मानिसको जिब्रो काटेर सालको पातमा राखिदिन्छन् भन्ने आतंकपूर्ण धारणा रहेको ठाउँमा पर्चाले शासकहरूलाई कुनै तवरबाट नंग्याउन बाँकी राखेको थिएन। सारा सहरमा ग्याईं ग्याईं, घरघर यही चर्चा थियो। श्यामको बारे थाहा छैन, तर म भने चर्चा जति जति सल्किँदै जान्थ्यो, आफूलाई जमिनभन्दा एक हातमाथि हावामा टेकेर हिँड्ने प्राणीजस्तै ठानेको थिएँ।

त्यस बखतका बडाहाकिम हिरण्यशमशेर थिए। सुवर्णशमशेरका पिता। घोप्टे झबरी जुंगा, गोरो अनुहार र गालाको डिलमा पाचक आकारको एक डल्लो मुसा भएका हिरण्यशमशेर प्रचण्ड क्रोधी स्वभावका भनेर जिल्ला प्रगन्नाभरि विख्यात थिए। निश्चित छ, पर्चाको कारणले उनलाई सहिनसक्नु रिस उठेको थियो। त्रिचन्द्र कलेजको उद्घाटन गरेर फर्केपछि चन्द्रशमशेरले ठूलो खुइअ गरेका थिए रे। राजनीतिको सूत्रपात पक्कै पनि शिक्षण संस्थाभित्रै भएको हुनुपर्छ भन्ने कुरा यिनलाई पनि कता कता लागेको थियो। झन्डै वृद्धावस्थाको छेउछाउमा समयले घचेट्दै लगिएका बडाहाकिमका लागि सहरको त्यो एकमात्र हाइस्कुल पिलो हुन गएको थियो।

एक दिन हेडमास्टर लगायत हाई स्कुलका सम्पूर्ण शिक्षक खलक– मिश्रा, द्विवेदी, फेंकन, मुकुटधारी, पण्डित आदि पच्चीसौं वर्षदेखि रितुसंहार गर्दै आएको आ–आफ्नो खुइलन्टट्टु कोट तानतून पार्दै लाएर हिरण्यशमशेरका सामु उभिन पुगे।

बडाहाकिम गर्र्जिए– ‘को हो त्यो पर्चा छर्ने विद्यार्थी? यहाँ ल्या म त्यसको छाला काढेर सिंहदरबार पठाइदिन्छु।’

शिक्षकहरु लुगलुग कामिरहेका थिए, उनीहरुसित कुनै उत्तर थिएन।

बडाहाकिम फेरि पड्किए– ‘शिक्षक भनेको कक्षामा पढाउने मात्र होइन, विद्यार्थीहरुको स्कुल बाहिरको चालचलन र अनुशासनका लागि पनि तिनीहरुको जिम्मेवारी हुन जान्छ। मलाई सात दिनभित्र त्यो विद्यार्थी चाहिएको छ, होइन भने म स्कुल बन्द गर्ने आदेश दिनेछु।’

परिबन्दबाट पर्चा काण्डमा स्कुल ठाडै मुछिन लाग्दा पनि केही नबोली लोतेकान लाएर फर्किनु बडाहाकिमद्वारा दिइएको सातदिने म्याद तामेल गर्ने समन बुझेर जानुजस्तै हुने थियो। स्कुलको कमन रुममा आकाश पातालको कुरा गरेर सिंगै बिर्ताको के कुरा, छप्कैयाँसम्म थर्काउने गरी अट्टहास गर्ने गुरुहरु निमुखा भएर एकअर्काको अनुहार हेर्न थाले। श्री भगवान द्विवेदी छ फुट अग्ला र जिउडालमा शिक्षक थोरै पहलमान बढी देखिन्थे। उनले विस्तारै हात जोरे–

‘प्रभु, मेरो गर्दन चिलाएजस्तो छ। म यौटा कुरा बिन्ती चढाउँछु। यो पर्चा र स्कुलमा कुनै सम्बन्ध छैन। पक्का यो सीमापारीबाट आएर छरेर जाने अरु नै कोइ हुनसक्छ। मेरो स्कुलका छात्रहरु ज्यादै सिधासादा र सोझा किसिमका छन्, तिनीहरुबाट यस्तो काम हुनै सक्दैन।’

द्विवेदीको कुरा तर्कयुक्त थियो। खुला सिमाना, दिन रात एक्का तांगा दोहरीलत्ता भैरहने सडक, कुनबेला को आउँछ जान्छ केही बन्देज नभएपछि के भन्न सकिन्छ?

बडाहाकिम यसपटक रिसाएनन्, एकछिन घोरिएर भने– ‘यो काम टुपीकट्टा एक्कावानबाट पनि हुनसक्छ। भोलिदेखि एक्का तांगामा आउने जाने नयाँ मानिसहरुको कडाइसाथ तलाशी लिनु। र, यो आदेशलाई त्यहीँ उभिएका अमीनी लप्टन बखतमान र जेलका कप्तान रिपुमर्दनलाई दिए।’
...

सीमापारी रक्सौलमा केही कांग्रेसी नेताहरू आएका रहेछन्। तिनले सम्पर्क राख्नका लागि सुटुक्क खबर पठाए। अब हाम्रो गतिविधिमा नयाँ मोड आउने पक्का भैसकेको थियो। यस औसरको हामी बडो उस्तुकताकासाथ प्रतीक्षा गरिरहेका थियौं।

हामी दुवै, अर्थात् म र श्यामजी, रक्सौल धर्मशालाको मूलद्वार नाघेर भित्र पस्यौं। आँगनमा मुखभरि बिफरको हलुका दाग भएका एक युवकसित भेट भयो। हामीलाई देख्नासाथ भने– ‘तपाईंहरू वीरगन्जबाट आउनुभएको हो?’

अनि उत्तरको लागि कुनै अडान नली डोर्याएर कुनापट्टिको त्यस कोठामा पुर्याए, जहाँ अगावैदेखि ५–६ जना ठिटाहरु जम्मा भएका थिए।

एउटा खाटमाथि पातला काँटका, आँखा डेढा भएका एक आकर्षक युवक बसेका थिए। खुट्टामा साङ्ग्रो मोहता भएको सेतो ड्यौढा सुरुवाल र अग्लो कठालो भएको कोगिटा रंगको मोटो कुर्ता उनले लगाएका थिए। विफरको दाग भएका युवकले हाँस्तै परिचय गराए– ‘उहाँ कृष्णप्रसाद भट्टराई हुनुहुन्छ। एमएको अन्तिम वर्षको अध्ययन छाडेर आन्दोलन सञ्चालन गर्न नेपाली राष्ट्रिय कांग्रेसको तर्फबाट यहाँ आउनुभएको छ।’

हामी दुवैले अभिवादनको लागि नमस्कारमा दुई हात जोड्यौं।

(साहित्यकार श्यामप्रसादको आइतबार निधन भएको छ। प्रगतिशिल लेखक संघका संस्थापक अध्यक्ष श्यामप्रसादका बालसखा एवं परिचित लेखक स्व. धनुषचन्द्र गौतमले २०५३ सालमा प्रकाशित गरेका संस्मरण पुस्तक ‘कालान्तर’बाट सम्पादित अंश यहाँ प्रस्तुत गरिएको हो।)

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • चक्रपथ सफा गर्नेको सङ्ख्या बढ्यो

    प्रत्येक साता अभियानकै रुपमा सञ्चालन गरिएको उक्त सरसफाइमा फोहर सङ्कलन गर्नेकोे सङ्ख्या स्वतःस्फूर्त रुपमा ह्वात्तै बढेको छ।  नारायणगोपाल चोकबाट फोहर सङ्कलन गर्दे ग्रिनसिटी अस्पताल पुगेर आजको अभियान समापन भएको थियो।

  • श्रीलङ्कामा बाढी पहिरोबाट १४६ को मृत्यु, पाँच लाख विस्थापित

    श्रीलङ्कामा बाढी पहिरोबाट १४६ को मृत्यु, पाँच लाख विस्थापित


    उक्त बाढी र पहिरोमा परी १२२ जनाको मृत्यु हनुको साथै ९७ जना हराइरहेका श्रीलङ्काको सरकारी प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी)ले पनि पुष्टि गरेको छ। साथै यस प्रकोपमा परी घाइते भएका ४९ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ।

  • नारायणगढ–मुग्लिन सडकखण्डमा क्यान्टिलिभरको काम सुरु

    सडकभन्दा बाहिर टप निकालेर सडक चौडा हुने संरचनालाई क्यान्टिलिभर भनिन्छ। मुग्लिन बजारबाट १ दशमलब ५ किमीदेखि दुई किमी नारायणगढतर्फ क्षेत्रमा छ ठाउँमा क्यान्टिलिभर पद्धतिबाट सडक चौडा गरिने भएको छ। सबै क्षेत्रमा गरी एक सय ९० मि लामो सडकमा क्यान्टिलिभर गरिँदैछ। सो क्षेत्रमा हाल सडक ५ दशमलब ५ मि मात्रै चौडा छ। सो सडकलाई ९ मि चौडा गरिँदैछ। अग्लो पहरो र साँघुरो सडक भएकाले काममा कठिन भएपछि क्यान्टिलिभर पद्धति प्रयोग गरिएको हो।

  • गोमा एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना

    गोमा एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना

    गोमा एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। काठमाडौंबाट लुक्लाका लागि उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रूखमा ठोक्किएर करिब २ बजे दुर्घटनामा परेको हो।

  • यसरी लुट्‍यो मेगा अस्पतालले बिरामीको सर्वश्‍व‍‍..

    अर्काको खेती नगरी हाम्रो परिवारलाई खान पुग्दैन। घरखर्चमा थपथाप होला भनेर भैँसीराँगा पालेका छौं। हाम्रो घर दाङ पिप्रामा पर्छ।जग्गाजमिन छैन। पैसा जुटाउन नसक्दा भाइ र मैले पढ्न छोड्यौँ र बच्चैदेखी मजदुरी गर्‍यौं। बुवा (शिवप्रसाद चौधरी) भैँसी राँगा चराउनुहुन्थ्यो। गत वैशाख दुई गते राँगाले हानेपछि उहाँको ढाड र खुट्टामा चोट लाग्यो। गाउँलेहरुसँग सल्लाहपछि मैले तुरुन्त बुवा (शिव चौधरी) लाई उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा ल्याए। गहिरो चोट लागेकाले काठमाडौं लान डाक्टरले सल्लाह दिए। एम्बुलेन्सबाट बुवालाई काठमाडौं ल्याए।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी