‘म ज्युँदै छु भन्दा मान्छे अचम्ममा पर्छन्’

yamaha
  • Get News Alerts

united
tata

अघिल्लो साता एउटा समाचार आयो– पूर्वआइजिपीका नाति म्यादी प्रहरी हुन लाइनमा छन्।

दुई महिनादेखि नेपाल प्रहरी आइजिपीविहीन छ। सरकारले जयबहादुर चन्दलाई आइजिपी बनाउन गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ। नयाँ आइजिपीको अझै टुंगो छैन। अरू बेला प्रहरी प्रमुखबारे चासो नराख्नेलाई पनि अचेल आइजिपीको ‘राजनीति’ कन्ठै छ। 

आइजिपी राजनीति गोलमोल भइरहँदा आफ्नै नातिलाई म्यादी प्रहरी बनाउन पठाउने पूर्वआइजिपीको चर्चा सहरमा हुने नै भयो।

३८ वर्षअघि नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश पाएका खड्गजीत बरालका नाति पुजन म्यादी प्रहरी बन्न लागेका रहेछन्। प्रहरीका पूर्वप्रमुखका नाति जवान सरहको सुविधा पाइने र त्यो पनि चुनावसम्म मात्र काम गर्नुपर्ने म्यादी प्रहरी किन हुने होलान्? जिज्ञासा मेटाउन हामीले उनलाई फोन गर्यौं। 

चार दशकअघि आइजिपी बनेर रिटायर्ड  भएको मान्छेलाई बुढ्यौलीले छोपिसक्यो होला, बोल्न पनि सक्छन् कि सक्दैनन् भन्ने सोचेर फोनमा भन्यौं, ‘हजुर, हामीले खड्गजीत बरालसँग कुरा गर्न खोजेको।’

उताबाट आवाज आयो, ‘हँ, हँ, म बोल्दैछु।’

अचम्म लाग्यो– यति पाको मान्छेको पनि कति टाठो आवाज१ कुराकानीका क्रममा उनले नाति आफैं म्यादी प्रहरी हुन गएको बताए। त्यसलाई बढाइचढाइँ गर्नु आवश्यक नभएको सुझाव पनि दिए। भने, ‘यसमा कुन अनौठो कुरा भयो र?’

पद र पहुँचका आधारमा भनसुन गराएर जागिर खुवाउने  आमप्रवृत्ति रहेको समाजमा पूर्वआइजिपीका नाति म्यादी प्रहरी हुनु अनौठो नै थियो। हामीले उनीसँग भेटेरै कुरा गर्ने प्रस्ताव गर्यौं।

‘महाराजगन्जमा प्रहरी अस्पताल छ नि, हो त्यहाँ आएर सोध्नु बरालको घर कुन होरु सबैले भनिदिन्छन्,’ उनले भने, ‘आउनुभन्दा अघिल्लो दिन नै फोन गरेर सम्झाउनु नि फेरि।’

महाराजगन्जस्थित उनको घरको गेटमा लेखिएको छ– बरालको झुप्रो। आँगनमा धुपीको रुख छ। त्यही रुखको छायाँमा उनले हामीलाई बसाए। 

‘ओहो, तपाईं त हामीले सोचेभन्दा पनि धेरै ‘तन्नेरी’ हुनु हुँदो रहेछ,’ उनलाई भेट्नासाथ ठट्टा गर्यौं।

उनले हाँस्दै भने, ‘मान्छेहरू म ज्यूँदै छु भन्दा अचम्ममा पर्छन्।’ 

उनी ज्युँदै हुनुमा त हामीलाई केही अचम्म लागेन, तर राणाविरुद्ध लडेका उनी अहिले पनि ‘तन्नेरी’ देख्दा पक्कै अचम्म लाग्यो। 

८९ वर्षअघि तत्कालीन पाल्पा र हालको नवलपरासीमा पर्ने देवचुलीमा जन्मेका बरालको पुख्र्यौली साइनो फौजीसँग जोडिएको छ। उनका जिजु हजुरबुवा रणजीत बराल नेपाल एकीकरणताका भक्ति थापासँग अंग्रेजविरुद्ध लड्ने फौजमा थिए। त्यो फौज नेपाल एकीकरण गर्दै भारतको मलाउनसम्म पुग्यो। मलाउनको लडाइँमा नेपाली हारे, भक्ति थापाले वीरगति पाए। 

त्यही लडाइँमा नेपाली फौजको बहादुरी देखेर अंग्रेजले नेपालीलाई ब्रिटिस इन्डिया आर्मीमा भर्ना लिने भए। फौजमा गएकाहरू घर फर्केनन्। उतै भर्ति भए। रणजीत बराल पनि ब्रिट्रिस इन्डिया आर्मी बने। उनका छोरा श्रीधर र श्रीधरका छोरा सर्वजीतले पनि त्यही बाटो पछ्याए। सर्वजीत त भारतमा मात्र बसेनन्, बेलायतसम्म पुगे। बर्हिङ्घम प्यालेसमै तीन वर्ष बिताए। 

यही क्रममा खड्गजीतका बुवा बहादुरसिंह पनि ब्रिटिस इन्डिया आर्मीमै थिए। बुवा फौजी भएकाले उनको जताजता सरुवा हुन्थ्यो, खड्गजीत उतैउतै पुग्थे। मेट्रिक पास भएपछि उनले भारतको गोरखपुरमा आइएस्सी पढे। एसएम कलेजमा बिए भर्ना भए। 

त्यो बेला भारत भर्खर बेलायतबाट स्वतन्त्र भएको थियो। नेपालमा पनि राणा शासन हटाउनु पर्छ, प्रजातन्त्र ल्याउनुपर्छ भन्दै बिपी कोइराला लगायत कांग्रेस नेताहरू भारतका पटना, गोरखपुर, दिल्ली डुलिहिँड्थे। डाक्टर केआई सिंह त केही महिना बरालकै घरमा बसेका थिए। 

‘आर्मीमा कप्तान बुवासँग कांग्रेसका नेताहरू कहिलेकाहीँ खर्चपर्च पनि माग्थे,’ बरालले सम्झिए, ‘मलाई उनीहरूले के गर्छन् त्यसको मतलब हुन्थेन, देशमा राणा शासन हटाउनुपर्छ, प्रजातन्त्र ल्याउनुपर्छ भन्ने चाहिँ खुब मन पर्थ्यो।’ 

२००७ सालको कात्तिकमा बिहारको बैरगनियामा कांग्रेसको सम्मेलन भयो। बराल पनि बिए दोस्रो वर्ष पढाइ छाडेर सम्मेलनमा सहभागी हुन आइपुगे। तीन दिन चलेको उक्त सम्मेलनले नारा र पर्चाले मात्र राणा शासन ढाल्न नसकिने निष्कर्ष निकाल्दै बन्दुक उठाउने निर्णय गर्यो।

‘त्यति बेला नारा नै बन्यो– डु अर डाई अर्थात् कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने,’ बरालले भने।  

सशस्त्र युद्ध गर्न हतियार र गोलीगठ्ठा चाहिन्थ्यो। सम्मेलनले सकेजति हातहतियार जम्मा गर्ने निर्णय गर्यो। बराललाई त यसको निम्ति टाढा जानुपर्ने थिएन। घरमै बुवाले बेलायतबाट ल्याएको बाह्रबोरको बन्दुक राखेका थिए। उनले राति ११ बजेतिर सुटुक्क त्यो बन्दुक समाए। झ्यालबाट हाम फालेर निस्के। अनि बन्दुक लगेर केआई सिंहलाई दिए। 

उता बुवाले छोराले बन्दुक चोरेको तीन दिनपछि मात्र थाहा पाएछन् र दोष पनि आफैंलाई दिएछन्– गल्ती मेरै हो। बन्दुक बाकसमा राखेर ताला मारिदिएको भए, त्यसले चोर्न सक्दैनथ्यो। 

बुवाको बन्दुक चोरेर हिँडेका बराललाई केआई सिंहले अब गोली ल्याउन लगाए। त्यतिबेला बराल मुक्ति सेनाको विद्यार्थी स्वयंसेवक बनिसकेका थिए। भारतका विभिन्न ठाउँमा गोर्खा बटालियनका नेपालीसँग गोली माग्न बरालको टोली खटियो।

देहरादुनमा रहेका गोर्खा रेजिमेन्टका फौजीसँग आफूहरू राणा शासनविरुद्ध क्रान्ति गर्न लागेकाले गोली दिन आग्रह गरे। ‘सबै जना हामीलाई स्वागत गर्थे, देशमा प्रजातन्त्र ल्याउन लागेको भनेर खुसी हुन्थे,’ बरालले भने, ‘गोली लिन भने केही दिन कुर्नुपर्ने भयो। चाँदमारी ९अभ्यास० का बेला कसले कति गोली हान्छ हिसाब नहुने भएकाले त्यही मौकामा उनीहरूले धेरै गोली दिए।’

टिनका बाकसमा गोली बोकेर बरालको टोली गोरखपुर फर्कियो। त्यतिबेला केआई सिंहले मुक्ति सेनाको भैरहवा मोर्चा सम्हालेका थिए। 
 
विद्यार्थी, विश्वयुद्ध लडेका पूर्वसैनिक, बहालवाला फौजी मुक्ति सेनामा भर्ती भए। देशभरि सशस्त्र क्रान्ति सुरु भयो। भैरहवा मोर्चाले मर्चवारमा राणा फौजमाथि विजय पायो। देशका अन्य ठाउँमा पनि मुक्ति सेनाले आक्रमण गर्यो। त्यही बेला राजा त्रिभुवन सपरिवार भारत निर्वासनमा गए। 

फागुनमा राजा, राणा र कांग्रेसबीच नयाँदिल्ली सम्झौता भयो। देशमा प्रजातन्त्र आयो। मोहनशमशेर प्रधानमन्त्री हुने भए। राणा र कांग्रेसबाट चार÷चार जना मन्त्री भएको मन्त्रिपरिषद् बन्ने भयो। राजा स्वदेश फर्कने भए। 

‘बैरगनिया सम्मेलनमा कि राणा सक्ने कि आफू सकिने निर्णय भएको थियो, फेरि राणा प्रधानमन्त्री हुने भएपछि कसरी प्रजातन्त्र आयो भनेर हामीले विरोध गर्यौं,’ बरालले भने, ‘मर्चवारमा राणाशाही मुर्दावाद, भारत मुर्दावाद भन्दै नारा लगायौं।’

पश्चिमी मोर्चा सम्हालेका केआई सिंहले प्रजातन्त्र अझै नआएको र सशस्त्र संघर्ष जारी राख्ने निर्णय सुनाए। मोर्चामा करिब २५ सय मानिस थिए। तीमध्ये धेरै सर्वसाधारण, कोही बरालजस्तै विद्यार्थी, केही पूर्व सैनिक र केही जागिर छोडेर आएका सैनिक थिए। 

प्रजातन्त्र आएपछि गृहमन्त्री बनेका बिपी कोइरालाले केआई सिंहलाई हतियार बिसाएर वार्तामा आउन आग्रह गरे। केआई सिंहले भने आफूहरूलाई धोका भएकाले सशस्त्र संघर्ष जारी राख्ने अडान लिए। त्यसपछि सरकारले केआई सिंहको मुक्ति सेनासँग लड्न भारतीय सहयोग माग्यो। 

‘भारतीय सेनामा पनि मराठा रेजिमेन्ट अरूभन्दा आक्रामक र बहादुर हुन्छन्, हामीलाई दबाउन सरकारले उनीहरूलाई बोलायो,’ बरालले भने, ‘हतियार डालो, हतियार डालो भन्दै भारतीय सेनाले मर्चवारमा रहेको हाम्रो शिविरमा चारैतिरबाट घेर्यो। मोर्टार बम हानेपछि हामीले बाध्य भएर आत्मसमर्पण गर्नुपर्यो।’ 

राति तीन बजे सुरु भएको भारतीय सेनाको अप्रेसन सकिँदा बिहान झिसमिसे उज्यालो हुन थालेको थियो। पक्राउ परेका सबैलाई भारतीय सेनाले हत्कडी लगाएर खेतमा पल्टायो। ‘त्यसपछि उनीहरू बन्दुक र बुटले सबैका टाउकामा हान्दै हिँडे,’ बरालले भने, ‘८९ वर्षको उमेरमा जिन्दगीमा सुखदुःख धेरै आए तर विक्षिप्त बनेको एउटा मात्र घटना त्यही हो– जतिबेला विदेशी सेनाले मेरो टाउकोमा बुटले हानेको थियो।’

बिहान ११ बजेतिर भारतीय सेनाले पक्राउ परेकालाई राणाको फौजकोे जिम्मा लगायो। सर्वसाधारणलाई घर पठाइयो। विद्यार्थी र सैनिक पृष्ठभूमिका तीन सय जतिलाई राति आठ बजे भैरहवा ल्याइयो।

जो नेताले हिजो उनीहरूलाई प्रजातन्त्रका लागि मर्न तयार  हुनुपर्छ भनेका थिए, उनीहरूले नै ‘राणा प्रधानमन्त्री हुँदा कसरी प्रजातन्त्र आउँछ?’ भनी सोध्नेलाई जेल हालिदिए। 

बेलाबेला उनीहरू बिपी कोइरालालाई आफूहरूको रिहाइको लागि जाहेर गर्थे। काठमाडौंबाट जवाफ जान्थ्यो– एउटा आयोग बन्दै छ। त्यही आयोगले छानबिन गरेपछि तिमीहरू छुट्छौ।

जेलमा हुँदा बराललाई घरको याद आउँथ्यो। बुवाको बन्दुक चोरेकोमा नमज्जा लाग्थ्यो। ‘पहिले पढ्नुपर्छ अनि मात्रै प्रजातन्त्र आउँछ’ भन्ने बुवाको कुराले मन खिन्न हुन्थ्यो।

एकदिन बरालको नाममा जेलमा केही सामान आयो। ‘सानैदेखि हार्मोनियम बजाउँथे, बुवाले यही बजाएर टाइम पास गरोस् भनेर सानो हार्मोनियम पठाइदिनु भएछ,’ उनले भने, ‘त्यसपछि जेलभित्र म हार्मोनियम बजाउँथे, कोही साथी गीत गाउँथे।’ यसैगरी जेलभित्र तीन महिना बिते। 

तीन महिनापछि जेलमा रहेका पढ्न चाहने विद्यार्थीलाई रिहा गरिने भयो। त्यसरी रिहा हुने ३२ जनामा बराल पनि थिए। जेलबाट छुटेर उनी गोरखपुर पुगे। 

बन्दुक चोरेर हिँडेको छोरो जेलनेल भोगेर फर्केपछि उनका बुवाले सोधे, ‘आयो त प्रजातन्त्र? खत्तम भयो क्रान्ति?’
 
बरालले सुस्तरी जवाफ फर्काएछन्, ‘क्रान्ति कहिल्यै खत्तम हुन्न।’

हुन पनि प्रजातन्त्र ल्याउने क्रान्ति विभिन्न रूपमा बेलाबेला चलिरह्यो। तर, त्यसैबेलादेखि उनको मुक्ति सेनाको जिम्मेवारी खत्तम भइसकेको थियो।
***

२०२९ सालको कुरा हो। बराल त्रिचन्द्र मिलिटरी अस्पतालको शैयामा थिए। उनकी जहान पनि सँगै थिइन्। एकछिनमा केही मान्छे आएर फूलका बुके दिँदै भने, ‘बधाई छ।’

बराल अचम्ममा परे, बिरामी मान्छेलाई के को बधाई दिएका होलान्।

पछि बुझ्दा थाहा भयो– उनी नेपाल प्रहरीको महानिरीक्षक नियुक्त भएछन्। 

‘हाम्रो पालामा त्यसरी आइजिपी नियुक्त हुन्थ्यो,’ बरालले भने, ‘पत्याउनै मुस्किल हुने गरी।’

नेपाल प्रहरीको इतिहासमा बराल पहिलो महानिरीक्षक हुन् जसले लोकसेवा पास गरेर प्रहरी सेवामा प्रवेश गरेका थिए। त्यसअघिका महानिरीक्षक मुक्ति सेनाका कमान्डरबाट सोझै नेपाल प्रहरीमा आएका थिए।
 
मुक्ति सेना छाडेर गोरखपुर पुगेका बरालका बुवाले उनलाई फेरि पढ्न भने, त्यो पनि गोरखपुरदेखि टाढा गएर। ‘म गोरखपुरमै भएँ भने पढ्दिन भनेर उहाँले टाढा गएर पढ भन्नुभएको थियो, राम्ररी पढिस् भने अरू पैसा दिन्छु भनेर पाँच सय रुपैयाँ पनि दिनुभयो,’ बरालले भने ‘बुवा ज्ञान छैन भने मानिसले जति ठूलो कुरा गरे पनि काम गर्न सक्दैन भन्नुहुन्थ्यो।’ 

त्यसपछि बराल मुरादावादको चन्दौसी गए। बिए पास गरे। एमए पढ्न उनी अलिगढ मुस्लिम विश्वविद्यालयमा भर्ना भए। त्यहाँ पढाइभन्दा धेरै खेलकुदमा भुले। पहिलेदेखिकै फुटबल र हकीका सोखिन बराल अलिगढ विश्वविद्यालयको फुटबल क्लबका कप्तान बने। ‘म अगाडि कोही पनि गैरमुस्लिम विश्वविद्यालयको फुटबल क्लबको कप्तान बनेका थिएनन्,’ बरालले भने, ‘म कप्तान मात्र भइनँ, फुटबल खेल्न कलेजको टिम लिएर अफगानिस्तानसम्म पुगेँ।’ 

खेलकुदमा त उनले फड्को मारेका थिए, तर पढाइ लथालिंग भएको थियो। एकदिन उनका बुवा कलेजमै पुगेर भने, ‘अब म रिटार्यड हुने बेला भयो, तेरो के चाला हो यो, पढ्नु पर्दैन?’

उनी अलिगढ विश्वविद्यालय छोडेर पटना गए र राजनीतिशास्त्रमा एमए भर्ना भए। २०१२ सालमा काठमाडौं आएका बेला लोकसेवाले प्रहरी निरीक्षकका लागि अन्तर्वार्ता लिइरहेको थाहा पाएपछि बरालले पनि परीक्षा दिए। परीक्षा पास गरेर उनी प्रहरी बने। सेवा प्रवेश गरेको १६ वर्षमा उनी प्रहरी प्रमुख भए। 

छ वर्ष नेपाल प्रहरी हाँकेका बरालले नेपाल प्रहरीलाई आधुनिकीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे। उनको इमानदारी र कार्यसम्पादन अहिले पनि धेरैका लागि उदाहरणीय बनेको छ। 

‘यो नातिले प्रहरी बन्छु भन्यो, प्रहरी बन्न पहिला प्रहरी बुझ्नुपर्छ, म्यादी भइस् भने तैंले प्रहरी के हो भनेर अलिअलि बुझ्छस् भनेर पठाएँ,’ बरालले भने, ‘यु ह्याभ टु डिजर्भ इट बिफोर यु रिर्जभ इट।’ 

५१ वर्षमै प्रहरीबाट पेन्सन भएका बराल त्यसपछि बर्माका लागि नेपाली राजदूत बने। तीन वर्षका लागि भनेर नियुक्त गरिएका उनी छ वर्षसम्म बर्मा बसे। 

राजदूत बनेर फर्किएपछि उनी राष्ट्रिय पञ्चायतको सदस्यमा मनोनित भए। बहुदल नआउञ्जेल पञ्चायतको सदस्य रहे। देशमा बहुदल आएपछि उनले राष्ट्रसंघमा काम गर्ने अवसर पाए। युएनको पब्लिक सेक्युरिटी डिपार्टमेन्टअन्तर्गत सोमालिया र कम्बोडियामा २२ महिना काम गरे। 

नौ दशक पार गरेका बराललाई अहिले पनि कुनै रोगले छुने आँट गरेको छैन। ‘कतिसम्म भने गालामा एउटा चाउरी पनि परेको छैन। कान पनि मजाले सुन्छु, आँखा पनि राम्ररी देख्छु,’ उनले हाँस्दै भने, ‘दाँत भने छैनन्, गिजाले चपाउँछु।’ 

उनमा शारीरिक सक्षमतामा मात्र छैन, स्मरण शक्ति पनि अझै उस्तै छ। मुक्ति सेनादेखि विभिन्न घटनामा को को मान्छे थिए उनी भन्न सक्छन्। ‘बुढ्यौलीसँग मान्छेलाई बिर्सने रोग ९अल्जाइमर्स० हुन्छ, मलाई पनि छ तर अलिकति कम,’ बरालले भने, ‘बर्मामा हुँदा जापानको राजदूत साथी केही समय पहिला यहीँ भेट्न आएको थियो उसले त आफ्नी श्रीमती पनि बिर्सन्छ रे।’  

उनी फेरि हाँसे।

आफूलाई अझै स्वास्थ्यले साथ दिनुमा उनी जीवनशैलीलाई कारण ठान्छन्। साकाहारी बराल जाँडरक्सी खाँदैनन्। नियमित ध्यान, योग गर्छन्। दुई वर्षअघिसम्म गल्फ खेल्थे। ‘यति हुँदाहुँदै भगवानको इच्छा पनि हो,’ उनले भने, ‘म ज्यूँदै छु भन्दा मान्छेले अचम्म मान्ने गरी बाँच्न पाउन भगवानको ठूलो आर्शिवाद चाहिन्छ।’

उत्तराद्र्धतिर पुग्दा उनलाई जीवनप्रति कुनै गुनासो छैन, आफ्नै भूमिमा भारतीय सेनाको बुट खाएको बाहेक।  

‘अनि बुवाको बन्दुक चोरेर ल्याउन हिँडेको प्रजातन्त्रप्रति उनको केही कैफियत छ तरु’ हामीले सोध्यौं।
 
‘कुनै पनि प्रणाली चल्न संस्थाहरू चाहिन्छन्, नेपालमा अहिले ती संस्थाहरूलाई दिनदिनै कमजोर बनाउने प्रयास भइरहेको छ, यसले मलाई निराश बनाउँछ,’ बरालले भने, ‘आशावादी हुने ठाउँ पनि धेरै छ, किनकि अहिलेका नेपाली युवाको नेपाल आमाप्रति गज्जबको श्रद्धा छ।’

तस्बिरहरू: नारायण महर्जन/सेतोपाटी

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • बस दुर्घटनाका घाइतेको उपचार नगरेको भन्दै मणिपाल अस्लपतालका डाक्टर नियन्त्रणमा

    बस दुर्घटनाका घाइतेको उपचार नगरेको भन्दै मणिपाल अस्लपतालका डाक्टर नियन्त्रणमा

    मुस्ताङको कागबेनीमा शनिबार भएको बस दुर्घटनामा परी घाइते भएकालाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालले उपचार नगरेपछि पोखराको फूलबारी क्लबले डाक्टरलाई नियन्त्रणमा लिएको छ।

  • पत्रकार महासङ्घ भक्तपुरमा बुढाथोकी

    पत्रकार महासङ्घ भक्तपुरमा बुढाथोकी

    नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुष्करराज बुढाथोकी निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा उपाध्यक्षमा रोशन शिल्पकार, महिला उपाध्यक्षमा कविता थापा, सचिवमा कृष्ण नेपाल, सहसचिवमा किरण बुढाथोकी, समावेशी सहसचिवमा सुन्दर शिल्पकार, कोषाध्यक्षमा मोहन वल्ल निर्वाचित भएका छन् । सदस्यहरु जयराम बास्तोला, हेमराज ढकाल, लीला श्रेष्ठ, राम तमाखु, विनोद कोजु, सुमन श्रेष्ठ, हरिशरण बास्तोला र विदुर नेपाल निर्वाचित भएका छन् ।

  • करेन्ट लागेर युवकको मृत्यु

    कैलालीको अत्तरियामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । अत्तरियास्थित धनगढी रोडमा रहेको बुद्ध डेन्टल अस्पतालको छतमा करेन्ट लागेर १६ वर्षीय झलक भाटको मृत्यु भएको हो। भाटको करेन्ट लागेर गम्भीर घाइते अवस्थामा सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माताखेतीले जनाएको छ।

  • मलेसियाबाट १८ नेपालीको उद्धार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र राहतको काम गरिरहेको सरकारले शुक्रबार ती नेपालीको उद्धार गरेको हो । विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्यालगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो।

  • उपत्यकाका प्रमुख नदीबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन

    उपत्यकाका प्रमुख नदीबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन

    उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। बाग्मती सफाइको २०६औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बिहान सिमसिमे पानी परे पनि सफाइमा ६ सय ५० भन्दा बढीको सहभागिता जुटेको सफाइ अभियन्ता एवम् अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिए। 

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी