काठमाडौँ उपत्यकाबाट सबैभन्दा बढी बालबालिका हराउने गरेका छन् । बढी जनघनत्व तथा नेपालकै ठूला सहर भएकाले सहर पस्ने रहर बोकेका बालबालिका यस क्षेत्रबाट हराउने गरेका हुन् ।
बालबालिका खोजतलास समन्वय केन्द्रको आव २०६९–७० को प्रतिवेदनअनुसार मध्यमाञ्चल विकास क्षेत्रमा ७३ प्रतिशत बालबालिका हराउने गरेकामा उपत्यकाकै ठूला सहर मानिने काठमाडौँ, ललितपुर, भक्तपुर क्षेत्रमा मात्रै ५५ प्रतिशत बालबालिका हराउने गरेका छन् भने बाँकी चार क्षेत्रमा २७ प्रतिशत बालबालिका हराउने गरेको छन् ।
यसरी हराएका बालबालिका चोरी, बलात्कार, हत्या तथा आपराधिक क्रियाकलापमा संलग्न भएको अनुसन्धामा पाइएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रका अनुसार बालबालिकाका आकाङ्क्षा बढी हुनु तर आर्थिक अभावका कारणले गर्दा ती आकाङ्क्षा पूरा नहुनुले कामको खोजीमा बालबालिका हराउने गरेका हुन् ।
हराउने बालबालिकामध्ये ११ वर्षदेखि १६ वर्ष उमेर समूहका बालबालिका बढी देखिएका छन् ।रासस