चितवनको भरतपुर ओरालोमा आज साँझ ट्याक्टरको ठक्करबाट दुई महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना५त ४२२३ नंको ट्याक्टरले बाटो काट्दै गरेका तीनजना महिलालाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।
दुर्घटनामा परी पश्चिम चितवनको गुञ्जानगरकी ६५ वर्षीया निर्माया श्रेष्ठ र चितवन पदमपुरकी ४० वर्षीय ललिता श्रेष्ठको मृत्यु भएको चितवनका प्रहरीनायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार निर्मायाको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा मृत्यु भएको हो भने ललिताको कजेलमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको हो। घाइते चितवन भरतपुरकी सूर्यकुमारी श्रेष्ठको सोही कलेजमा उपचार भइरहेको र साँझ ५ः१५ बजे सो दुर्घटना भएको प्रहरीले जनाएको छ।
ट्याक्टरका चालकसमेत घाइते रहेको उनी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । रासस