प्लटिङमध्ये फाट्टफुट्ट मात्र घर बनेको फराकिलो खाली जग्गामा जताततै निलो र सेतो रंगका झन्डा फर्फराइरहेका छन्। कुनै मेलाको जस्तो झल्को दिने माला–प्रसाद, फलफूल र खाजा पसल जताततै खोलिएका छन्। 'गुरु' भनिने रामबहादुर बम्जन र धर्मबारे लेखिएका पुस्तक तथा जन्तरहरू बेच्ने ठाउँ पनि प्रशस्तै छन्।
अलिक पर पुगेपछि हजारौं मानिस लामबद्ध देखिन्छन्। लाममा अधिकांश काठमाडौं वरपरका तामाङ बस्तीबाट झुन्ड–झुन्ड ओइरिएकाहरूको झल्को मिल्छ। त्यो लाम निकै परसम्म तन्किएर एउटा विशाल पन्डालतिर बढ्दैछ। अग्ला झन्डा र प्लास्टिकको फूलका गमलाले झकिझकाउ त्यो पन्डाल क्षेत्रभित्रै स्काफोल्डिङ गरिएको बाँसैबाँसको विशाल आकृति देखिन्छ। ७५ फिट अग्लो त्यसै आकृतिमा टाँसिएको छ, उत्तिकै अग्लो महामैत्रीको थांका चित्र।
चक्रपथ छाडेदेखि भैंसेपाटीको बाटोभरि यो उत्सवको प्रचार सामग्री देखिन सुरु हुन्छ। बुङमतीलाई दाहिने छाडेर अघि बढेपछिको कार्यविनायक नगरपालिका–१३, चुनिखेलको यो फराकिलो फाँटमा भने केही दिनयता अचानक गजबको चहलपहल बढेको छ।
यो सिंगो परिसरभरि गाढा बैजनी रंगको पोसाक लगाउने पुरुष र गुलाबी रंगको पोसाक लगाउने महिलाहरू सक्रिय छन्। प्रत्येकले प्रत्येकलाई देख्नेबित्तिकै ‘मैत्री मंगलम्’ भनेर अभिवादन गरिरहेका हुन्छन्। अनुहार र हाउभाउ हेर्दा उनीहरू सबै तामाङ समुदायका हुन् भनेर अन्दाज लगाउन सकिन्छ। आयोजकका अनुसार उनीहरू स्वयंसेवी हुन्, जसको संख्या पाँच सयभन्दा बढी छ।
पक्का अनुशासित र केही बेरसम्मै आफ्नो पन्थका बारेमा बोल्नसक्ने यी स्वयंसेवी तोकिएको नियमभन्दा बाहिर कसैलाई जान दिँदैनन्। कुनै पनि ‘बेग्लै’ परिस्थिति आए उनीहरू चेन कमान्डका सिपाहीले जस्तै अगुवाको निर्देशन पर्खिन्छन्।
घन्टौं उभिनुपर्ने लाम नलागेर हामी भित्र पस्न चाहन्थ्यौं। स्वयंसेवीहरूले दिएनन्। उनीहरूका अगुवा नआउन्जेल हामीलाई रोक्दारोक्दै पनि सम्मानचाहिँ दर्शाइरहे।
केही बेरपछि स्वयंसेवककै पोसाक धारण गरेका ‘बोधी श्रवण धर्म संघ’ का वर्तमान तथा निवर्तमान अध्यक्ष आइपुगे। एमएस थापाको जनमुक्ति पार्टीमा स्थापनादेखि लागेको बताउने अध्यक्ष नीलबहादुर थिंग र विदुर नगरपालिकामा राजाले चुनाव गराउँदाताका मेयर जितेका एवं यस संघका निवर्तमान अध्यक्ष कमानसिंह लामाले हामीलाई कुराकानी गर्न केही पर लगे।
उनीहरूले हाम्रा कुरा सुने, आफ्ना कुरा बताए।
त्यसपछि बल्ल हामीलाई त्यस पन्डाल परिसरभित्र तोकिएको क्षेत्रमा प्रवेश गर्ने अनुमति मिल्यो।
अत्यन्त व्यवस्थित पन्डाल क्षेत्रमा विभिन्न खण्ड छन्। केन्द्रीय भागमा मुख्य पन्डाल छ, सेतो रंगको प्रधानताबीच फूलका गमलाले सक्दो आकर्षक बनाइएको। ठ्याक्क बीचमा राखिएको सेतै रंगको विशाल आसन छ। आसनमा सेतै पहिरन लगाएर बसेका छन्, 'मुख्य गुरु' अर्थात् २०६२ सालताका बाराको जंगलमा तपस्या गर्दागर्दै भेटिएका रामबहादुर बम्जन।
‘रामबहादुर बम्जन त उहाँको सबैभन्दा पुरानो नाम हो,’ अध्यक्ष थिंगले भने, ‘तपस्वी, पाल्देन दोर्जी, नमोबुद्ध हुँदै अहिले त २१ लोकको भगवानबाट अभिषेक गरिएपछि उहाँको नाम गुरू महा सम्बोधि धर्म संघ भइसकेको छ।’
पन्डालको दक्षिणी कुनामा हजारौं दर्शनार्थी थुप्रिएका छन्। उनीहरू एक एक गर्दै बम्जनको आर्शिवाद थापिरहेका छन्। बम्जन केही बोल्दैनन्। भक्तजनले ल्याएको खादा उनीहरूलाई नै लगाइदिने र शिरमा हात राखेर आशिर्वाद दिनेबाहेक उनी र एकै भावका अटल मूर्तिबीच खासै केही फरक छैन।
छरछिमेकका अनुसार यसरी आशिर्वाद लिने र दिनेको चहलपहल कहिलेकाहीँ राति ८ बजेभन्दा ढिलोसम्म लम्बिने गरेको छ।
बम्जनको ठीक अगाडि अर्को विशाल पन्डाल छ, जहाँ झन्डै दुई सय जना पोसाकधारी शिष्य एकोहोरो मन्त्रपाठ गरिरहेका छन्। त्यही मन्त्रको आवाज माइकबाट त्यो सिंगो भेगभरि फैलिरहेको छ। यो मन्त्रभन्दा पहिले त्यहाँ कसैले नेपाली भाषामा प्रवचन दिइरहेका थिए।
‘उनी तोप्चेन लामा अर्थात् गुरुपछिका मुख्य गुरु थिए,’ संघका अध्यक्ष थिंगले थपे, ‘गुरुले लेखेर दिएका कुरालाई यहाँ तोप्चेन गुरुले दैनिक भन्दै आइरहनुभएको छ।’
त्यो नेपाली प्रवचनपछि एक जना विदेशीले अंग्रेजीमा लामै प्रवचन दिएका थिए।
‘त्यो तोप्चेन गुरुको प्रवचनकै अनुवाद थियो,’ थिंग भनिरहेका थिए, ‘पोल्यान्डबाट आएका उहाँलाई हामी दोर्जे गुरु भनेर चिन्छौं।’
आयोजकका अनुसार यो पूजाको पहिलो दिन अर्थात् चैत ८ गते बम्जन स्वयंले बोलेका थिए। त्यसयता उनले आशिर्वाद दिने काम मात्रै गरिरहेका छन्। उनले लेखेर दिएका कुरालाई अरुले प्रवचन दिने गर्दै आएका छन्। प्रवचन बाहेकको समय यही एकोहोरो मन्त्रोच्चारणको हुन्छ।
निलो प्रधानतामा अन्य रंग मिसाइएका पोसाकधारीहरूले यसरी एकोहोरो मन्त्रोच्चारण गरिरहेको दृश्य गुम्बामा ध्यानमग्न भिक्षुहरूसँग मिल्दोजुल्दो देखिन्छ। पन्डालकै अर्को भागमा झन्डै सय जना विदेशी ध्यान गरेरै बसेका छन्।
त्यो पन्डालभन्दा उत्तरको भागमा एकातर्फ अघि भनिएकै महामैत्रीको विशाल थांका छ भने अर्कोतर्फको खाली भागमा हामीलाई केही बेर उभिन दिइएको छ। यो सिंगो पन्डाल क्षेत्रको पछाडि भने सयौं टेन्ट लगाइएका छन्। ती टेन्टमा विदेशीहरू बसिरहेको र यहाँ भइरहेका प्रत्येक गतिविधि उनीहरूले इन्टरनेटमार्फत् आफ्ना मुलुकमा पठाइरहेको जानकारी अध्यक्ष थिंगले दिए।
उनका अनुसार संघको अहिलेसम्म ६३ वटा मुलुकमा शाखा विस्तार भइसकेको छ। हामी त्यो टेन्ट भएको स्थानमा पस्न खोज्यौं। तर, बल्लबल्ल पस्न पाएको पन्डालको उत्तरी भागबाहेक अन्त जाने अनुमति दिइएन।
एघार वर्षअघि बाराको जंगलमा तपस्या गर्दै गरेको भेटिएका रामबहादुर बम्जन यसरी विश्वव्यापी बन्नुमा त्यस्तो विशेषता के छ? हामी जिज्ञासु बन्यौं।
‘सिद्धार्थ गौतम सम्बुद्ध रहेकामा उहाँभन्दा पनि बढी ज्ञान प्राप्त गर्नुभएका गुरु महासम्बोधि भइसक्नुभएको छ,’ थिंगले भने, ‘हजारौं वर्षपहिले वाणीमा मात्र प्रकट हुनुभएका मैत्रीय भगवान अहिले सशरीर उपस्थित हुनुभएको हो।’ यस्ता 'भगवान' को अघिल्ला पुस्ताले पनि दर्शन गर्न नपाएको र यसपछाडिको पुस्ताले पनि पाउने–नपाउने ग्यारेन्टी नरहेकाले अहिलेको पुस्ता दुर्लभ बन्न पुगेको तर्क उनले अघि सारे।
‘पोहोर सिन्धुपाल्चोकमा गुरुले आफू उपस्थित यो स्वर्णिम युग हो भन्नुभएको थियो,’ थिंगले थपे, ‘यस्ता भगवानलाई एघार वर्ष लाग्दा पनि राज्यले चिन्न सकेन। जंगलको पशु र वनस्पतिले चिनिसके। विदेशमा प्रचार सुरु भइसक्यो। तर, नेपाल राज्यले अझै चिन्न सकेको छैन।’
बम्जनलाई राज्यले नचिने पनि आफूहरूले चिनेको बताउने थिंग स्वयं भने पहिले राजनीतिमा थिए।
‘आज जे जति जातीयता र स्वायत्तताका कुरा भइरहेका छन्, ती सबै जनमुक्ति पार्टीमा रहेर हामीले उहिल्यै उठाएका हौं,’ उनले भने, ‘अब भने जातपातको कुरा बन्द गरेर गुरुले भन्नुभएजस्तै विश्वभरि शान्ति र मैत्रीको सन्देश फैलाउन यता आबद्ध भएका छौं।’
जतिबेला बाराको हलखोरिया जंगलमा रामबहादुर बम्जन ध्यान बसेको चर्चा फैलिएको थियो, त्यतिबेलै त्यसै जिल्लामा राजनीति गर्दै आएका थिंग उनीसँग नजिकिन पुगेका थिए। पछि बम्जनको प्रभाव बढ्दो देखेपछि उनैले २०६७ सालमा आफ्नो अध्यक्षतामा संघ स्थापना गरे।
उनको बढ्दो प्रभावको रन्कोले काठमाडौंलाई पनि छोइसकेको थियो। त्यतिबेलै राज्य मन्त्रीसमेत भइसकेका पूर्व कांग्रेसी नेता मणि लामा अचानक राजधानीमै सलबलाए। उनले ललितपुर जिल्ला प्रशासन कार्यालय गएर आफ्नो अध्यक्षतामा संघको अर्को कमिटी गठन गरे। लामाले खोलेको त्यो कमिटीले बढी मान्यता पायो। त्यसमा पछि गएर विदुरमा नगरप्रमुख भइसकेका कमानसिंह लामा दोस्रो अध्यक्ष बनाइए। त्यसपछि बल्ल उनै बारा जिल्लाकै थिंगको भागमा अहिले अध्यक्षता हात परेको छ।
‘गुरुले राजनीति वा धर्ममध्ये एउटा काम रोज्नु भनेपछि अहिले हामी सबै जना राजनीति छाडेर धर्ममा लागेका छौं,’ थिंगले थपे, ‘अहिले फेरि संघको केन्द्रीय कार्यालय बारा जिल्लामै छ र म त्यसको अध्यक्ष भएको छु।’
थिंगले यसो भनिरहँदा कमानसिंह केही नबोली टाउको हल्लाएर सहमति जनाइरहेका थिए।
केही समयअघि बम्जनले नेपाल भ्रमण गर्ने क्रममा कांग्रेसका पूर्वमन्त्री पिएल सिंह पनि टोलीसँगै पुगेको समाचार प्रकाशित भएको थियो। सिंह हाल नेपाली कांग्रेसमा सक्रिय नभई संवैधानिक राजतन्त्रको पक्षमा मत राख्दै आइरहेका छन्। अहिले उपत्यकामै चलेको पूजामा भने काठमाडौंका पूर्व मेयर सिंहको उपस्थिति कतै देखिएको छैन।
संघको केन्द्रीय कार्यसमिति ६३ सदस्यीय रहेको र ३१ वटा जिल्लामा शाखा विस्तार भइसकेको बताइन्छ।
बम्जनको ध्यानले बढाएको रापतापसँगै संगठनको पनि विस्तार हुँदै गएपछि संघले पहिलोपटक २०६९ सालमा सिन्धुलीमा पूजा शृंखला आयोजना गर्यो। त्यसपछि चितवन, लमजुङ, सर्लाही र सिन्धुपाल्चोकमा पूजाले निरन्तरता पाएको थियो।
त्यही अभियानअन्तर्गत अन्तिमपटक ‘विश्वशान्ति महामैत्री पूजा महादर्शन र आर्शिवाद कार्यक्रम’ उपत्यकामा चलाइएको हो।
चैत ८ देखि सुरु भएको यस कार्यक्रममा सहभागी हुन बम्जन ६ गते बाराबाट काठमाडौं आएका थिए। बाटोमा उनलाई १ सय ५६ गाडी र २ सय ५० मोटरसाइकलले पहरा दिएका थिए। यतिबेला पनि संघको सेतो र निलो रंगका झन्डा लगाइएका गाडी र मोटरसाइकलहरू पूजा क्षेत्रमा जताततै देखिन्छन्। त्यस्ता सवारी हाँक्ने पनि प्रायः तामाङ समुदायकै मानिस देखिन्थे।
सयौं स्वदेशी तथा विदेशी भक्तजन पन्डाल क्षेत्रमै टेन्टमा बसोबास गरिरहेका छन्। हरेक दिन हजारभन्दा बढी मानिसलाई खुवाउने गरी निःशुल्क भोजनको मेस छेवैमा चलिरहेको छ। बम्जन भने भैंसेपाटीस्थित एक घरमा बसिरहेका छन्। कार्यक्रम सुरु हुने बेला सवारीको लश्कर लगाएरै आउँछन् र बेलुकी उतै फर्कन्छन्। अध्यक्ष थिंगका अनुसार भैंसेपाटीको त्यो घरमा पहिले कुनै राजदूत बस्ने गर्थे।
बम्जनले प्राप्त गरेको ज्ञान ‘बोधी मार्गदर्शन’ भएको र त्यसलाई ‘मैत्रीधर्म’ नाम दिइएको पनि थिंगले खुलाए।
‘पूर्व भ्रमित धर्मलाई नष्ट गरी स्थापित गर्ने धर्म मैत्रीधर्म भएको गुरुले बताउनुभएको छ,’ थिंगले भने, ‘कुनै पनि धर्मका बारेमा जानकारी राख्ने र आफूलाई गुरु बताउनेलाई आफूसमक्ष आएर कुरा गर्न गुरुले बोलाउनुभएको छ।’ अहिलेसम्म कुनै पनि त्यस्ता धर्मगुरु भेट्न भने नआएको उनले जानकारी दिए।
यसअघि बम्जनले तपस्या सुरु गरेपछि डिस्कभरी च्यानलले उनका बारेमा ४५ मिनेट लामो डकुमेन्ट्री तयार पारेर देखाएको थियो। डेली मेल, द इन्डिपेन्डेन्ट, बिबिसी लगायत पश्चिमा सञ्चार माध्यमले उनीबारे समाचार प्रकाशन/प्रसारण गरेका थिए। नेपाली, हिन्दी, अंग्रेजी, कोरियन, चाइनिज, स्पेनिस, जर्मन, ग्रिक लगायत २८ भाषामा बम्जनबारे जानकारी दिने वेबसाइट बनाइएको छ।
वेबसाइटमा उनका कार्यक्रम, प्रवचनबारे जानकारी दिइएको हुन्छ। ललितपुरमा भइरहेको कार्यक्रमको युट्युबमा प्रत्यक्ष प्रसारण गरिएको छ। युट्युबमा बम्जनबारे सयौं फुटेज हेर्न सकिन्छ। त्यसैमध्ये तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले निकै श्रद्धाका साथ भेटेको र कुरा गरेको भिडियो पनि समावेश छ। फेसबुकमा मैत्रीय नामको पेजमा बेलाबेला तस्बिर र भिडियो अपलोड भइरहेको हुन्छ। विभिन्न भाषामा युट्युबमा राखिएका बम्जनसम्बन्धी भिडियो लाखौंले हेरेका छन्।
यो सबैको प्रभाव दिनप्रतिदिन विदेशीहरूमा पनि बढ्दो छ। त्यसैमध्येकी एक हुन्, न्युजिल्यान्डकी जिल मायेर्स।
ध्यानबाट एकैछिन निस्केको मौका पारेर हामीले उनलाई पछ्यायौं। उनी पनि कुरा गर्न तयार भइन्।
‘म यही कार्यक्रमका निम्ति न्युजिल्यान्डदेखि पहिलोपटक नेपाल आएकी हुँ,’ ५८ वर्षीया यी पूर्व शिक्षिकाले भनिन्, ‘न्युजिल्यान्ड छँदै त्यत्रो मान्दै आएको गुरुलाई पहिलोपटक साक्षात् देख्दा त म थाम्नै नसकेर रोएकी थिएँ।’
जिलले केही वर्षअघि पहिलोपटक डिस्कभरी च्यानलमा बम्जनलाई देखेकी थिइन्। त्यो उनका बारेमा बनेको लामो वृत्तचित्र थियो। त्यसपछि आकर्षण बढ्दै गएर उनले युट्युबमा बम्जनबारे खोजी खोजी भिडियो हेर्न थालिन्।
‘म १३ वर्षको उमेरदेखि ध्यान गर्दै आइरहेकी थिएँ,’ जिल भन्छिन्, ‘न्यूजिल्यान्डका थुप्रै फरक ध्यान केन्द्रहरूमा समय बिताउँदै आएकी हुँ।’
उनलाई एकपटक भारतमा आएर ध्यान गर्ने इच्छा लागिरहेको थियो। ‘संयोगले त्यसैबखत मिडियामार्फत् गुरुको संगत पाएँ,’ उनले थपिन्, ‘यसै क्रममा फेसबुकमा गुरुको यो पूजा कार्यक्रम काठमाडौंमा हुन लागेको जानकारी पाएपछि यता आएकी हुँ।’
यसबीच नेपाल बस्दै आएकी न्यूजिल्यान्डकै अर्की युवती जेरीसँग उनको इमेल सम्पर्कबाटै संगत भइसकेको थियो।
‘मैले यो पूजा कार्यक्रमबारे पनि जेरीसँग जिज्ञासा राखेँ,’ जिल भन्छिन्, ‘लामो समयदेखि गुरुको संगतमै रहेकी उनी आफ्नी आमासहित यसमा सरिक हुने तयारीमा थिइन्।’
हाल यस कार्यक्रमकै निम्ति न्युजिल्यान्डबाट आएका आफूहरू तीन जना रहेको उनले जानकारी दिइन्।
अलग्गै बस्ने २९ वर्षे छोरा र घरमा सँगै बस्ने आफ्नो एक जना ‘पार्टनर’ लाई उतै छाडेर आफू नेपाल आएको बताउने जिल अत्यन्त उत्साहित देखिन्थिन्।
बम्जनलाई पहिलोपटक देख्दा किन रोएको भन्ने भेउ आफैंले पनि अहिलेसम्म नपाएको जिलले बताइन्।
‘किन हो असाध्यै भावुक भएँजस्तो लाग्छ,’ उनले भनिन्, ‘सायद वास्तविक प्रेम भनेकै यही पो हो कि!’
पश्चिमा समाजमा जिलको जस्तो सुनौलो कपाल भएकी (ब्लन्ड) महिलालाई रूपका मामलामा असाध्यै महत्व दिइन्छ। के उनले सारा जीवन यसरी त्याग गरेरै बिताएकी होलिन्?
‘होइन,’ उनले भनिन्, ‘मैले तन्नेरी हुँदा धेरै रमाइलो गरेँ। म पार्टी गरिराख्नुपर्ने केटी थिएँ। हिजोआज चाहिँ त्यो सबैसँग अलग हुँदै आएकी हुँ। अब बल्ल आएर बास्तविक प्रेमको महत्व बुझेँ जस्तो लाग्न थालेको छ। यो सबै यी गुरुसँग नजिकिएपछि नै भएको हो।’
जिलका अनुसार उनले कतिसम्म त्याग गर्दै गएकी छन् भने न्युजिल्यान्डबाट विमानमा आउँदासम्म उनले मांसाहारी भोजन गरेकी थिइन्। २० तारिखयता काठमाडौं ओर्लेपछि भने उनी साकाहारी मात्र होइन, दुग्धजन्य पदार्थसमेत त्यागेर ‘भेगन’ बनेकी छन्।
‘अब यस्तै रहन्छु भन्ने अठोट छ,’ उनले थपिन्, ‘उता न्युजिल्यान्ड पुगेपछि त अलिक समस्या होला। तैपनि अठोट राखेकी छु।’
चुनीखेलमा चलिरहेको पूजा अवधि सकिएपछि पनि उनी बम्जनसँगै संघमा जाने योजना गरिरहेकी छन्।
‘अहिलेलाई ३३ दिन नेपाल बस्ने योजना बनाएकी छु,’ उनले थपिन्, ‘तर, थाहा छैन बढी पनि बस्न सक्छु। तीन महिनाको त भिसा नै छ।’
कुराकानीका क्रममा जिलले बम्जनलाई नेपालभित्र मात्र सीमित राख्दा कसैलाई फाइदा नहुने बताइन्। प्रेमको माध्यमबाट उनले संसार परिवर्तन गर्नसक्ने उनको धारणा रहेछ।
न्युजिल्यान्डमा त्यस्तो परिवर्तन गर्नुपर्ने कुरा के छ?
‘हाम्रो मुलुकमा भ्रष्टाचार असाध्यै बढी छ,’ जिलले भनिन्, ‘त्यसैगरी जलमार्गहरू उद्योगले विसर्जन गरेका फोहोरले प्रदूषित हुँदै गइरहेका छन्। अरू पनि धेरै समस्या छन्।’
चुनिखेलको डाँडामा बस्दै आएकी जिलको कुरा दंग पार्ने किसिमको थियो।
तपाईंले नेपालमा कति भ्रष्टाचार छ थाहा पाउनुभएको छ? यहाँ प्रदूषणको समस्या देख्नुभएको छ?
जवाफमा उनले विमानस्थलबाट सोझै पूजा गर्ने ठाउँ आइपुगेकाले नेपालबारे धेरै थाहा नपाएको तर देखिएजति कुरा चाहिँ मनपरेको बताउँदै विदा भइन्।
उता पन्डाल क्षेत्रमा थिंग दर्शनार्थीहरूलाई बम्जनका बारेमा एकपछि अर्को रहस्यमय कुरा सुनाएर चकित पारिरहेका थिए। बम्जनले छुनेबित्तिकै कसरी रोग लागेकाहरू निको हुन्छन् भन्ने क्रममा उनले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको क्यान्सर निको हुनुमा उनकै हात रहेको बताउन पनि छाडेनन्। उनको तस्बिर अंकित एउटा जन्तर देखाउँदै उनी त्यसभित्र बहुमूल्य कुरा राखिएको र अरूबेला लाखौं रुपैयाँमा नपाइने त्यो जन्तर अहिले पूजा अवधिमा केवल पाँच सय रुपैयाँमा बिक्री गरिरहेको जानकारी पनि दिइरहेका थिए।
त्यसै क्रममा निलो वस्त्रधारी एक जना विदेशी छेवैबाट गुज्रिए। अंग्रेजीमा सम्बोधन गर्ने विदेशी अर्थात् पोल्यान्डका दोर्जे गुरु उनै रहेको जानकारी मिलेपछि हामी उनलाई पछ्याउँदै गयौं।
एकनास अनौठो पाराले हाँसिरहने दोर्जे गुरु कहिले मोबाइल देखाउँदै त कहिले अन्तै जरुरी काम आइलागेको बताउँदै कुरा गर्न पन्छिए। संघका अध्यक्ष थिंगले गरेको अनुरोधलाई पनि उनले वास्तै गरेनन्।
त्यतिबेलै निलो पहिरन लगाएकै अर्की एक विदेशी महिला देखिइन्। यस्ता निलो वस्त्रधारीहरू भने बम्जनपछिका महत्वपूर्ण अर्थात् ‘गुरुमार्ग गुरु’ रहेको जानकारी हामीलाई मिलिसकेको थियो। थाइल्यान्डबाट आएकी तिनै विदेशी महिलासँग कुरा गर्न खोज्दा उनले पनि अप्ठेरो मानिन्।
‘म यहाँ सजावटको काममा लागेकी छु,’ स्वयंसेवीलाई फूलका गमला उचाल्दै राख्न लगाइरहेकी उनले भनिन्, ‘अब फूलका बारेमा के कुरा गर्ने?’
हामीले फूलमै केन्द्रित रहेर भए पनि उनको विचार जान्ने इच्छा देखाएपछि उनले १५ मिनेट समय मागिन्। त्यसैबीच पोल्यान्डका दोर्जे गुरु आएर उनको कानमा केही खासखुस गरे। त्यसको केही बेरमै थाइल्यान्डकी महिला पनि हराएपछि फेरि देखा परिनन्।
‘यो आयोजनाको उद्देश्य नै विश्वमा शान्ति र मैत्री फिँजियोस्। सम्पूर्ण दुःखको अन्त्य हुन सकोस्। सम्पूर्ण दुष्ट आत्माहरूको नष्ट गर्ने। हजारौं लाखौं वर्षदेखि भौंतारिएर बसेका त्यस्ता आत्माहरू छन्। त्यसलाई टुंगो लगाउने हो। धेरै मानिस काम्दै आउँछन्। गुरुले छुनेबित्तिकै शान्त हुन्छन्,’ गुरु भनिनेहरू कोही बोल्न नमानिरहेका बेला संघका अध्यक्ष थिंग नै हामीलाई अझ बढी जानकारी गराउन उत्साहित देखिए।
उनले बम्जनको नेपालमा यो अन्तिम पूजा कार्यक्रम रहेको र अबको यात्रा अन्तर्राष्ट्रिय क्षेत्रमा हुने जानकारी पनि दिए।
हामीले बम्जनसँग भेट्ने इच्छा गर्यौं।
‘भोलि-पर्सितिर मिलेदेखि गुरुको दर्शनसम्म गराउन सक्छौं,’ उनीहरूले भने, ‘कुराकानी त उहाँले पनि कसैसँग गर्नुहुन्न।’
के तपाईंहरूको पनि कुराकानी हुँदैन?
‘हामीलाई त निर्देशनै दिन पनि कुरा गर्नुहुन्छ नि!’
अनि पत्रकारसँग भेट्न चाहिँ नमिल्ने?
‘धर्मसभा बोलाएको बेला मात्र मिल्छ।’
अहिल्यै कुराकानी गर्ने कुनै उपाय छैन?
‘हामीजस्तै संघमा बसेर नियमभित्र हिँड्ने हो भने पत्रकार भइरहेरै पनि गुरुसँग नियमित संवाद सम्भव छ। होइन भने संघ बेगरका पत्रकारसँग कुरा गर्न उहाँसित समय नै हुँदैन।’
यति कुराकानी गरेर हामी त्यहाँबाट विदा भयौं ।
फर्कंदा बम्जनको दर्शन गर्न आएका हजारौंको भीड पन्डालमा उसैगरी लामबद्ध नै थियो।
निलो र सेतो रंगका झन्डा फर्फराइरहेकै थिए। 'गुरु' भनिने बम्जन र धर्मबारे लेखिएका पुस्तक तथा जन्तरहरू बेच्ने ठाउँमा बम्जनको धार्मिक रापले तानिएका दर्शनार्थीहरू चाखपूर्वक उनका बारेमा कुराकानी गरिरहेका थिए।
बम्जनका रहस्यपूर्ण कुराकानी सुनेर त्यहाँ उपस्थित धेरैलाई रहस्यमै डुबाइरहेको भान हुन्थ्यो।
सबै तस्बिरहरूः नारायण महर्जन/सेतोपाटी