चकचके–लिवाङ सडकखण्ड कालोपत्रे मर्मत गरिरहेको एक ट्याक्टर आज दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
रा१त २१८२ नंको ट्र्याक्टर खडक दल गण लिवाङ ब्यारेक र जिल्ला शिक्षा कार्यालय, रोल्पाको बीचमा पर्ने दिउनधारा भन्ने स्थानमा दुर्घटना हुँदा सोही ट्र्याक्टरका चालक साविक रोल्पा जैमाकसला–७, रोकाटोल हाल सुनछहरी गाउँपालिका वडा नं ५ निवासी २५ वर्षीय विनोद रोकामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए।
कालोपत्रे सामान ढुवानी गरिरहेको सो ट्र्याक्टर मोड्ने क्रममा सन्तुलन बिग्रन गई दुर्घटना भएको बताइएको छ।
ट्र्याक्टरको इन्जिनले च्यापिएका चालकले दुर्घटना भएको एक घन्टासम्म श्वास फेरिरहेको भए पनि समयमै उद्धार हुन नसक्दा मृत्यृ भएको प्रत्यक्षदर्शीले बताएका छन्। ट्र्याक्टरमा चालक एक्लै थिए । रासस