निर्माणाधिन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ६ घन्टा बन्द गरेर निर्माण कार्य सुरु भएको छ।
सडक निर्माण कार्यलाई तीव्रता दिन आजदेखि सो सडक बन्दको समयमा डेढ घन्टा बढाएर दैनिक ६ घन्टा पुर्याइएको हो। यसअघि दैनिक साढे चार घन्टा मात्रै सडक बन्द हुँदै आएको थियो।
नारायणगढ– मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले आजदेखि बिहान १० बजेबाट अपरान्ह्र ४ बजेसम्म सडक बन्द गरेर काम थालिएको जानकारी दिए।उनले निमार्णकार्य तीव्ररुपमा अघि बढाउनुपर्ने भएकाले समय बढाउनु परेको बताए।
आयोजनाले सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न समेत अपिल गरेको छ। यसअघि उक्त सडकखण्ड बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुँदै आएको थियो।
आगामी वैशाखसम्ममा उक्त सडकको निर्माणकार्य सकिनुपर्नेमा काम ५० प्रतिशत पनि हुनसकेको छैन। जसका कारण अहिले झन्डै ९ महिना समय थप भएको खनालले जानकारी दिए।
उक्त सडक कुल ३४ किलोमिटरको छ । तीन वटा ब्लकमा छुट्याएर ६ वटा कम्पनीले यहाँ निर्माणको काम गरिरहेका छन् । उक्त सडक भएर दैनिक झन्डै १० हजार सवारी आवागमन हुन्छन् । चितवन प्रहरीका अनुसार गाडी आवतजावतका लागि सहजीकरण गर्न विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिएको जनाइएको छ । रासस