चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तीन महिनाअघि थालिएको ‘अप्रेशन महाहन्ट’ निकै प्रभावकारी हुँदै गएको छ।
दुर्लभ वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका साथै महाहन्टका क्रममा वन पैदावार र नदीजन्य पदार्थको अवैध ओसारपसारसमेत नियन्त्रणमा आएको छ।
निकुञ्ज सुरक्षार्थ श्रीजङ्ग गणको नेतृत्वमा निकुञ्जका कर्मचारी, चोरी सिकारी नियन्त्रण युवा जागरण अभियान र स्थानीयवासीको अभियानमा साथ र सहयोग छ। महाहन्टकै क्रममा मध्यवर्तीका बासिन्दालाई लाभ पुग्ने गरी बृहत् स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार महाहन्टका क्रममा निकुञ्जभित्र अवैध रुपमा प्रवेश गरेर घाँस दाउरा सङ्कलन गर्ने ६३ जनालाई पक्राउ गरी ३२ हजार रुपैयाँ जरिवाना गरिएको छ।
त्यसैगरी अवैध रुपमा ठूलो जाल प्रयोग गरी माछा मार्ने सातजनालाई नियन्त्रणमा लिएर छ हजार पाँचसय रुपैयाँ जरिवाना गरी छाडिएको छ। पासोमा पारी चित्तल मारेको अवस्थामा तीनजनालाई पक्राउ गरी प्रतिव्यक्ति एक लाख ७७ हजार तीनसय रुपैयाँ धरौटीमा तारेखमा राखेर मुद्दा चलाइएको छ।
उनका अनुसार बिनाइजाजत निकुञ्जमा सालको रुख काट्दै गरेका १२ जनालाई नियन्त्रणमा लिई जनही तीन लाख ६२ हजार नौसय ९४ रुपैयाँ धरौटीमा छाडिएको छ। निकुञ्जको प्रवेशद्वार जगतपुर क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो। अभियानकै क्रममा नवलपरासी क्षेत्रबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्दै आएका २४ वटा ट्याक्टर, तीनवटा ट्रक र एक जेसिबीलाई जरिवाना गरिएको छ।
अभियान गत पुस १५ गतेबाट सञ्चालन गरिएको हो। निकुञ्ज सुरक्षार्थ खटिएको श्रीजङ्ग गणका गणपति माधव थापाका अनुसार यस अभियानअन्तर्गत एकसय विभिन्न गणका सेनाले छवटा समूह बनाएर निकुञ्ज गस्ती र बेस क्याम्प खडा गरेका छन्। यही अभियानअन्तर्गत पाँच ठाउँमा स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रमसमेत गरिएको छ।
दि फेमस महेन्द्र दल गण भरतपुर, वरख गण वीरगन्ज, इन्द्र बक्स गण रौतहटबाट एकसय सेना र भैरव वहान गुल्मका कुकुर महाहन्टमा प्रयोग भइरहेका छन्। सेनाले निकुञ्जका तीन संवेदनशील क्षेत्रमा क्याम्प खडा गरेको छ भने तीनवटा मोबाइल हन्टिङ गरी गस्ती गरिरहेका छन्।
चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले विसं २०६७ बाट अप्रेशन हन्ट सञ्चालन गर्दै आएकामा २०७१ बाट भने महाहन्ट सञ्चालन गर्दै आएको छ।
हाल निकुञ्ज सुरक्षार्थ १५० वटा टोलीबाट नियमित गस्ती हुने गरेको छ, जसमा पैदल, साइकल, मोटरसाइकल, गाडी, हात्ती र डुङ्गा गस्ती पर्छन्। गस्तीमा पाँचसय ५० जना सेना, निकुञ्ज कर्मचारी र समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा अभियानका प्रतिनिधि परिचालन गरिँदै आएको छ।
निकुञ्जका १० संवेदनशील ठाउँमा सिसी क्यामरा जडान गरी २४सै घन्टा निगरानी गरिँदै आएको छ भने चारवटा कुकुर परिचालन गरी गस्ती गरिँदै आएको छ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले सो अभियानले दुर्लभ वन्यजन्तुको चोरी सिकार, वन पैदावार र नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न महाहन्ट सफल भएको उनले बताए। रासस