उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतीय एसएसबीको गोली प्रहारबाट मृत्यु भएका मोरङको अमाही बरियाती–७ स्थित खयरबनका वासुदेव साहकी धर्मपत्नी उर्मिलादेवी साहलाई सरकारको तर्फबाट राहतस्वरुप आज रु दस लाखको चेक हस्तान्तरण गरेका गरेका छन्।
जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालयमा आयोजित सो चेक हस्तान्तरण कार्यक्रममा पूर्वान्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान श्रेष्ठ, प्रहरी नायव महानिरीक्षक रमेशप्रसाद भट्टराई सशस्त्रका प्रहरी नायव महानिरीक्षक जानकीराज भट्टराई, प्रजिअ यज्ञराज कोइराला, पीडितका दुई छोरा गौंतम, जयकान्त र छोरी लक्ष्मी लगायत सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
६ वर्षअघि २०६७ साल जेठ ११ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी) का दुई जवान नेपालको भूमिमा प्रवेश गरी ५५ वर्षीय वासुदेव साहलाई गोली प्रहार गरी हत्या गरेका थिए ।
तेल तस्करलाई लखेट्दै भारतीय सीमा सुरक्षा बलको २४ औं बटालियनका निरीक्षक हितेन्द्र सिंह र हवल्दार मदन सिंह सादा पोशाकमा नेपालको भूमिमा प्रवेश गरेका थिए ।
स्थानीय प्रहरी चौकीका प्रहरीले उनीहरूको प्रतिरोध गरेपछि विवाद सुरु भएको थियो । सोही समयमा स्थानीयहरूले पनि एसएसबीका जवानको विरोध गर्दै फिर्ता जान आग्रह गरेपछि एसएसबीका जवानद्वारा चलाइएको गोलीबाट समाजसेवीका रुपमा रहनुभएका साह गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगर ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।
सो घटना घटेको दुई दिनपछि जेठ १३ गतेनै सुरक्षा समितिको बैठकले पीडित परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।
सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री निधिले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै ज्यानसँग क्षतिपूर्तिको तुलना गर्न नसकिने भ एपनि परिवारका सदस्यको भावी जीवन अगाडि बढाउनका लागि सो राहत रकम उपलब्ध गराएको बताए।
भारतीय सीमा सुरक्षा बलबाट यस्तो घटना नहुनुपर्ने उल्लेख गर्दै उनले कञ्चनपुरका गोविन्द गौतमको घटनापछि मोरङमा पनि ६ वर्षअघि सोहीअनुरुपको घटना भएको थाहा पाएपछि मोरङ जिल्ला प्रशासनबाट वास्तविक जानकारी प्राप्त गरेर राहत उपलब्ध गराएको बताए।
सोही अवसरमा उनले मृतक साहका दुई छोराले म्यादी प्रहरीमा भर्ना हुन चाहेमा भर्ना गर्नका लागि सम्बन्धित क्षेत्रीय प्रहरी कार्यालयलाई आग्रह गरेका थिए।