१७ वर्षमै घर धान्ने जिम्मेवारी पाएकी इन्द्रावती गाउँपालिका–१० (साविक भोटसिपा–५) कि शर्मिला थापाको परिवारले नयाँ घर पाएको छ । भूकम्पले क्षति पु¥याएपछि पाल र जस्ताको टहरामा बस्दै आएकी उनलाई विभिन्न संस्थाको सहयोग जुटेपछि नयाँ घर निर्माण भएको हो ।
घरकै मूल अभिभावकको रुपमा जिम्मेवारी बहन गरिरहेकी उनको अवस्थाको बारेमा १३ महिनाअघि सानो उमेर ठूलो जिम्मेवारी शिर्षकमा सेतोपाटीमा समाचार प्रकाशन भएको थियो । सो समाचारको आधारमा रोट्रयाक्ट क्लब अफ रुद्रमतिको पहलमा आशा प्रोजेक्ट र फोन्जीको सहयोग उनले पाएकी थिइन् । सरकारले दिएको अनुदानको पहिलो किस्ता र संस्थाले दिएको २ लाख पचास हजार रुपैयाँ उनले घर बनाउन लगानी गरेकी थिइन् । सहयोग र अनुदानको पैसाले अपुग भएपछि उनले आफूले पाल्दै आएको भैसी ५५ हजार रुपैयाँमा बेचेर घर बनाएको उनी बताउँछिन् ।
‘अहिले घर बनेपछि निकै सजिलो भएको छ,’ नयाँ घरमा सरेको बताउँदै शर्मिलाले खुशी हुँदै भनिन् । उनको घरमा भित्र लस्टर गरिएको छ भने बाहिर माटोले लिपिएको छ । झ्यालका केही कामहरु अझै बाँकी रहेको उनले सुनाइन् । ‘भित्र दुई कोठा बनाउँछौं, अहिले पाटेसन गरेको छैन ।’ उनले भनिन्, ‘अब हामीलाई केही सहज हुनेछ ।’
सम्पत्तिको नाममा एक हल मेलो लाग्ने पाखो बारी छ । दुई बहिनी र आफूलाई पढ्ने खर्च जुटाउने र घर धान्ने जिम्मा उनको काँधमा छ । प्लस टु अध्ययनरत उनको आम्दानीको अरु कुनै स्रोत छैन । शर्मिला सानै हुँदा बुबाको मृत्यु भयो । घरको जिम्मेवारी उनकी आमातिर स¥यो । सानै उमेर भएकाले शर्मिलालाई त्यति साह्रो परेन । तर, बुबाको मृत्यु भएको केही समयपछि उनकी आमालेसमेत छाडेर गएपछि भने उनमा ठूलो समस्या आइलाग्यो । अनि बाँकी बसेको तीन जनाको परिवारमा दुःखका दिन सुरु भए ।
शर्मिलाकी बहिनी सुमिताले अहिले माध्यमिक शिक्षा परीक्षा दिइन् । अर्की बहिनी शान्ता अहिले आठमा पढ्छिन् । बहिनीहरु दिउँसो विद्यालय जान्छन् उनी घरको काममा व्यस्त हुन्छिन् । बहिनीहरु र आफूलाई लाग्ने खर्च शर्मिलाले नै जुटाउने गरेकी छिन् । सम्पत्तिको नाममा रहेको एक हलको बारीबाट आएको अन्नलाई उनले उचित व्यवस्थापन गरेर घर धान्दै आएकी छन् । घर बनेपनि अरु जिविकोपार्जनमा समस्या भएको भने उनले सुनाइन् । ‘समस्या धेरै छ, भनिसक्नु छैन,’ उनी भन्छिन्, ‘कुन चाँहि समस्या प्रमुख हो खुट्याउनै सक्दिन ।’
दुःखलाई बिर्सदै अहिले शर्मिलाले घर धानिरहेकी छिन् । भएको एउटा पाखो बारी उनले तीनै दिदीबहिनीको नाममा बनाएकी छिन् । ‘भएको सम्पत्ति यत्ति हो, त्यसैले तीनैजनाको सयूंक्त नाममा छ,’ उनी भन्छिन्, ‘आमाले अन्तै विवाह गरेपछि एउटा बारी हामी नामसारी गरेका हौं ।’ उनले परिवारको अभिभावक आफै भएकाले सबै मिलाएर बहिनीहरुलाई खुशी तुल्याउने कोशिस गरिरहेको बताइन् ।
सेतोपाटीमा शर्मिलाको अवस्थाबारे समाचार प्रकाशित भएपछि आशा नेपालका कार्यकारी निर्देशक तुलसी महर्जनको पहलमा उनलाई सहयोग गरिएको हो । ‘उनको दुःख बुझ्दै केही सहयोग गर्ने हेतुले हामी उनको गाउँसम्म पुगेका हौं,’ आशा नेपालका कार्यकारी निर्देशक तुलसी महर्जनले भने, ‘सानै उमेरमा ठूलो जिम्मेवारी पाएकी उनलाई जीवनयापनमा सहज होस् भन्ने धारणाकै कारण हामीले आवास निर्माणमा उनलाई सहयोग गरेका हौं ।’ उनले दुई लाख ५० हजार नगद र जिविकोपार्जनका लागि बाख्रा, ब्लांकेट सहयोग गरेको बताए । उनकाअनुसार पछि थप सहयोग गर्ने समेत योजना छ ।