लोकप्रिय नेपाली नायक राजेश हमाल अन्डाका सोखिन हुन्। तर, उनी अन्डाको पहेँलो भाग खाँदैनन्।
आइतबार 'नयाँ पत्रिका' मा प्रकाशित अन्तर्वार्तामा हमालले भनेका छन्- ‘दिनभरिमा तीनदेखि पाँचवटा अन्डा खान्छु, तर पहेँलो भाग फालेर। मकै र भटमास मिसाएर बनाएको सातु, हल्का काजु र किसमिस पनि नियमित खान्छु।'
हमाल मात्र होइन, शारीरिक सुगठनका लागि कठोर व्यायाम गर्ने व्यक्तिहरु आफ्नो शरीरमा मांसपेशी बढाउन प्रोटिन चाहिने हुनाले दिनहुँजसो अन्डा खान्छन्। उनीहरु पनि हमालले जस्तै अन्डाको पहेँलो भाग फ्याँक्छन्। अन्डाको सेतो भागमा पानी, प्रोटिन र भिटामिन लगायत पौष्टिक तत्वको मिश्रण हुन्छ।
उसो त उमेर बढ्दै गएपछि रोगको डरले पनि केही मानिस अन्डाको पहेँलो भाग खाँदैनन्। स्वास्थ्यप्रति संवेदनशील कतिपय बाबुआमाले आफैं पनि नानीहरुलाई पहेँलो भाग खान दिँदैनन्।
अन्डाको पहेँलो भाग फाल्ने यी सबैको एउटै बुझाइ छ- त्यसमा कोलेस्ट्रोलको मात्रा बढी हुन्छ।
हामीले विज्ञहरुबाट पनि सुन्दै आएका छौं, कोलेस्ट्रोल बढी भएका खानेकुरा खाएमा हाम्रो शरीरमा पनि कोलेस्ट्रोल बढ्छ। यसले हाम्रो शरीरमा रक्तसञ्चार प्रणालीको प्रवाहलाई असर गर्छ र हृदयरोगको सम्भावना बढाउँछ।
पछिल्लो अनुसन्धानले भने अन्डाको पहेँलो भागप्रतिको अहिलेसम्मको बुझाइ गलत भएको निष्कर्ष निकालेको छ। अनुसन्धानअनुसार कोलेस्ट्रोल बढी भएका खाद्यपदार्थ खाँदैमा त्यसले शरीरको कोलेस्ट्रोल बन्ने प्रक्रियामा खासै प्रभाव पार्दैन।
टाइम म्यागेजिनले उक्त अनुसन्धान उद्धृत गर्दै लेखेको छ- 'अत्यधिक कोलेस्ट्रोल भएका खानेकुरा खाँदैमा हाम्रो रगतमा कोलेस्ट्रोल बढ्छ भन्ने तर्क गलत हो। बरु शरीरमा कोलेस्ट्रोल बढी छ भने अन्डाको सम्पूर्ण भाग खाए त्यसले फाइदा पुग्न सक्छ।'
हामीले खाने जुनसुकै खाद्यपदार्थमा असल र खराब गरी दुई प्रकारका कोलेस्ट्रोल हुन्छन्। अन्डाले स्वस्थ कोलस्टोरको मात्रा बढाउँछ भन्ने अनुसन्धानले देखाएको छ। शरीरमा स्वस्थ कोलेस्ट्रोल सही मात्रामा भए त्यसले हृदयरोगको सम्भावना घटाउँछ।
अन्डाको पहेँलो भागमा स्वस्थ र अस्वस्थ चिल्लोपदार्थको मिश्रण हुन्छ। त्यसमा ‘भिटामिन ई’ को मात्रा पनि हुन्छ। अन्डाको पहेँलो भागको वास्तविक फाइदा भनेको त्यसमा ‘कारोटेनोइड’ भन्ने तत्व पाइनु हो। ‘कारोटेनोइड’ त्यस्तो पौष्टिक तत्व हो जुन वनस्पति र बोसोमा पाइन्छ। ‘कारोटेनोइड’ कै कारण अन्डाको केन्द्रीय भाग र वनस्पतिको रंग पहेँलो भएको हो। अन्डाको पहेँलो भागमा ‘कारोटेनोइड लुटेन’ र ‘जिक्सानथिन’ प्रशस्त हुन्छ, जसले आँखालाई स्वस्थ राख्न र शरीरमा पीडा हुनबाट बचाउन सहयोग गर्छ।
उसो त कारोटेनोइड फलफूल र तरकारीमा पनि पाइन्छ। तर, अन्डामा पाइने कारोटेनोइड खाँदा विशेष फाइदा हुन्छ। त्यसैले, अन्डाको पूर्ण भाग स्वस्थकर खाद्य पदार्थको प्याकेज नै हो भन्ने अनुसन्धानको निष्कर्ष छ।
दुईवटा ठूलो आकारको अन्डामा १४२ क्यालोरी शक्ति, १३ ग्राम प्रोटिन र १० ग्राम चिल्लोपदार्थ हुन्छ।
अन्डालाई अन्य खानेकुरासँग खाँदा राम्रो हुन्छ। गत वर्षको एउटा अध्ययनले भन्छ- 'अन्डालाई काँचो सलादसँग खाने हो भने शरीरले ‘कारोटेनोइड’ लाई ९ गुना बढी सोस्छ। अन्डाबाट लुटेन’ ‘जिक्सानथिन’ प्राप्त हुन्छ भने सागपातबाट अल्फा, बिटा र लिकोपेन कारोटेनोइड प्राप्त हुन्छ। यस प्रकार अन्डा खाँदा ‘भिटामिन ई’ पनि शरीरले सोस्ने गर्छ।
पर्ड्यु विश्वविद्यालयका अनुसन्धानकर्ता जंग इयुन किमका अनुसार अन्डाको पहेँलो भाग सागपातसहित खाने हो भने त्यसबाट शरीरलाई आवश्यक पौष्टिक पदार्थ प्राप्त हुन्छ।
टाइम म्यागेजिनले किमलाई उद्धृत गर्दै लेखेको छ- ‘अन्डाको सेतो भाग चिल्लो हुँदैन, त्यसैले पहेँलो भाग फ्याँकेर अन्डा खाए त्यसबाट प्राप्त हुनुपर्ने पौष्टिक आहारा प्राप्त हुँदैन।’
तपाईंले यो पढ्नुभयो भने अर्कोपटक अन्डा फोड्दा पहेँलो भाग नफ्याँक्नुस्। बरु अन्डालाई अन्य सागपात लगायत खानेकुरासँग मिसाएर खानुस्। त्यसले तपाईंलाई झनै स्वस्थ राख्न सहयोग गर्छ।
('टाइम' म्यागेजिनमा प्रकाशित लेखमा आधारित)